इन्टरनेटको गलत प्रयोगबाट बालबालिका यौन शोषणमा पर्दै
काठमाडाैं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका÷किशोरीभन्दा झण्डै दोब्बर सङ्ख्यामा बालक÷किशोरहरू रहेको देखाएको छ । नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोरकिशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ । अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिइन् । नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दाैँतरी, सबैभन्दा नजीकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्तिसमेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिसहरू पनि त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ । त्यसैगरी यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौँतरी र सबैभन्दा नजीकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवकिङ साइटहरू, इमेल, अज्ञात लिङ्क र फोनसमेत प्रयोग भएको देखिएको छ । “अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए, नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय अपरिचितहरू पनि थिए”, अध्ययन प्रतिवेदनमा भनिएको छ । कूल उत्तरदातामध्ये, १३७ जना (७.९९ प्रतिशत) उत्तरदातालाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो । यसरी नग्न बस्न दबाब खेप्ने उत्तरदातामा ५८ (६२ प्रतिशत) केटा, ४७ (३४.३१ प्रतिशत) केटी र दुईजना (१.४६ प्रतिशत) लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति रहेका थिए । नग्न देखिन भन्नेमा आफ्नै साथीहरू, सबैभन्दा नजीकका साथी, प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचितहरू, विदेशी र हेरचाहकर्ताहरूसमेत रहेका छन् । कूल उत्तरदाता एक हजार ७१४ मध्ये ४५७ जना (२६.६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौन शोषणको अनुभव गरेका थिए । कूल उत्तरदातामध्ये ३४० जना (१९.८३ प्रतिशत) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा केटाको सङ्ख्या केटीको तुलनामा अधिक रहेको छ । अनलाइन यौन शोषणमा परेका उत्तरदाताहरूमा ठूलो मात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिने क्रममा कतिपयले आफू मानसिकरूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न समेत तयार रहेको तथा कतिपयले लामो समयसम्म दुःखी भएको बताएका थिए । अनलाइन यौन शोषणमा परेका ३४० उत्तरदातामध्ये ४८ (१४.१२ प्रतिशत) जनाले यौन शोषणसम्बन्धी घटना घटेपछि विद्यालय छोडेका छन् । विद्यालय छोडेकाहरूमध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । तीमध्ये नौजनाले मात्र परामर्श सेवा पाउन सकेका थिए । अनलाइन यौन शोषणको सामना गरेका ३४० जना उत्तरदातामध्ये २३३ (६८.५३ प्रतिशत) जनाले मात्र परिवार, साथी वा प्रहरीलाई खबर गरेका थिए । त्यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ एकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए । अध्ययनमा कूल उत्तरदातामध्ये २५३ (१४.७६ प्रतिशत) जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १७५ (१०.२१ प्रतिशत) जनाले आफ्नो बाबुआमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए । अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौं र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं २ को धनुषा (१८ प्रतिशत) रहेको छ ।
भुक्तानी सेवा दिने पेवेल नेपालको उद्घाटन, बिभिन्न कारोबारहरु डिजिटल माध्यममै गर्न सकिने
काठमाडौं । भुक्तानी सेवा प्रदाक कम्पनी पेवेल नेपाल प्रा.लि.ले सेवा शुभारम्भ गरेकाे छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेल सेवाको शुभारम्भ गरेका हुन् । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायीक क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा पेवेल नेपाल सञ्चालनमा आएको हो । यसले डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्नेछ । पैसा पठाउन, पाउन र तिर्न पेवेल नेपाल भन्ने नाराका साथ सञ्चालनमा आएको पेवेलले खासगरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेस्टुराको विल, टेलिफोन, इन्टरनेट, स्कुल, कजेजको फि तिर्न, हवाइ टिकट खरिद गर्न लगायत अन्य युटिलिटिज सर्भिसेजहरुको भुक्तानी गर्ने सेवा प्रदान गर्नेछ । साथै यस कम्पनीले सहज, सस्तो, भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न, सेयर खरिद विक्रीको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सेवा