इन्टरनेट सेवा विस्तारको तयारीमा सीजी कम्युनिकेशन
काठमाडौं । मोबाइल सेवा प्रदान गर्ने लाइसेन्स खारेज भएपनि चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेशनले इन्टरनेट सेवा विस्तारको तयारी थालेकोे छ । मोबिलिटी सेवाको अनुमतिपत्र खारेज भएको उक्त कम्पनीले फाइबर मार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएको छ । अहिले सिजी कम्युनिकेसन बनेको तत्कालिन एसटीएम कम्पनीलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर प्रदान गरिएको युनिफाइड लाइसेन्स खारेज भएपनि सिजीले इन्टरनेट सेवा प्रदान गर्न पाउने लाइसेन्सका आधारमा सो कार्य अघि बढाएको नेपाल दूरसंचार प्राधिकरण स्रोत बताउँछ । कम्पनीले इन्टरनेट सेवा सञ्चालनका लागि काठमाडौंमा आवश्यक पूर्वाधार तयारी अवस्थामा राखेको जानकारी आएको प्राधिकरणले जनाएको छ । कम्पनीको युनिफाइड लाइसेन्स खारेज भएपनि सीजीसँग इन्टरनेट सेवा प्रदायकको लाइसेन्स थियो । ‘सोही लाइसेन्सको प्रयोग गरी फाइबर मार्फत सेवा प्रदान गर्न लागेको हामीलाई जानकारी आएको छ, लाइसेन्स पाएको हुँदा प्राधिकरणमा जानकारी गराउँनै पर्छ भन्ने वाध्यता छैन्, आधिकारीक रुपमा जानकारी नआएपनि मौखिक रुपमा विस्तारको तयारी भएको जानकारी आएको छ,’ स्रोतले भन्यो । प्राधिकरण स्रोतका अनुसार सीजीले फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने तयारी स्वरुप प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, अप्टिकल लाइन, राउटर लगायतका आवश्यक उपकरण खरिद प्रक्रिया अगाडी बढाएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज भएको सीजी पब्लिक कम्पनीको रुपमा दर्ता भएको छ । कम्पनीले केही समय अगाडी मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पब्लिक कम्पनीको अनुमति लिइसकेको छ । ग्रामीण क्षेत्रका ३४ जिल्लामा सिमित मोबाइल सेवा संचालन गर्ने अनुमति पाएर २०६० सालमा एसटीएम टेलिकम स्थापना भएको थियो । सो कम्पनीलाई पुस्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ जेठ तेस्रो साता युनिफाइड लाइसेन्स दिएको थियो । तर, दूरसंचार प्राधिकरणले २०७६ साल माघ १९ गतेदेखि लागू हुने गरी एसटीएमको युनिफाइड लाइसेन्स खारेज गरिदिएको थियो । सोही कम्पनी अहिले सिजी कम्युनिकेसन भएको हो ।
गरिमा विकास बैंकले शुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान
काठमाडौं । गरिमा विकास बैंकले ‘रहनुहोस् होसियार’ नामक अभियान शुरु गरेको छ । राष्ट्रिय स्तरको बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ्गबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिने लामो अभियान शुरु गरेको हो । यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड/फिसिङ्ग सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैंकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगी र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटीएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आईरहेको छ ।
नेपाल टेलिकमले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँकाे दरले नगद लाभांश वितरण गर्ने
काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो । यस्तै साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु परित गर्ने र आर्थिक वर्ष २०७७/०७८ को लागि महालेखापरीषकको कार्यालयको परामर्स तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् । साधारणसभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको पनि प्रवक्ता जोशीले बताए। टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ९९ पैसा रहेको छ । गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।