अब जापानी भाषा परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने
काठमाडाैं । खल्तीले जल्टान सँगको सहकार्यमा जापानी भाषा प्रविणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । यसको लागि जल्टानको अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलबीच सम्झौतामा हस्ताक्षर भएको छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जल्टानको कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नुपर्थ्यो । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको जनाएकाे छ ।
फोन ट्यापिङ आरोपको टेलिकमद्वारा खण्डन, हरेक क्षेत्रमा ‘फ्रि’ वाईफाईको तयारी
काठमाडौं । पछिल्लो केही समय यता नेपालमा फोन ट्यापिङ हुने गरेको भन्दै नेतादेखि सर्वसाधारणहरु समेत सचेत बन्न थालेका छन् । नेपाल टेलिकमको मोबाइल नेटवर्कबाट कल गर्दा कल ट्यापिङ हुने गरेको भन्दै वीच्याट, भाइबर देखि ह्वासएपजस्ता उपकरणबाट फोन गर्न थालिएको छ । नेपालका केही उच्च तहका नेताहरुको समेत फोन ट्यापिङ हुने गरेको हल्ला फैलिएपछि नेपाल टेलिकमले फोन ट्यापिङ गर्ने प्रविधि आफुसँग नभएको दाबी गरेको छ । कम्पनीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले आफ्ना सेवाग्राहीको कल ट्यापिङ गर्ने अभ्यास नगरेको स्पष्ट पारे । उनले कानूनमा उल्लेख भई नसकेको उपकरण खरिद तथा सञ्चालन कार्य नेपाल टेलिकमले गर्न नसक्ने भन्दै फोन ट्यापिङ गर्छ भन्ने कुरा अफवाह भएको बताए । ‘हामीसँग कल ट्यापिङ गर्ने उपकरण नै छैन, हामीले दूरसञ्चार कम्पनीसँग उपकरण खरिदको अनुमति माग्नुपर्छ, नेपालमा कानून नै नभएका कारण हामीले अनुमति पाउने कुरा भएन, माग गरेका छैनाैं, कल ट्यापिङ पनि हुँदैन’, उनले भने । कम्पनीका प्रवक्ता राजेश जोशीले टेलिकमले कुनै पनि सेवाग्राहीको फोन ट्यापिङ नगरेको भन्दै धेरै स्थानबाट आफूलाई समेत सो विषयको बारेमा सोध्ने गरेको जानकारी गराए । उनले विशेष अवस्थामा फोन ट्यापिङ गर्न मिल्ने प्रावधान रहेको नेपाल विषेश सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधिन रहेको भन्दै कानूनमा उल्लेख नभएकोे उपकरण खरिद तथा सञ्चालन कार्य टेलिकमले गर्न नसक्ने प्रष्ट पारे । ‘कानुनमा उल्लेख भई आउने अवस्थामा सो काम सम्भवतः राज्यद्धारा अनुमतिप्राप्त सुरक्षा तथा अनुसन्धान निकायको जिम्मेवारीभित्र पर्छ,’ उनले भने । सरकारले संवेदनशिल विषयमा सुरक्षा निकायले अदालतको अनुमति बिनै कोही व्यक्तिको फोन ट्यापिङ गर्नसक्ने प्रावधानसहित विशेष सेवासम्बन्धी विधेयक गत वर्ष तयार गरेर राष्ट्रिय सभामा पेश गरेको थियो । यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने दाबी गरेका छन् । उनले कम्पनीले सो सम्बन्धमा अध्ययन गरिरहेको भन्दै फ्रि वाईफाई खोज्दै हिडनुपर्ने बाध्यताको अन्त्य छिट्टै हुने बताए ।
एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु
काठमाडौं । एनसेल आजियाटाले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाईभन्दा बढि जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ । एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ । एनसेलकाे फोरजी सेवाको लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ ।