फिट इन्टरनेशनल बन्याे फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी
काठमाडाैं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ । नेपालमा पहिलोपटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धि हाे । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ । यसपछि अब नेपाली व्यवसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् । फेसबुक विज्ञापनहरू हरेक व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । कम्पनीकाे अनुसार अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुनाले देशको अर्थ व्यवस्थामा हानी भइरहेको छ । फेशबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन । फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ । फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो, जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिजनेस मेसेजएज र साउटआउटको पनि विक्रेता हो । यसको स्थापनादेखि नै फिटले आफ्नो ग्राहकहरू उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भन्छन्, ‘हामी विश्वास गर्छौँ कि जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौ। यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्याउने साझेदारी ल्याउन चाहन्छौँ ।’ फिट इन्टरनेशनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डीङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ । अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् । कम्पनीकाे अनुसार यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने छन् ।
एनसेलको नयाँ योजना मार्फत हरेक दिन स्मार्टफोन जित्ने सकिने
काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ । इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७ दिनको लागि संचालनमा रहनेछ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् । यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्दछ । यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ । विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
स्याटेलाइट सम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव
काठमाडौं । नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्न आवश्क अध्ययनका लागि चार विदेशी कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो । पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चारले प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार भारतको केपिएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले आर्थिक प्रस्ताव पठाएका छन् । आर्थिक प्रस्ताव पेश नगर्नेमा अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल छ । यसअघि चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्सको युरो कन्सल्ट, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी–एग्रोस्याटले आशयपत्र बुझाएका थिए । यसैगरी अमेरिकाको स्पेस, युएईको एसथ्रिटेल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम, सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनर छन् । आर्थिक प्रस्ताव पेश गरेका चार कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट हुनेछ । चालीस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ । प्रवक्ता पौडेलका अनुसार छनोटमा परेका चार कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्ताव माग गरिने छ । उनीहरुबाट आएको प्रस्ताव अध्ययन गरी प्राधिकरणले भूउपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा एक कम्पनीलाई दिनेछ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउन गत असारमा भूउपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै भूउपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, सउदी अरब, क्यानडा, अमेरिका, फ्रान्स, रुस र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भूउपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । रासस