सामाजिक सञ्जालको दुरूपयोग गरेर साईबर अपराधका घटनाहरू बढ्दै

काठमाडौं । ३६ वर्षीय रमेश शाही ‘रवि’ ले परिचित महिला सल्यानीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गरे । सल्यान कुमख ४ सेराडाँडाशाहीले निरन्तर हैरानी दिन थालेपछि सल्यानीले प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दिईन् । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएकोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिएर शाहीलाई माघ ५ गते पक्राउ गरेर अनुसन्धान कार्य भईरहेको छ । रुपन्देही सैनामैना ६ का प्रज्वल पोखरेलले प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको आधिकारीक लोगो राखेरनक्कली फेसबुक पेज खोले । उक्त पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग आपराधिक लाभ लिने, पैसा असुल गर्ने नियत कार्य गरेकोले उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले फागुन १३ गते पक्राउ गरियो । मकवानपुरको हेटौंडा ४ बस्ने अस्लम अन्सारीले मकवानपुर घर भई थाईल्याण्डको बैंकक बस्ने महिला पारिजातको अर्ध नग्न तस्विर, भिडिओ, पोर्न साइटमा समेत अपलोड गरे । बिभिन्न फेक आइडी, इमेल बनाएर अन्सारीले ईन्टरनेटको दुरुपयोग गरे । अन्सारीले पोर्नसाईटबाट हटाउन पारिजातसँग १ हजार ९८ डलर माग गरे । नमानेपछि यौन उत्पिडन दिने, दु:ख दिने, हैरानी दिन थाले । सर्वाेच्च अदालतको अनुमति लिएर माघ ९ गते उनलाई पक्राउ गरियो । ललितपुरको गोदावरी ११ चापागाउ बस्ने रोलक बहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमा ईन्द्रायणी (नाम फेरिएको) को नक्कली फेसबुक आइडी बनाए । ईन्द्रायणीकै उक्त नक्कली आईडबाट आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोक्ष्ट गरी अपमान गर्ने, हैरानि दिने काम गरे । थापालाई विद्युतीउ कारोबार एने, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएकोले उनलाई माघ ७ गते पक्राउ गरियो । माथागढी १ पाल्पाका अभिषेक नेपालले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाब विरुद्धको सामग्री पोष्ट गर्ने काम गरे । नेपाललाई उनकै घर ठेगानाबाट पक्राउ गरियो । माथि उल्लेख गरिएका केही प्रतिनिधी घटनाहरु मात्र हुन् । पछिल्लो समय इन्टरनेटको प्रयोगबाट साइबर अपराधका घटनाहरू बढिरहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर महिलाहरुको चरित्र हत्या गर्ने, धम्क्याउने, तर्साउने, आर्थिक प्रलोभनमा पारेर यौनजन्य स्वार्थ लुट्ने घटनाहरु बढिरहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार हाल सम्म यस्ता ८९ वटा मुद्धा दर्ता भइसकेका छन् । प्रहरी बरिष्ठ उपरीक्षकको जिम्मेवारी सम्हालेका अर्यालका अनुसार सामाजिक सञ्जालको दुरुपयोग केसहरु बढी आउँछन् । त्यसमा पनि बढीजसो युवायुवतीहरुले उजुरी गरिरहेका छन् । १८ देखि ३० वर्ष उमेर समुहका युवायुवतीहरुमा यो खालको समस्या बढी देखिएको छ । ‘सुरुमा मन मिल्दा विवाद नआउने तर स्वार्थ नमिल्ने बित्तिकै यस्तो रिपोर्ट आउँछ ।’ अर्याल भन्छन्‘कहिलेकाहीं यस्तो समस्या अधबैंसेहरुमा पनि आउँछ ।’ प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी परेका प्रकृति यस्ता छन्: – फोटो मल्टिनेशन: (बिभिन्न किसिमका नग्न तस्विरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने) – रिभेन्ज पोर्न: (अश्लिल फोटो तथा भिडिओहरु अनलाइनमा प्रकाशित गर्ने) – र्‍यान्सम वेयर एट्याक: (सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने) – डिफमेसन इम्पोस्टर: (सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख दिने) – ह्याकिङ, अनअथराइज्ड एक्सेस, वेवसाइट डिफेसेस: (सरकारी तथा अन्य संघ संस्थाहरुको वेवसाइट ह्याकिङ गर्ने) – ब्रुट फोर्स एट्याक: (ह्याकिङका लागि बिभिन्न तरिकाले आक्रमण गर्ने) – मोबाईलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने साईबर क्राइम गर्नेलाई यस्तो छ सजाय अपराधको प्रकृति हेरेर ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि ५ वर्ष सम्म कैद वा प्रचलित कानून बमोजिम सजाय तोकिएको छ । साईबर क्राइम सम्बन्धी उजुरी कहाँ कसरी गर्ने ? आफूलाई अन्याय भएको थाहा पाउनासाथ नजिकको प्रहरी कार्यालय वा राजधानी नजिकै हुनेहरु प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटीमा उजुरी गर्न सकिन्छ । उजुर गर्दा निवेदनको साथमा नाम, ठेगाना, सामाजिक सञ्जालको युआरएल, नागरिकताको स्क्यान कपी, म्यासेजको स्क्रीन सट् समाबेश गरेर पठाउन सकिन्छ ।

