क्यूआर कोड विस्तारमा माछापुच्छ्रे बैंक आक्रामक, पोखरा बन्यो क्यूआर कोडमय

काठमाडाैं । माछापुच्छ्रे बैंक क्यूआर कोड सञ्चालन तथा विस्तार गर्न रफ्तारमा अगाडि बढिरहेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि लितथापोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएकाे हो । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवाविस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक क्यूआर कोड सुभारम्भ गरेको हो । पोखराको नयाँबजारमा रहेको हङकङ बजारमाशुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककाका निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घघाटन गरे । यो सेवा संचालनमा आएपछि हङकङ बजार तथाश्री कम्प्लेक्समा तरकारी, फलफूलतथाअन्य कस्मेटिक सामानकिन्नजाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसनप्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरि पोखरेली ट्याक्सीव्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् । उक्तकार्यक्रममाबोल्दै नेपाल राष्ट्र बैंककाका.मु निर्देशकश्री पुस्कर सुर्खालीले अबको युग डिजिटल युगभएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानिमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे । ग्राहकले क्यूआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नु हुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहजभएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्यूआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्यूआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९ हजार पुगेको छ । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंककाप्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिकाप्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायीतथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो । स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

गभर्नर अधिकारीको क्यूआर कोड अभियानः अटो रिक्सादेखि तरकारी पसल र भेटीसम्म क्यूआर कोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय क्यूआर कोड सञ्चालन अभियानमै लागेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल भुक्तानीमा जोड दिन विभिन्न समयमा आग्रह तथा निर्देशन समेत दिइरहेका गभर्नर अधिकारीको पछिल्लो समय अधिकांश समय क्यूआर कोड आरम्भमै बित्छ । उनी पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न ठाउँमा सुरु गरेको डिजिटल भुक्तानी सेवा सुभारम्भ कार्यक्रममै व्यस्त हुन्छन् । क्यूआर कोडमार्फत नै वित्तीय कारोबार गर्ने अभ्यास अघि सार्नु पर्ने भन्दै उनी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सुरु गर्ने क्यूआर कोड सेवाको सुरुवात गर्ने काममा आफै सहभागी भएर प्राेत्साहन गरिरहेका छन् । कार्यक्रममा पुगेर उनले राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउँदै