‘१० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?’

काठमाडौं । ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर’सम्बन्धी अन्तक्र्रियामा डोल्पाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद सत्या पहाडीले व्यक्त गरेको उक्त भनाइबाट प्रष्ट हुन्छ कि– दुर्गमका नागरिकमाझ अझै पनि दूरसञ्चार सेवाको सहज पहुँच छैन । डोल्पा मात्र होइन, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा अझै पनि टेलिफोन सेवाको भरपर्दो व्यवस्था हुनसकेको छैन । अझै पनि दुईरचार मिनेट टेलिफोन कुराकानी गर्न रुख चढ्नुपर्ने वा पहाड उक्लनुपर्ने बाध्यता कायमै छ । संविधानले सबै नागरिकलाई समानताको हक हुने भन्ने व्यवस्था गरेको छ तर भौगोलिक विकटताका नाममा अझै पनि सुगम र दुर्गम क्षेत्रका नागरिकबीच दूरसञ्चार सेवाको उपलब्धतामा ठूलो असमानता छ । भूगोललाई चटक्कै बिर्सेर जनसङ्ख्यालाई मात्रै आधार मानेर दूरसञ्चार सेवा विस्तार गर्ने यसअघिका सरकारका गलत रणनीतिले गर्दा विकासका दृष्टिले पछाडि परेका कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाका नागरिकले पछिल्ला प्रविधिको स्वाद चाख्न नपाएको जनप्रतिनिधिको भनाइ छ । ‘नेपालको संविधानले समाजवादको दिशा अँगालेको छ तर हाम्रो विकास उल्टो गतिमा हिँडेको छ’, पहाडी भन्छिन्, ‘अध्ययन गरेर काम गर्ने हाम्रो सोच छैन, हामी अध्ययन पनि गर्दैनौँ, भूगोल पनि हेर्दैनौँ, पहुँचको भरमा काम गर्न खोज्दा जनताले सुविधा पाउँदैनन् ।’ कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा टेलिफोन टिप्दैनन् । नेटवर्क टिपेका ठाउँमा पनि राम्रोसँग काम गर्दैन । कतिबेला टावर आउँछ र कुरा गरुँला भनेर कुरेर बस्नुपर्ने बाध्यता छ । बझाङका केही स्थानीय तहमा त टेलिफोन गर्न घाम पर्खनुपर्ने अवस्था रहेको सांसद आशाकुमारी विक बताउँछिन् । ‘बर्खामा पानी परेका बेला र हिउँदमा हिउँ परेका बेला टावर आउँदैन’, उनले भनिन्, ‘१० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ घाम अस्ताएसँगै टावर पनि अस्ताउँछ । बिहान, साँझ र रातिको समयमा फोन गर्नुपरेको खण्डमा के गर्नु ?’ जुम्लाका सांसद गजेन्द्र महतको मनमा बेलाबेला घोचिरहन्छ– ‘निजी क्षेत्रको सेवा प्रदायको टावरले काम गरिरहँदा किन सरकारी स्वामित्वको नेपाल टेलिकमको टावरले काम गर्दैन ?’ सरकार डिजिटल नेपाल बनाउने अभियानका साथ अगाडि बढिरहेको वर्तमान सन्दर्भमा प्रविधिका कारण जनताले झन् दुःख पाएको उनको अनुभव छ । ‘नयाँ प्रविधिले जनतालाई दुःख दियो, जिल्लाका कार्यालय अनलाइनमा जाने भनेका छन्’, उनले भने, ‘इन्टरनेट नचलेको भन्दै कार्यालयमा काम हुनै छाड्यो, जनताले सुविधाभन्दा पनि दुःख पाए, अनलाइनका नाममा जनताले दुःख पाउनुभएन ।’ आफ्ना क्षेत्रका जनताले निजी क्षेत्रको सेवा प्रदायकको सेवा निरन्तर चलिराख्दा नेपाल टेलिकमले किन काम गरेन भनेर आफूलाई बारम्बार सोध्ने गरेको उनले सुनाए । टेलिकम कार्यालयले काम भइरहेको भन्ने बताउने गरे पनि समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ छ । अछामका सांसद रामबहादुर विष्टको गुनासो पनि उस्तै छ । अछामका १० स्थानीय तहमा उस्तै समस्या छन् । मोबाइल बोकेर कि त रुख चढ्नुपर्ने कि त पहाड उक्लनुपर्ने बाध्यता छ । ‘अधिकांश स्थानमा टुजी चल्दैन भने थ्रीजी र फोरजीको अपेक्षा कसरी गर्ने ?’, उनले