निषेधाज्ञामा इन्टरनेटकाे गति कछुवा जस्तै, ३० प्रतिशतले बढ्यो खपत
काठमाडौं । दोस्रो लहरको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सगैँ देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा लागु भएसगैँ अधिकाशं मानिसहरु घरमा नै बसेर काम गरिरहेका छन् भने बालबच्चाहरुले अनलाइन मार्फत कक्षा लिइरहेका छन् । धेरैजसो मानिस घरभित्रमा नै बसेसगैँ इन्टरनेट खपत बढेको छ । अन्य समयको तुलनामा निषेधाज्ञा जारी भएसगैँ इन्टरनेट खपत ३० प्रतिशतले बढेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत बढेको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुली बताउँछन् । उनका अनुसार अन्य समयको तुलनामा घरमा बस्नेले इन्टरनेटको प्रयोग बढी गर्दा ब्यान्डविथ खपत बढेको हो । अन्य समयमा रातको समयलाई पिकआवर भन्ने गरिएकोमा निषेधाज्ञाको समयमा दिनमा नै पिक आवर जस्तै ब्यान्डविथ खपत भइरहेको छ । पराजुलीका अनुसार निषेधाज्ञा अघि पिक आवरभन्दा अन्य समयमा औषतमा ६०० जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा हाल उक्ते खपत दिउँसो नै ९०० जीबीपीएससम्म हुने गरेको छ । पिक आवरमै भने १ टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ बजेदेखि राति १० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ । नेपालका नेटवर्क सेवा प्रदायक समूहको तथ्यांकअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये करिब ८० प्रतिशत ब्यान्डविथ गुगल र फेसबुकमा प्रयोग हुने गरेको छ । यस्तै, गुगलको प्रयोगमा करिब ५० प्रतिशत र फेसबुकमा ३० प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ । यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा ८ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा २/२ प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ । इन्टरनेट खपतमा बृद्धिसगैँ पछिल्लो समय इन्टरनेट निकै स्लाे हुने गरेको छ ।
फोहोर व्यवस्थापन बिल अब खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने
काठमाडौं । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट नि;शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेटबीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलन को बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट र किल्न नेपालमा मात्र संचालनमा ल्याएको छ । आगामी दिनमा चाँडै नै थप कम्पनीहरुसँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारी खल्तीले गरिरहेको जनाएकाे छ । यो सेवाको लिन खल्तीको होम स्क्रिनमा रहेको वेस्टमा ट्याप गरी आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरी गेट डिटेल्स बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । त्यसपछि सबै विवरण ठिक भएको यकिन गरी सिधै बिल भुक्तानी गर्न सकिनेछ ।
साढे २७ करोड घाटा भएकाे भन्दै एनसेलले बढायाे १९ देशको अन्तरराष्ट्रिय कल शुल्क
काठमाडौं । एनसेल आजियाटाले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । कम्पनीकाे अनुसार नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छ । गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो । प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ । नयाँ परिमार्जित अन्तरराष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक ३०.६५ रुपैयाँ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट ४.९९ रुपैयाँ देखि १५ रुपैयाँ सम्म लाग्ने गरेको थियो । अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको कम्पनीले दावी गरेकाे छ । अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएकाे छ । कम्पनीकाे अनुसार विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने जनाएकाे छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट ३० रुपैयाँ रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक १,१७०.३० रुपैयाँ सम्म रहेको कम्पनीले जनाएकाे छ ।