कर्मचारीमा कोरोना देखिएपछि दूरसञ्चार प्राधिकरणको सबै सेवा अनलाइनमार्फत सुरु

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो । प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताउँछन् । ‘हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं । यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छ । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ’, उनले भने । ‘प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ । अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै आजदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको हो’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए । यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ । रासस

अब नेपाल टेलिकमको डाटा, भ्वाइस तथा एसएमएस प्याक खल्ती वालेटबाटै किन्न सकिने

काठमाडौं । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ । नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन् । नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् । खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डाटा प्याकलाइ मोबाइल एपमै ल्याएका बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’ नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।  

दुर्गममा सेवा पु¥याउँदै टेलिकम

बागलुङ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा सुरु गरिएको हो । यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो । मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो । पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन् । विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो । घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो । अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ । वडा नं ४ को बगरामा टावर राखेर रेडियो लिङ्कमार्फत गुर्जामा थ्रिजी सेवा पु¥याइएको टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । बगराको रिपिटरलाई मालिका गाउँपालिका–३ को रुम गाउँमा रहेको बिटियस टावरमा लिङ्क गरिएको उनको भनाइ छ । माइक्रोवेभ रेडियो लिङ्क जडानपछि गुर्जा र बगरा गाउँका ५५० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि आधार शिविर, सिनकुस, दुर्कोट, दोभान, धौलागिरि पदमार्गलगायतका क्षेत्रमा नेटवर्कको पहुँच विस्तार भएको छ । धौलागिरि पदमार्ग भएर आहोरदोहोर गर्ने पर्यटकले समेत सहजरुपमा इन्टरनेट सेवा पाउनेछन् । सेवा विस्तारको काममा गाउँपालिका र स्थानीयवासीले ठूलो सहयोग गरेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । टेलिकमका प्राविधिक विकट भूगोल र प्रतिकूल मौसमका बाबजुद एक हप्तासम्म गुर्जा र बगरामा खटिएका थिए । धौलागिरि गाउँपालिकाले पोल खरिद र ढुवानीका लागि डेढ लाख सहयोग गरेको थियो । गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम गुर्जावासीको दैनिकी सहज बन्ने बताए । गाउँपालिकाभर गुणस्तरीय सञ्चार सेवा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । वडाध्यक्ष झकबहादुर छन्त्यालले मोबाइलमा इन्टरनेट चलाउन पाउँदा गाउँले दङ्ग परेको बताए । ‘भिस्याट हुँदा मोबाइलले राम्रोसँग काम गर्दैनथ्यो, सीमित व्यक्तिमात्र कुराकानी गर्न मिल्थ्यो’, उनले भने, ‘अहिले सबैतिर सजिलै फोन लाग्छ, थ्रिजी सेवाले इन्टरनेट सेवा पनि भरपर्दो भएको छ ।’ टेलिकमले पुरानो भिस्याट प्रविधिमार्फत मोबाइल सेवा सञ्चालनमा रहेका दुर्गम ठाउँमा माइक्रोवेभ रेडियो लिङ्क विस्तारलाई तीव्रता दिएको छ । जसका कारण मोबाइल प्रयोगकर्ताले ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित छ । रासस