आइएमई पे एपबाट सबै क्युआर काेड स्क्यान गर्न मिल्ने

काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर काेड स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । याेसँगैं सबै क्युआर काेड स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप बनेकाे कम्पनीकाे दाबी छ । नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आफुहरुकाे यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको कम्पनीले जनाएकाे  छ ।

ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने

काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बिमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

काठमाडाैं । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्डलिङ्कले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।