आएका छन् । उनले काठमाडौं भित्र मात्र होइन काठमाडौं बाहिर पनि क्यूआर कोडको सुरुवात गर्नुपर्छ भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै आफै उपत्यका बाहिर पुगेर पनि क्यूआर कोडको सुरुवात गरिरहेका छन् । अहिले उनकै आग्रह र निर्देशनमा काठमाडौं भित्रका विभिन्न स्थानहरुमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले क्युआर कोडको सुरुवात गरिरहेका छन् । उनले नक्साल, कालिमाटी, बल्खु, कुलेश्वर, तीनकुने लगायतका तरकारी बजारहरुमा क्यूआर कोडको सुभारम्भ गरिसकेका छन् भने विभिन्न सुनचाँदी पसल, अटो रिक्सा,  मन्दिर लगायत ठाउँमा क्यूआर कोडको सुभारम्भ आफै सरिक भएर गरेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको केन्द्रिय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न आग्रह मात्र होइन निर्देशन पनि दिँदै आएको छ । विभिन्न वाणिज्य बैंकहरुले पनि त्यसलाई पालना गर्दै विभिन्न ठाउँहरुमा क्यूआर कोडको सुभारम्भ गर्दै आएका छन् । विगत दुई महिनादेखि उनले क्यूआर कोडलाई निकै प्राथमिकता दिएर काम गरिरहेका छन् । गभर्नर अधिकारीले नक्साल तरकारी बजारमा पुस १० गते सानिमा बैंकले सुरु गरको क्युआर कोड सुभारम्भ गरेका थिए । यस्तै, पुस २४ गते प्रभु बैंकले कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेसँगै त्यसपछि माघ १६ मा नबिल बैंकले काठमाडौंको कुलेश्वर फलफूल बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेको थियो । यस्तै, माघ २१ मा माछापुच्छ्रे बैंकले राजधानीको तीनकुने तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेको थियो । ती सबै कार्यक्रममा गभर्नर अधिकारी आफै सहभागी बनेका थिए । उनले ती सबै कार्यक्रममा सबै बैंक तथा वित्तीय संस्थालाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिन निर्देशन मात्र होइन यसलाई दीगो बनाउन पनि सुझाव दिए । यस्तै, आज अर्थात शुक्रबार मात्रै गभर्नर अधिकारीले बैंक अफ काठमाडौंले पशुपति मन्दिरमा सुरु गरेको क्यूआर कोडको सुभारम्भ गरे । उनले पशुपति मन्दिरमा ५ हजार ५ सय ५७ रुपैयाँ दान दिँदै क्युआर कोडको सुभारम्भ गरेका हुन् । बैंक अफ काठमाडौंको क्यूआर कोड पशुपति मन्दिरमा सुरु भएसँगै अब पशुपतिमा जाने भक्तजनहरुले क्यूआर कोडमार्फत नै दान गर्न सक्नेछन् । उनले अब पशुपतिमा आउने भक्तजनहरुले क्यूआर कोडमार्फत दान गर्न सक्ने बताउँदै सबै क्षेत्रमा डिजिटल कारोबारलाई प्राथमिकता दिनु पर्ने बताए । उनका अनुसार अब डिजिटल कारोबार गर्दा पारदर्शिता पनि कायम हुने बताए । ‘अहिलेको हाम्रो फोकस डिजिटल कारोबारलाई नै प्राथमिकता दिने हो, डिजिटल भुक्तानीले पारदर्शीता मात्र होइन यसले हैसियत पनि देखाउँछ, बैंकलाई ऋण उपलब्ध गराउन पनि धेरै सहयोग पुर्याउँछ,’ उनले भने । काठमाडौं उपत्यका भित्र मात्र होइन काठमाडौं बाहिरका जिल्लाहरुमा पनि क्यूआर कोड हुनु पर्ने जोड अधिकारीको छ । देशभरी नै