भने । समयमै टेलिफोनमार्फत खबर गर्न नपाउँदा गत वर्ष बर्खायाममा अछाममा बाढीले एकैसाथ धेरै धनजनको क्षति पुर्याएको उनको भनाइ छ । कर्णालीका गाउँगाउँमा टेलिकमको टावर नटिप्ने मात्र होइन मुलुक सङघीय संरचनामा गइसक्दा पनि कर्णाली प्रदेशमा टेलिकमको प्रादेशिक कार्यालयसमेत छैन जसका कारण त्यस क्षेत्रका जनप्रतिनिधि गुनासो बोकेर कि त लुम्बिनी प्रदेश कि त राजधानी नै धाउनुपर्ने बाध्यता छ । कर्णाली राजमार्गमा झन् बिजोग नै छ । सुर्खेतबाट हिँडेपछि कालिकोट, मुगु तथा जुम्लाको सदरमुकाम नपुगी मोबाइलले काम गर्दैन । कालिकोटका सांसद दुर्गाबहादुर रावतलाई जहिले पनि झस्काइरहन्छ, ‘राजमार्गमा सवारी दुर्घटना भए कसरी थाहा पाउने ?’ गुणस्तरीय इन्टरनेट सुविधा पुर्याउन नसक्दा जनताले सास्ती पाउँदै आएको उनको गुनासो छ । कार्यक्रममा बझाङका सांसद भैरव सिंहले प्रतिस्पर्धी कम्पनीको सेवा नियमित भइरहँदा टेलिकमको सेवा अवरुद्ध हुनुमा नक्कली सामग्रीको प्रयोग हो कि ? भनेर प्रश्न गर्नसमेत भ्याए । दैलेखका सांसद पार्वती विशुङ्खेले व्यङ्ग्य गर्दै भनिन्, ‘धन्न कर्णालीमा साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन् ।’ हुम्लाका सांसद छक्कबहादुर लामाले भूगोलजस्तो सरकारका सोच पनि उँचोनिचो हुँदा दुर्गमका जनताले सुविधा नपाएको आरोप लगाए । अन्तरक्रियामा आएका सांसदकोे अनुभवसहितको समस्यालाई प्राविधिकरूपमा समाधान गर्नुपर्नेमा उनले जोड दिए । दैलेखका सांसद राजबहादुर बुढाले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली र सुदूरपश्चिमका जनतालाई दूरसञ्चार सेवा प्रयोग गरेवापतको शुल्कमा सहुलियत दिन आग्रह गरे । समस्या समाधान हुँदैछ: दूरसञ्चार कम्पनी दूरसञ्चार कम्पनीले देशभर मोबाइल तथा इन्टरनेट सेवाको पहुँच र गुणस्तर वृद्धिमा लागिएको प्रष्ट पारेको छ । कार्यक्रममा टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले चालु आवमा सबै बिटिएस टावर जडान सम्पन्न हुने र त्यसबाट टेलिफोनको पहुँच र गुणस्तर वृद्धि हुने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले गुणस्तरीय सेवा नागरिकको हातहातमा पुर्याउन प्राधिकरण लागिरहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवाको गुणस्तर र पहुँचका विषयमा जनप्रतिनिधिले राखेका जिज्ञासाबाट सरकारको ध्यानाकर्षण भएको र आगामी दिनमा त्यसलाई सम्बोधन गरिने बताए । सेवा प्रदायकको सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली र सुदूरपश्चिम क्षेत्रका बासिन्दाका लागि सहुलियत दिने विषयलाई आफूले निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे । रासस

पोखरामा मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । मेगा बैंक नेपालले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो । यो व्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ । स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैकिङ्ग सेवा संचालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोवारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैकिङ्ग, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट-पे, च्याटबट जस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ ।

मेरो सेयरमा थपियो दुई वटा अत्याधुनिक सर्भर, आईपीओ भर्न छुट्टै वेबसाइट होला ?

