अब बुटवल र बर्दिबासमा पनि डिशहोमको फाइबर इन्टरनेट

काठमाडौं । डिशहोमले आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो इन्टरनेट सेवा बर्दिवास र बुटवलमा सुरु गरेकाे छ । कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन लगायतका १८ भन्दा बढी स्थानमा इन्टरनेट सेवा उपलब्ध रहेकाे छ । त्यस्तै कम्पनीले बर्दिबासकाे लालगढ हस्पिटल चोक, पानी ट्याङ्की, सुनौलो बस्ती, आदर्श चोक, बर्दिबास सिन्धुली रोड, बर्दिबास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक लगायत २१ स्थानमा सेवा विस्तार गरेकाे छ । हालसम्म कम्पनीले ३०, ४०, ६० र १०० एमबिपिएसको इन्टरनेट उपलब्ध गराउँदैं आएकाे छ । कम्पनीले चाँडै नै २०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने जानकारी दिएकाे छ ।

फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति पु¥याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न दोषी पत्ता लगाएर कानूनी कारवाहीसहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वल्र्डलिङ्कका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिए । वल्र्डलिङ्कले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर आपराधिक बाटो प्रयोग गरी वल्र्डलिङ्कको नाम बदनाम गर्न खोजेका कारण कानूनी उपचार खोजिएको केसीको भनाइ छ । केसीका अनुसार केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीबाट दैनिकजस्तो फाइबर केबल काट्ने तथा पोलहरूमा राखिएको सामान चोरी गर्ने क्रम बढेको छ । वल्र्डलिङ्कलाई बदनाम गराउन खोज्नेले दुई दिनअघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोलाबीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका आशंका गरिएको छ । अस्वस्थ्य प्रतिस्पर्धा गर्नेले तार काटिदिएका कारण बेलाबेलामा उपभोक्ता यसको मारमा पर्ने गरेका छन् । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राही बढ्दै गएको सन्दर्भमा वल्र्डलिङ्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाए । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा झण्डै ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । वल्डलिकं कम्पनी इन्टरनेट सेवा प्रदान गर्ने सबैभन्दा ठूलो सेवाप्रदायक कम्पनी हो ।

थपिदै फोरजीका ग्राहक, साढे २ करोडको पहुँचमा इन्टरनेट सेवा

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७८ लाख बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको (गत साउनदेखि चैत मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको हो । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेको छ । गत फागुन महिनामा ४८ लाख ५६ हजार ७४२ रहेका थिए । गत फागुन महिनाको तुलनामा चैत महिनामा एनसेलका फोरजीका ग्राहक एक लाख ६० हजार ४२८ थपिएका छन् । प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २६ लाख ३६ हजार ६४७ जना पुगेका छन् । गत फागुन महिनाको तुलनामा चैत महिनामा ४७ हजार ३५३ जनाले बृद्धि भएको छ । गत फागुन महिनामा फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ रहेका थिए । यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा ग्राहक संख्यामा ५ हजार बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फोरजीका प्रयोगकर्ता सगैँ गत फागुन महिनाको तुलनामा चैत महिनामा २ लाख बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् । गत फागुन महिनामा एक करोड १५ लाख ६५ हजार बढी थ्रीजीका प्रयोगकर्ता रहेकोमा चैत महिनामा एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ । नेपालमा ८९ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्यांक अनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजार बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुन महिनामा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।