प्रविधिको प्रयोग बढाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिनु पर्ने उनको भनाई छ । गभर्नर अधिकारीले काठमाडौं उपत्यकामा पनि क्यूआर कोडको प्रयोग बढाउने उद्धेश्यले माघ ३० गते सिन्धुलीको कमलामाई नगरपालिकामा आफै पुगेर टेम्पोमा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेका थिए । सिभिल बैंकले सुरु गरेको सो क्यूआर कोडको सुभारम्भ पनि गभर्नर अधिकारीले नै गरेका थिए । यस्तै, धनगढीको त्रिनगर हाट बजारमा पनि क्युआर कोडको सुभारम्भ भएको छ । सो बजारमा माछापुच्छ्रे बैंकले फागुन ४ गतेदेखि क्यूआर कोडको सेवा सुभारम्भ गरेको थियो । गभर्नर अधिकारीले क्यूआर कोडलाई एक अभियानै रुपमा सञ्चालन गरेका छन् । आजभोलि उनको अधिकांश समय क्युआर कोड सुरुवातमै बित्ने गरेको छ । नेपाल सरकारले पनि मुलुकलाई डिजिटल रुपमा अगाडि बढाउने रणनीति लिएको छ । सोही अनुरुप सरकारले पनि काम गरिरहेको छ । नेपालमा विशेष गरेर कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयपछि डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ ।

मोबाइल र ल्यापटप रिपेयरिङमा फ्रि होम डेलिभरी सेवा दिदै बिपिनको थ्रिकम केयर

काठमाडौं । स्वदेशमा भन्दा विदेशमा आफ्नो उज्जवल भविष्य देख्ने थुप्रै नेपाली युवाहरु छन् । रोजगारीका खोजिमा विदेश पाइला टेक्न कैयौं युवा भिसाको पर्खाईमा छन् । कतिलाई म्यानपावर धाउँदै ठिक्क छ । स्वदेशमै उद्यम, व्यवसाय गर्न चाहने नेपाली युवाहरुको संख्या निकै कम छ । त्यसमाथि अरुलाई रोजगारी दिलाउनेको संख्या अझ कम छ । सर्लाही बरहथवाका विपिन जयसवाल तिनै थोरै युवाहरुमध्ये पर्छन् । जसले २५ वर्षकै उमेरमा २२ जनालाई रोजगारी दिलाएका छन् । र, उनी अझै त्यो संख्यालाई विस्तार गर्ने क्रममा छन् । न्युरोडस्थित पिपुल्स प्लाजाको तेस्रो तलामा छ, थ्रिकम केयर । त्यहीं भेटिन्छन्, हँसिलो चेहरा भएका जयसवाल । उनलै हाँकेका छन् यो कम्पनी । उनी हाइस्पिड ट्रेन जस्तै लाग्छन् । जे कुरामा पनि छिटो दौडिन चाहने । छिटो पुग्न चाहने । थ्रिकम केयरले बिग्रिएका ल्यापटप, मोबाइल, हार्ड डिस्क बनाउने काम गर्छ । शहरमा मोबाइल र ल्यापटप रिपेरिङ सेन्टर बग्रेल्ती छन् । चोकै पिच्छे रिपेरिङ सेन्टर खुलेपनि भरपर्दो र विश्वासिलो ठाउ भेट्न गार्‍हो छ । समस्या पर्दा मानिसहरु भौतारिएको देखिन्छ । तिनै समस्यामा परेका उपभोक्ताहरुको मन जित्दैछ, थ्रिकमले । अन्य रिपेरिङ सेन्टर भन्दा थ्रिकम के फरक छ भने यसले उपत्यकामा फ्रि पिकअप, फ्रि डेलिभरीको सुविधा प्रदान गर्छ । व्यस्त दिनचर्या हुनेहरुले एक कलको भरमा आफ्नो बिग्रिएको सामान मर्मत गर्न सक्छन् । उपत्यका बाहिरका उपभोक्ताहरुले भने कुरियरमार्फत आफ्ना सामानहरु मर्मत गर्न सक्छन् । २२ जनालाई रोजगारी दिलाएका थ्रिकम केयरका सञ्चालक जयसवालको पृष्ठभूमि संघर्षपूर्ण छ । सर्लाहीबाट १० वर्ष अघि काम खोज्नका लागि उनी राजधानी शहर पसेका थिए । केही इन्सिट्च्युटमा उनले मोबाइल, ल्यापटप बनाउने