काठमाडौं । मेरो सेयरमा थप दुई वटा अत्याधुनिक सर्भर जडान गरिएको छ । लगानीकर्ताको चाप बढेसँगै अघिल्लो सर्भरले नधानेपछि सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) ले थप दुई वटा अत्याधुनिक सर्भर जडान गरेको हो । मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखापर्दै आएको थियो । जसको समाधानको लागि सिडिएसले गत चैत १७ गते थप सर्भर जडान गरेको हो । आकस्मिक रुपमा थप सर्भर जडान गर्नुपर्ने भएको र डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकाले सो दिन बेलुका ८ बजेपछि मेरो सेयरको सेवा अवरुद्ध भएको थियो । यससँगै यसअघि प्रोसेसिङ्गमा जुन समस्या आउने गर्थ्यो, त्यसको समाधान नयाँ सर्भरले गर्ने सिडिएसका प्रमुख कार्यकारी अधिृकत (सीईओ) पूर्णप्रसाद आचार्यले बताए । ‘हामीले भित्री सिष्टममा सँधै केहि न केहि परिवर्तन गरिरहेका हुन्छौं, अहिले पावरफुल सर्भर हालेको हो, जसले पहिला प्रोसेसिङ्गमा जुन समस्या थियो त्यसको समाधान गर्छ भन्ने विश्वास छ’, सीईओ आचार्यले विकासन्युजसँग भने । बीचमा पनि सर्भर थप्दै आएको सिडिएसले नयाँ सर्भर इन्स्टल गर्ने क्रममा पनि सानोतिनो समस्या आइरहेको बताएको छ । डाटा सर्भरको क्यापासिटी बढाएको र सो स्टेबल हुन समय लाग्ने संस्थाले जानकारी गराएको छ । ‘प्राविधिक क्षेत्रमा समस्याहरु धेरै आउँछन् । अहिले सर्भर साइडको समस्या समाधान गरेका हौं । नयाँ थपिएको सर्भरको पनि रेस्पोन्स कस्तो हुन्छ हेरौं । अन्य खालको समस्या हो भने भन्न सकिन्न तर, सर्भरको मात्रै समस्या हो भने अब त्यस्तो हुँदैन,’ उनले भने । तर, कहिलेकाहीँ धेरैले एकैपटक लोड गरे भने त्यो समस्या यथावत हुने उनी बताउँछन् । जुन इन्टरनेटको समस्याले पनि हुन सक्ने उनको भनाई छ । त्यस्तै, सिडिएसले सर्भरको मात्र नभई सफ्टवेयरको क्षमता बढाउन पनि जोड दिईरहेको छ । यदि नयाँ सर्भरले समस्या समाधान गरेन भने सफ्टवेयरकै क्षमता पनि बढाउनु पर्ने देखिन्छ । ‘सुधार गर्नुपर्ने अरु धेरै काम बाँकी छ । जस्तै, इन्टरनेटहरुले पनि यसलाई डिस्टर्ब गर्छ । सफ्टवेयरको पनि क्यापासिटीमा भर पर्छ । सफ्टवेयरको केही समस्या हो भने त्यसलाई अपग्रेड गराउनु पर्छ । तर आईटी टीमका अनुसार अहिलेलाई सफ्टवेयरमा केही समस्या छैन । यदि रहेछ भने पनि त्यसमा काम हुनेछ,’ उनले थपे । सीईओ आचार्य सफ्टवेयरको क्षमता कम भएर र सर्भरमा अधिकतम चाप परेको कारणले मात्रै मेरो सेयरमा समस्या देखिन्छ भन्नु गलत तर्क हो । कहिले काहिँ इन्टरनेटको कारणले पनि समस्या देखिने सिडिएसले बताएको छ । ‘हिजो अस्ति अर्थात पछिल्लो समय समस्या आएको इन्टरनेटको कारणले हो । सर्भरमा इन्टरनेटको एक्सेस् नभएर उक्त समस्या देखिएको हो । विभिन्न प्रविधि (जस्तै, सर्भर, सफ्टवेयर, नेटवर्किङ्ग) सँग एक आपसमा जडान हुने भएकोले कहिले कहाँ समस्या देखिन्छ, कहिले कहाँ । सँधै एउटै खालको समस्या आउँदैन । जस्तै, कहिले डाटाबेसमा समस्या आउँछ । कहिले मेरो सेयरको सर्भरमा समस्या त कहिले इन्टरनेटमा समस्या आउँछ । यी सबैलाई ध्यानमा राख्दै समाधान गर्दै आइरहेका छौं’, आचार्यले भने । के