क्यान इन्फोटेक बैशाख २८ गतेदेखि हुने, शिक्षण संस्थाले निःशुल्क प्रवेश गर्न पाउने
काठमाडौं । चालु वर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडाैंको भृकुटीमण्डपमा हुने जानकारी गराएकाे हाे । कोभिड महामारीका कारण याे वर्ष गत वर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् । क्यान मेला प्रवेश टिकटलाई याे वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा नि:शुल्क प्रवेश दिईने आयोजकले जनाएको छ । मेलामा झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० वर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।
अब मोबाइलको सिमकार्डबाटै पसलदेखि बिजुलीको पैसा तिर्न सकिने
काठमाडौं । अब नेपाल टेलिकमले वितरण गरेको सिमकार्डबाट नै आर्थिक कारोबार गर्न सकिने भएको छ । नेपाल टेलिकमले मोबाइबाटै (टेलिकमको सिमकार्डबाट) आर्थिक कारोबारको सेवा दिने गरी मोबाइल फाइनान्स सर्भिस सञ्चालनको तयारी गरेको हो । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको डिजिटल पेमेन्ट कम्पनीले मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ । टेलिकमले सेवा सञ्चालनका लागि गत पुसको अन्तिम साता निवेदन पेश गरेको थियो । टेलिकमको निवेदन अनुसार राष्ट्र बैंकका अधिकारीहरुले पहिलो चरणको अनुगमन गरिसकेका छन् । राष्ट्र बैंकबाट मोबाइल मनी सञ्चालन गर्न तयार पारेको भौतिक पूर्वाधार र उपकरणको अनुगमन भएतापनि सेवा सञ्चालनको स्वीकृति पाइनसकेको डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकबाट अनुमति पाएपछि टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा रहेको ब्यालेन्सबाट सामान र सेवा खरिद गर्न सकिनेछ । उनका अनुसार टेलिकमका ग्राहकले मोबाइल मनी सेवा सञ्चालनका लागि रिचार्ज कार्डबाट समेत रकम लोड गर्न सकिनेछ । ‘मोबाइलमा रिचार्ज गर्दा मोबाइल मनी सेवामा गर्ने की सिमकार्डमा गर्ने भनेर दुई विकल्प राखिएको छ, ग्राहकले आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्न सक्नुहुनेछ’, उनले भने । हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी कम्पनी भन्दा नेपाल टेलिकमको सेवा भिन्न रहेको उनी बताउँछन् । ‘टेलिकमले सञ्चालनमा ल्याउने भुक्तानी प्रणालीका लागि बैंक खाताको आवश्यक पर्दैन, सिमकार्डमा रहेको मेन ब्यालेन्सबाट नै आवश्यकता अनुसारको सेवा प्रयोग गर्न सकिनेछ’, उनले भने, ‘हाम्रो सेवा सञ्चालनमा आएपछि मोबाइलमा रहेको रकमबाट पसलमा गएर सामान खरिद गर्नदेखि विद्युतको रकम समेत भुक्तानी गर्न सहज हुनेछ ।’ नेपाल राष्ट्र बैंकले गत साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति पाएपछि टेलिकमले सहायक कम्पनीका रुपमा डिजिटल पेमेन्ट कम्पनी स्थापना गरेको थियो । उक्त डिजिटल पेमेन्ट कम्पनीमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको छ ।
अब जानकी मन्दिरमा मोबाइलबाटै भेटी चढाउन सकिने
काठमाडौं । जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो । बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् । नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने बैंकका नायव महा प्रबन्धक डा। सन्धिर कुमारले जानकारी गराए । उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको पनि उपस्थिति रहेको थियो । बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक रहेका छन् । त्यस्तै, बैंकले १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।