तालिम सिके पनि । तर, उनलाई त यसैमा भविष्य बनाउनु थियो । दक्ष बन्नु थियो । त्यसका लागि उनी भारतको नयाँ दिल्ली पुगे । उनमा नयाँ कुरा सिक्ने भोक यति थियो कि एक ठाउमा चित्त बुझाएनन् । उनी मोबाइल, ल्यापटपको स्पेशल कोर्ष गर्न नेहरु प्यालेस र डिसी सेन्टरमा एकै पटक भर्ना भए । २ लाख ३६ हजार भारु खर्चिएपछि उनको स्पेशल कोर्ष पूरा भयो । अवसर त यी युवा जयसवाललाई भारतमै पनि प्रशस्त थियो । तर, ५० हजार भारु बराबर सरसामानहरु किनेरनेपाल फर्किए । आफ्नै देशमा उद्यम गर्नुपर्छ भन्ने सोचले राजधानी फर्किए । तर, राजधानीमा व्यवसाय गर्न त्यति सजिलो थिएन । सुरुमा काम खोज्दै उनले महिना बिताए । पर्चा, पम्पलेट बनाएर पोल, पोल र भित्ताहरुमा टाँसे । जसमा लेखिएको थियो, हामी होम डेलिभरी सेवा दिन्छौं । घरमा आएर ल्यापटप बनाउने काम गर्छौं । चार महिनासम्म दौडिदा पनि भने जस्तो काम पाएनन् । जति नै समस्या भोगे पनि उनले हार खाएनन । जावलाखेलका रवी महर्जनसँगको चिनजानले भने जयसवाललाई राम्रै गर्‍यो । महर्जनको आफ्नै बिग्रिएका ल्यापटप बनाउने पसल थियो । पसलमा आएका सामानहरु महर्जनले बनाउनका लागि जयसवाललाई दिन्थे । र, ति सामानहरु बनाएर उनले पसलमा बुझाइदिन्थे । केही महिना यसरी काम गरेपछि पछि उनले आफ्नै कम्पनी खोले । पछि जयसवालले पिपुल्स प्लाजामा थ्रिकम कम्पनीको सूरुवात गरे । तीन जना स्टाफबाट उनले कम्पनीको सुरुवात गरेका थिए । चार महिनाको छोटो अवधिमै १० जना पुर्‍याए । पहिले पोल र भित्तामा टाँसिएका ठाउबाट फोन आउन थाल्यो । विभिन्न पसलहरुले उनलाई नै सम्पर्क गर्न थाले । कम्पनीलाई कामको कुनै कमी भएन । एक वर्षपछि त कम्पनीमा २२ जना स्टाफ नै पुगे । हाल कम्पनीको सीईओ जयसवालको मासिक तलब ६० हजार रुपैयाँ छ । कम्पनीको नाफा बेग्लै छ । बैंकर्स, नेता, व्यापारी, कुटनीतिज्ञ पिपुल्स प्लाजास्थित थ्रिकम कम्पनीका नियमित ग्राहक हुन् । फ्रि पिकअप, फ्रि डेलिभरी सेवाले अझ धेरै ग्राहकहरु बढिरहेका छन् । थ्रिकममा मोबाइल, ल्यापटप, हार्ड डिस्क बनाउने बेग्लाबेग्लै प्राविधिकहरु छन् । मोबाइल सर्भिस इन्जिनियर, ल्यापटप इन्जिनियर बाहेक सेल्स, पिक अप, ड्रपमा छुट्टै स्टाफहरु खटिदै आएका छन् । लेमिनेसन हाउस र थ्रिकम मार्ट आउने मंगलबारदेखि थ्रिकम केयरले पिपुल्स प्लाजामा थप दुई वटा शो रुम सुरु गर्दैछ, लेमिनेसन हाउस र थ्रिकम मार्ट । ‘बाइकलाई मोडिफाइ गरे जस्तै मोबाइल र ल्यापटपलाई मोडिफाइ गरिने सुविधा दिदैछौं ।’ जयसवालले भने ‘मार्टबाट मोबाइल र ल्यापटपका सामानहरुको सेल्स हुनेछ ।’ यस्तै पिपुल्स प्लाजाकै पाँचौ तलामा म्याकबुक रिपेयर हब सुरु हुँदैछ । लकडाउन खुलेपछि नयाँ दिल्ली पुगेर त्यसका लागि विशेष तालिम लिएर उनले म्याकबुक रिपेयर हब सुरु गर्न लागेका हुन् । यो हबबाट म्याकबुकका पाटपुर्जा रिप्लेस, रिपेयर गर्ने र यसका पाटपुर्जाहरु पनि बेचिने उनले बताए । उपत्यकाका सिमित ठाउमा मात्र म्याकबुक रिपेयर गर्ने ठाउ छन् । ति धेरै महंगो छन् । उपभोक्ताहरुले महंगो मूल्य तिरेर म्याकबुक बनाउँन सकिरहेका छैनन् । त्यसैलाई आत्मसात गर्दै सुलभ मूल्यमा सेवा दिन उनले म्याकबुक रिपेयर हब सुरु गर्न लागेका हुन् । अबको केही समयभित्र नेपालका प्रमुख शहरमा थ्रिकमका ब्राञ्च खोल्ने तयारी रहेको जयसवाल बताउँछन् । त्यसो त उनी नेपालका सबै जिल्लामा ब्राञ्च खोल्न चाहन्छन् । