एक हजार जनालाई राेजगारी दिइरहेकाे एफवानसफ्ट १८ औं वर्षमा प्रवेश
काठमाडाैं । नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो । १७ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबै प्रकारकाे प्रविधिको निर्माण गरेको छ । एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई आवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । तीनजना युवाको परिकल्पनाबाट सुरु भएको एफवान सफ्ट ग्रुपमा अहिले एक हजारभन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । १७ औँ वार्षिक उत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर आफुहरुले प्रविधि निर्माण गरेकाे बताए । ‘हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ । यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौँ,’ उनले भने । एफवान सफ्ट ग्रुप अन्तर्गत हाल एक दर्जन बढि कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् । नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाखभन्दा धेरै रहेका छन् । यस्तै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
नागरिक एप अब स्मार्टसेलका ग्राहकले पनि चलाउन मिल्ने
काठमाडौं । केही अघि प्रयोगमा आएको नागरिक एप अब स्मार्टसेलका सिम प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । स्मार्ट टेलिकमका अनुसार सिस्टम इन्ट्रिगेशनको काम अघि बढाइएको छ । यसअघि नेपाल टेलिकम र एनसेल सिमका प्रयोगकर्ताहरुले नागरिक एप चलाउन पाए पनि स्मार्टका सिम प्रयोगकर्ताले एप प्रयोग गर्न पाएका थिएनन् । नागरिक एप सार्वजनिक गर्नु अगाडि भएको छलफलमा स्मार्ट टेलिकमलाई पनि बोलाइएको थियो । तर, एप सार्वजनिक भएपछि स्मार्टको सिममा एप प्रयोग गर्न नमिल्ने भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई आफ्नो नेटवर्कमा नागरिक एप नि:शुल्क रुपमा प्रयोग गर्न मिल्ने बनाउन निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनपछि स्मार्ट सेलले आफ्नो सिस्टममा नागरिक एपलाई जोड्ने काम गरेको थियो । अब स्मार्टसेलका प्रयोगकर्ताले पनि नागरिक एप प्रयोग गर्न सक्नेछन् । स्मार्टका ग्राहकले नागरिक एप नि:शुल्क प्रयोग गर्न सक्नेछन् ।
कर्पोरेटपेको ५० दिनः ५० व्यवसाय, ५० करोडको कारोबार
काठमाडौं । आधिकारीक सुरुवातको ५०औं दिनमा आइपुग्दा कर्पोरेटपे प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ । बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी उक्त कर्पोरेटपे प्राणाली संचालनमा ल्याइएको हो । यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक/वित्तीय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ । यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरे बमोजिम कनेक्टआईपीएस मार्फत् रियल टाइममा र एनसीएचएल-आईपीएस मार्फत नन-रियल-टाइममा गर्न सकिन्छ । साथै यस प्रणालीमा गा्रहकले एकभन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको छ । कर्पोरेटपे प्रणालीे थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । हाल २५ भन्दा बढी बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्राणााली प्राप्त गर्न सकिन्छ र आफ्ना थप ग्राहकहरुलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन् ।