प्रदान गर्ने जनाएको छ । यस कम्पनीको एप्लिकेशन पेवेल नेपाल (Paywell Nepal) एण्ड्रोइड मोबाइलको प्ले स्टोर र आइओएसको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । माघ २७ र २८ गते एप डाउनलोड गर्नेहरुलाई एकाउन्टमा अटोमेटिक रुपमा एक सय रुपैयाँ जम्मा हुनेछ । पेवेलले भरपर्दो इन्टनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा प्रदान गर्ने तयारी गरिरहेको छ । पेवेलले आफ्नो वालेट प्रणाली अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरेर निमार्ण गरेको दावी गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको साइवर सुरक्षा मापदण्ड सम्बन्धि सम्पूर्ण मापदण्ड पूरा गरेर कम्पनीको एप्लिकेशन डिजाइन तथा विकास गरेको कम्पनीले बताएको छ ।
एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
काठमाडाैं । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब-बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवाहरु उपलब्ध गराइरहेको छ । क. एसएमएस अलर्ट विभिन्न मोबाइल नम्बरमा कुनै विषयवस्तुका बारेमा जानकारी दिनुपर्ने र अर्कोतिरबाट कुनै उत्तरको अपेक्षा नहुने (वान वे) अवस्थामा एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक कारोबारको बारेमा जानकारी दिन, पेमेन्ट पक्का भएको जानकारी दिन, आफ्नो व्यवसायको जानकारी दिन र व्यापार प्रवद्र्धन गर्न उपयुक्त हुने सन्देश पठाउनका लागि समेत एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ । कुनै सेवाप्रदायकले यो सेवा लिनुभन्दा पहिले यसको प्राविधिक परीक्षण गर्नुपर्छ । सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ । त्यही ‘अलर्ट नेम’बाटै संघ/संस्थाहरुले मोबाइलमा एसएमएस पठाउन सक्दछन् । ख. एसएमएस सर्टकोड एसएमएस सर्टकोड प्रयोग गरी दोहोरो अन्तरक्रिया गर्न सकिन्छ । कुनै मोबाइलमा सर्टकोडमार्फत केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीमूलक सामग्रीको बारेमा प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अनुरोध गर्न सक्छन् । विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवस्तु बारेमा पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न र आफ्नो व्यवसायको बजारीकरण वा प्रवद्र्धन गर्न समेत यो सेवा उपयोगी हुन्छ । यो सेवा सञ्चालन पूर्व प्राविधिक परीक्षण गर्नुपर्छ र ५ अंकको सर्टकोडका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पनि स्वीकृति लिनुपर्छ । यो सेवा सञ्चालन गर्ने ग्राहक वा सेवा प्रदायकलाई न्युमेरिक सर्टकोड अर्थात अंकमा आधारित सर्टकोड प्रदान गरिन्छ । अन्य व्यक्तिको मोबाइलमा एसएमएस जाँदा त्यही नम्बरबाटै गएको देखिन्छ । ग. वेब-बेस्ड बल्क एसएमएस वेबमा आधारित बल्क एसएमएस एक प्रकारको ब्रोडकास्ट सर्भिस हो । यसबाट उही सन्देश एकैपटक धेरै मोबाइल नम्बरमा पठाउन सकिन्छ । विद्यालय, कलेज, व्यापारिक प्रतिष्ठान, साना व्यवसायी वा अन्य कुनैपनि संस्थाले यसको प्रयोग गर्न सक्छन् । थोरै समयमा सहज तरिकाले सस्तो दरमा धेरै व्यक्तिलाई एकैपटकमा एसएमएस पठाउन पाउनु नै यसको मुख्य विशेषता हो । अतिरिक्त परीक्षण बिना छोटो समयमै यो सेवा उपलब्ध गराउन सकिन्छ । यसका लागि सेवा प्रदायकलाई संस्थाको मिल्दोजुल्दो नाम ११ क्यारेक्टरमा नबढाई प्रदान गरिन्छ र त्यही नामबाटै धेरै नम्बरमा एसएमएस पठाउन सकिन्छ । सुविधा लिने प्रक्रिया एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक छ भने वेब-बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता पर्दैन । एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब-बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिक रुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ । त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपी समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजात सहित तयार गरिएको पत्रलाई याे आइडीमा इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ । वेब-बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भए पश्चात एसएमएस भोल्युम कोटाको आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनु पर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ । यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ । यी सेवाहरुका बारेमा विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध गरिएको छ ।