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न स्पेशल कोर्ष पनि दिन थालिसकेका छन् । थ्रिकम केयरमा तालिम पनि थ्रिकम केयरले मोबाइल, ल्यापटप बनाउने स्पेशल कोर्ष पनि प्रदान गरिरहेको छ । हाल १५ जनाले नि:शुल्क तालिम लिईरहेका छन् । एक वर्षको यो कोर्षपछि सञ्चालक जयसवालले आफ्नै कम्पनीमा उनीहरुलाई रोजगारी दिलाउँने बताएका छन् । ‘कतिले आफ्नै क्षेत्रमा गएर पनि कम्पनी खोल्न सक्छन् ।’ उनी भन्छन्, ‘नेपालमै बस्न चाहन्छु, स्वदेशमै कमाउँछु भन्नेलाई राम्रो अवसर छ ।’ १५ जना बाहेक अन्यले सिक्न चाहेमा भने कोर्षको लागि शुल्क तिर्नुपर्नेछ । यसरी विशेष कोर्ष गर्नेहरुले १० हजार देखि २ लाख रुपैयासम्म कमाइ गर्न सकिने जयसवाल बताउँछन् । आफ्नो क्षमता अनुसार कमाइ गर्न सकिने उनले बताए । नेपालमै अवसरै अवसर युवा व्यवसायी जयसवाल नेपालमै अवसरै अवसर देख्छ न् । काम गर्न चाहनेले वेरोजगार बस्न नपर्ने उनले बताए । प्राविधिक क्षेत्रमा झन् अवसर र सम्भाबनाको खानी भएको उनी बताउछन् । ‘यो क्षेत्रमा समय धेरै दिनुपर्छ । त्यो अनुसार उर्जा र समय खेर जाँदैन । प्रतिफल अबश्य पाईन्छ ।’ विदेश जान खोज्ने युवाहरुलाई उनी यतै सीप सिकेर उद्यम, व्यवायमा लाग्न सल्लाह दिन्छन् । खाडीबाट आउने नेपालीहरु पनि स्वदेशमा कामको खोजीमा भौतारिरहेका हुन्छन् । उनीहरुलाई नआत्तिएर यतै काम गर्न उनी सुझाउँछन् । सर्लाहीको मध्यमवर्गिय परिवारमा जन्मिएका जयसवालका पीता राम नारायण घर बनाउने काम गर्छन् । आमा इन्दु देवी हाउसवाइफ । आफू यो स्थानमा पुग्न दाइ सञ्जयको ठूलो भूमिका भएको उनी बताउँछन् । जयसवालले अहिलेसम्म ५ लाख रुपैयाँ सेयरमा हालेका छन् । त्यसबाहेक मोबाइल र ल्यापटपमा लगानी रहेको उनी बताउछन् । यसै क्षेत्रलाई बृहत बनाउने उनको सोच छ । उनको मुख्य व्यापार नै यही हो । मंगलबार खुल्न लागेका दुई वटा शोरुम गरेर थ्रिकममा अहिलेसम्म १ करोड २३ लाख रुपैयाँ लगानी भईसकेको उनी बताउँछन् । उनले नेपाल बैंकबाट ऋण लिएका छन् । नेपाल बैंक र राष्ट्रिय वाणिज्य वैंकले उनलाई ऋण दिएर सहयोग गरिरहेका छन् । ‘थ्रिकमलाई राष्ट्रिय स्तरको कम्पनी बनाउँन कस्सिएको छु ।’ जयसवाल भन्छन्, ‘नेपालमै भविष्य खोज्ने युवालाई सक्दो सहयोग गर्नेछु । नेपालमा अपार सम्भाबना छ । त्यसलाई हामीले प्रमाणित गर्नु पर्छ ।’ जति गफिए पनि युवा जयसवाल एकदमै आशावादी देखिए । युवापुस्तालाई सकारात्मक सोच लिएर अगाडी बढ्न उनी सल्लाह दिन्छन् । ‘हामी युवाले नगरे कसले गर्ने ?’ छुट्टिने बेला युवा उद्यमी जयसवालले उल्टै प्रश्न गरे ‘अहिले नगरे कहिले गर्ने ?’