मुस्ताङको दामोदरकुण्डमा ‘थ्रीजी’ सञ्चालनमा

काठमाडौं । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरिएको हो । यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए । “मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्”, उनले भने, “ मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटर्वक विस्तार भएकाले अब समस्या हुँदैन ।” मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युत्को पोलमा बिटिएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा अबरुद्ध नहुने प्रमुख शर्माको भनाई छ । बागलुङका सबै गाउँमा फोरजी तयारी टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बिटिएस टावरको स्तरोन्नति थालेको हो । “अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ”, उनले भने, “दशैँसम्ममा पाँचवटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।” रासस

फोरजीका प्रयोगकर्ता करिब १ कराेड पुग्याे

काठमाडाैं । पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ । गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् । टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन् । गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए । एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन् । एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन् । गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए । स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् । गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् । इन्टरनेट पहुँच नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६ दशमलव ०३ प्रतिशत छ । एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ । फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव ६६ प्रतिशत रहेको छ । यसमा एडिएसएलका ७ लाख २८५ हजार र एफटिटिएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन् । रासस

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया सुरु, ११ विधामा ३५० बढीको नोमिनेशन

काठमाडौं । आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नको लागि शुक्रबारदेखि प्रक्रिया अघि बढाइएको हाे । अनलाइन नोमिनेशनमा ३५० बढीको आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । यस वर्ष छनौट प्रक्रियाको लागि सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञ व्यक्तिहरूको जुरी समिति गठन गरिएको छ । यसैगरी राष्ट्रिय योजना आयोकका सदस्य डा. रामकुमार फुयाल, नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, पूर्वमन्त्री गणेश शाह, प्रा.डा. सुवर्ण शाक्य, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनिष पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त लगायत १५ जनाको विशिष्ट जुरी सल्लाहकार समिति रहेको छ । यस वर्ष आइसिटी अवार्ड २०२१ को लागि राइजिङ स्टारदेखि डिजिटल गभर्नेन्स अवार्डसम्म प्रविधिका विभिन्न पक्ष र क्षेत्रलाई समेटेर ११ विधामा नोमिनेशन आह्वान गरिएको थियो । अवार्डमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् । यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् । अनलाइनमार्फत प्राप्त नोमिनेशनमा राइजिङ स्टार इन्नोभेसनमा सबैभन्दा धेरै ६० बढीको नोमिनेशन प्राप्त भएको छ । यसैगरी स्टार्टअप आइसिटी अवार्ड र प्रडक्ट आइसिटी अवार्र्डमा ४० भन्दा बढी नोमिनेशनहरू प्राप्त भएको आयोजकले जनाएको छ । आइसिटी अवार्ड एकदमै पारदर्शी र निष्पक्ष रूपमा आयोेजना हुने अवार्ड भएको हुँदा यसले प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको त्रिविका प्रा.डा शुवर्ण शाक्य बताउँछन् । अवार्डले नयाँ आइडिया र इन्नोभेसनमा काम गरिरहेकालाई अगाडी बढ्न प्रोत्साहन गर्ने हुँदा अवार्डको महत्व र आवश्यकता अझ बढिरहेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले शुक्रबार आयोजित छनौट समितिको बैठकमा धारणा राखेका थिए । आइसिटी अवार्ड २०२१ मा विभिन्न ५ चरणमा छनौट प्रक्रिया अगाडि बढाइनेछ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १० लाई समेटेर दुईदिने प्रदर्शनी समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्ने स्टार्टअप, डिजिटल गभर्नेन्स र डिजिटल एजुकेशनका प्रतिस्पर्धीहरूमा सर्वोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । अन्य छनौट प्रक्रियाहरू भर्चुअल माध्यमबाट समेत सञ्चालन हुनेछन् । अवार्डको फाइनल अर्थात् ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ मा द सोल्टी होटलमा आयोजना हुने लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी वक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । गतवर्ष कोभिड १९ को महामारीको बीचमा पनि आइसिटी अवार्ड भव्यरूपमा सञ्चालन भएको थियो । यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । यस वर्ष आइसिटी अवार्डको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जेनस सोलुसन, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक लगायतको सहकार्य तथा सहयोग रहेको छ ।