कनेक्ट आईपीएसमा एक महिनामै साढे ३ अर्बले बढ्यो कारोबार, क्यूआर कोड प्रयोग गर्ने पनि बढ्दै

काठमाडौं । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो । उक्त प्रविधिको प्रयोग गरी गत महिनाको तुलनामा माघ महिनामा मात्र दश अर्ब बढीको कारोबार भएको छ । उक्त प्रविधिको प्रयोग गरी पुस महिनामा १ खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएकोमा माघ महिनामा एक खर्ब ६३ अर्ब ८७ करोड बढीका कारोबार भएको हो । बैंकको तथ्यांक अनुसार माघको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत १ खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ । जुन गत पुसको तुलनामा साढे ३ अर्बले बढी हो । पुस महिनामा १ खर्ब ७७ करोड बराबरको कारोबार भएको थियो । यो अबधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आईपीएसको प्रयोग भएको छ । माघ महिनामा मोबाइल बैकिङ मार्फत ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा ३३ अर्ब १५ करोड ३ लाख बढीको कारोबार भएको छ । माघ महिनामा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ । यसैगरी, माघ महिनामा इन्टरनेट बैंकिङमार्फत ९ अर्ब २२ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ५० करोड ३० लाख बढीको कारोबार भएको थियो । माघ महिनामा ३१ हजार ४८२ पटक कारोबार भएको छ । पुस महिनाको तुलनामा माघमा वालेट मार्फत हुने कारोबार रकममा बृद्धि भएको छ । वालेट मार्फत पुस महिनामा ९ अर्ब ६५ करोड ६० लाख बराबरको कारोबार भएकोमा उक्त रकममा बृद्धि भई माघमा ९ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको छ । कारोबार रकमसगैँ कारोबार पटकमा समेत बृद्धि भएको छ । एक महिनामा एक करोड ५१ लाख ६ हजार पटक कारोबार भएको छ । यसैगरी गत पुस महिनामा अनलाइन (इ–कमर्श) बाट ८४ करोड ३० लाख कारोबार भएकोमा माघमा उक्त रकममा बृद्धि भई ९३ करोड २० लाख बराबरको कारोबार भएको छ । बढ्यो क्यूआरमार्फत हुने कारोबार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट मार्फत हुने कारोबार रकमसगैँ क्यूआरमार्फत हुने कारोबारको रकममा समेत बृद्धि भएको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा ४६ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा १ अर्ब २४ करोेड ५० लाख बराबरको कारोबार भएकोेमा माघ महिनामा १ अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो । गत पुस महिनामा ३ लाख ७२ हजार १ सय ७६ पटक कारोबार भएकोमा माघ महिनामा ५ लाख ३५ हजार ७९० पटक कारोबार भएको छ ।

पोखरा महानगरलाई डिजिटल बजार बनाउन इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन् । सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताए । उनले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउदै अति नै मितव्ययी रहेकोले इसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए । क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने ‘ परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा इसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौं । पछिल्लो समय क्यूआरको लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौं ।’ कार्यक्रममा इसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग इसेवाले सहकार्य गरेको बताए । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।