आईपीओ भर्नका लागि छुट्टै वेवसाइटको सुविधा होला ? सिडिएसले हालै मात्रै आईपीओको रिजल्ट हेर्न छुट्टै वेवसाइटको व्यवस्था गरेको छ । यससँगै, लगानीकर्ताले ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको नतिजा सजिलै हेर्न पाएका थिए । आईपीओ रिजल्ट हेर्ने जस्तै आईपीओ भर्नको लागि पनि छुट्टै वेवसाइट भईदिए मेरो सेयरमा चाप कम पर्थ्यो कि भन्ने आम लगानीकर्तालाई लागिरहेको छ । जसले गर्दा सेयर राफसाफ गर्दा पनि समस्या आउँदैन कि भन्ने अनुमान छ । तर सिडिएससीका सीईओ आचार्य भने आईपीओ रिजल्ट हेर्न जस्तै आईपीओ भर्नको लागि पनि छुट्टै वेवसाइट नहुने बताउँछन् । बैंक इन्टिग्रेसनदेखि लिएर सबै डाटा लिंक हुने भएको कारणले गर्दा छुट्टै वेवसाइटबाट जान नमिल्ने उनले बताए । तर लगानीकर्तालाई सहज भने हुने आईपीओ भर्नको लागि छुट्टै वेवसाइट नभएपनि लगानीकर्तालाई सहज हुने गरी सिडिएसले नयाँ व्यवस्था गर्दै छ । संस्थाले आईपीओ भर्न र ईडीआईएस गर्नको लागि छुट्टा छुट्टै रुटको व्यवस्था गर्ने भएको छ । ‘हामीले सेयर भर्न र ईडीआईएस गर्न अफ्ठ्यारो नहुने गरी त्यसलाई छुट्टै रुट दिने व्यवस्था गर्दैछौं । जुन अहिले आईपीओ रिजल्ट हेर्ने जस्तो छुट्टै देखिने भने हुँदैन । यसको लागि आन्तरिक आर्टिटेक्चरमा चेञ्ज ल्याउनुपर्छ । भन्नाले इन्टरनल सिष्टममै कस्टोमाइज गरिने छ,’ उनले भने । अहिले आईपीओ भर्न र ईडीआर्ईएस गर्नको लागि जाने रुट एउटै छ । त्यसलाई सेग्रिगेट गरेर छोडियो भने अहिलेको समस्याको ३० प्रतिशतसम्म समाधान हुने देखिएकोले सिडिएसले नयाँ व्यवस्था गर्न लागेको हो । जसको लागि आन्तिरिक सफ्टेवेयरमै परिवर्तन ल्याउनुपर्छ । ‘छुट्टै रुट भयो भने आईपीओको पार्टमा हेभ्भी ट्राफिक भयो भने ईडीआईएस तर्फ समस्या नहुने गरी बाटो फरक बनाइदिने व्यवस्था गरेका हौं । यसले ३० प्रतिशतसम्म अहिलेको समस्यालाई समाधान गर्ने आईटीका कर्मचारी बताउँछन्’, आचार्यले थप प्रष्ट पार्दै भने । साथै, यो व्यवस्था यथासिघ्र छिटो लागू गराउने तयारी सिडिएस रहेकाे छ । अन्य के के गर्दै छ सीडीएस ? ‘डेक्टपबेसड सीडासलाई वेवबेस्ड बनाइसकेको छ । भारतबाट खरिद गरेको सीडास र सीएनएसको सफ्टवेयर अपग्रेडेशनको लागि हामीले यथाशिघ्र छिटो एग्रीमेन्ट गर्दै छौं । जसको लागि प्रपोजल पनि प्राप्त भइसकेको छ’, आचार्यले भने । यसको मतलब संस्थाले रेकर्ड राख्ने डाटाबेसका क्षमता बढाउन अपग्रेडेशनको प्रकृया अघि बढाएको छ । अहिले डिम्याट खाता लिनेको संख्या दिनानुदिन बढ्दै गएको र त्यसको क्षमता बढाउनको अपग्रेडेशन गर्न लागेको हो । अर्को, सिडिएसले केन्द्रीकृत डिजिटल ग्राहक पहिचान विवरण (सेन्ट्रलाइज्ड डिजिटल केवाईसी) को सफ्टवेयर  अपग्रेडेशनको लागि डिलिङ्ग गर्दैछ । यो सेवा शुरु भएसँगै लगानीकर्ताले एउटै खालको विवरण अन्य नयाँ कम्पनीमा पेश गरिरहनु पर्ने झण्झट हुँदैन । साथै, यसले थाहा नै नदिई अर्काको अकाउन्ट ह्याडिल गरि सेयर कारोबार गर्ने तथा फ्रड गर्नेहरुलाई नियन्त्रण गर्न सहयोग पुग्ने सीईओेले बताए । सम्बन्धित समाचार मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा