असोज १५ गतेसम्म बक्यौता भुक्तानी नभए तार काट्ने प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट/केवल टीभी सेवाप्रदायकलाई असोज १५ गतेभित्र नयाँ व्यवस्थाअनुसारको शुल्क तिर्न तथा सम्झौता नवीकरण नगरे तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै असोज १५ गतेभित्र परिमार्जित भाडा तिर्न तथा सम्झौता नवीकरण गर्न ताकेता गरेको हो । यसअघि प्राधिकरणले २ पटक सूचना जारी गर्दै सम्झौता नवीकरण गर्दै बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । पुन बिहीबार सूचना जारी गर्दै प्राधिकरणले १५ गतेभित्र सम्झौता नवीकरण नभएमा कुनै पनि समय त्यस्ता सेवाप्रदायकको तार हटाउन सकिने प्राधिकरणले चेतावनी दिएको छ । ‘तोकिएको समयमा नवीकरण नगर्ने तथा भाडा नतिर्ने सेवाप्रदायकको तार कुनै पनि बेला हटाउन सकिने छ। यसको जिम्मेवार सम्बन्धित संस्था हुनुपर्ने छ’ प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ । प्राधिकरणको तथ्यांक अनुसार विभिन्न १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले ७ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गरेका छैनन । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुहरुले प्राधिकरणले आफूखुशी फाइबरको भाडा बढाएको भन्दै बढेको रकम भुक्तानी नगर्ने जनाउँदै आएका छन् । सम्बन्धित समाचार इन्टरनेट सेवा प्रदायक १२ कम्पनीले प्राधिकरणलाई तिरेनन् ७ करोड भाडा (कसको कति ?)
नमस्ते पेको प्रवेशले धेरै भुक्तानी सेवा प्रदायक संकटमा, २७ वटै कम्पनी बराबरको पुँजी एक्लैको
काठमाडौं । गत भदौ २९ गते नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा धुमधामका साथ सुरु गर्यो । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको सो कम्पनीले देशमा भुक्तानी सेवा प्रदायकका रुपमा नमस्ते पेको सुरुवात गरेकाे हाे । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुंक्त लगानीमा सुरु भएको नमस्ते पेको प्रवेशले अहिले भुक्तानी सेवा प्रदायक संस्थाहरुबीचमा एक खालको त्राससहितकाे वहस पनि सिर्जना भएको छ । सरकारी लगानीमा उच्च पुँजीका साथ सुरु भएको नमस्ते पेले अब कतै सानो पुँजी र निश्चित जनशक्तिकाबीच सुरु भएका अन्य साना भुक्तानी सेवा प्रदायक (पीएसपी)संस्थाहरुलाई रिप्लेस अर्थात विस्थापित त गर्ने होइन ? बजारमा भइरहेको यही वहसको प्रश्न हामीले नेपाल डिजिटल पेमेन्ट कम्पनीका डेपुटी सीईओ निर्जल श्रेष्ठलाई सोध्यौं । श्रेष्ठले अहिले नेपालमा डिजिटल भुक्तानी प्रदायक संस्थाहरुले उल्लेख्य काम गर्न नसकेकोले नमस्ते पेले अब सो काम गर्ने बताए । उनका अनुसार नमस्ते पेले अन्य भुक्तानी प्रदायक संस्थाहरुलाई चुनौती दिनेभन्दा पनि नयाँ बजार खोजेर काम गर्ने योजना रहेको सुनाए । ‘अहिले नेपालमा डिजिटल वालेटहरु धेरै भएपनि डिजिटल भुक्तानी गर्ने जनसंख्या नेपाल टेलिकमकाे कुल ग्राहकको संख्या २० प्रतिशतसम्म पनि छैन, नमस्ते पे अहिले भइरहेको बजारमा जाने भन्दा पनि नयाँ मार्केट खोजिरहेको छ, हाम्रो प्राथमिकता अहिले भइरहेको बजारमा भन्दा पनि ग्रामिण क्षेत्रमा हुन्छ, सरकारी र शैक्षिक क्षेत्रमा पनि सेवा दिने हाम्रो योजना हो, नेपालमा जुन ठाउँमा डिजिटल भुक्तानी भइरहेको छैन, त्यहीँ गएर काम गर्ने हाम्रो योजना हो,’ उनले भने । ‘अहिले ग्राहकसँग धेरै विकल्प रहेको बताउँदै उनले नमस्ते पेले भने फरक, सजिलो, कम खर्चिलो र विश्वसनिय सेवा दिने बताए । ‘नमस्ते पे सरकारी लगानी भएको वालेट हो, सरकारी लगानीमा बढी पारदर्शिता र विश्वसनियता पनि हुन्छ, हामी अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरुको तुलनामा फरक छौं, हामी सेवालाई बजारमुखीभन्दा पनि देशको सबै क्षेत्रका ग्राहकलाई छुने किसिमले काम गर्छौं, उनले भने । उनका अनुसार नमस्ते पेको सेवा इन्टरनेट र स्मार्टफोनबिना पनि लिन सकिने भएकोले अधिकांश ग्राहकहरुका लागि नमस्ते पे लाभदायी हुनेछ । यस्तै, उनले सबै ग्राहकले नमस्ते पे वालेट प्रयोग गर्नको लागि सरल किसिमको प्रविधि पनि ल्याउने योजना सुनाए । उपभोक्ताले नमस्ते पेको सेवालाई फरक महसुस गर्नुहुन्छ, इन्टरनेट भएमात्रै डिजिटल भुक्तानी हुने अभ्यासलाई हामी तोड्दै छौं, यो सेवा इन्टरनेट र स्मार्ट फोनबिना पनि लिन सकिन्छ, हरेक वर्ष ग्राहक बढाउने हाम्रो योजना छ,’ उनले भने । अन्य पीएसपीलाई यस कारण संकट वि.स २०७५ सालमा सिजी ग्रुपले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक संस्थाको रुपमा अनुमति पत्र लिँदा नेपाल राष्ट्र बैंकका केही अधिकारीहरुले चौधरी ग्रुपका निर्माण चौधरीलाई ‘टार्गेट मिट’ कसरी गर्नु हुन्छ भन्ने प्रश्न गरेका थिए । राष्ट्र बैंकका अधिकारीहरुको सो प्रश्न अनौपचारिक थियो । अर्थात भुक्तानी प्रदायक संस्थाहरु धेरै भइसके, प्रतिस्पर्धा धेरै छ, राष्ट्र बैंकले दिएको टार्गेट कसरी मिट गर्नु हुन्छ भन्ने जिज्ञासा राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक कुराकानी कै सिलसिलामा सोधेका थिए । जवाफमा चौधरीले भनेका थिए, ‘२५ हजार कर्मचारी मसँग हुनुहुन्छ, उनीहरुका परिवार पनि छन्, उनीहरुले पनि सिजी पे मार्फत नै भुक्तानी गरिहाल्नु हुन्छ, यही च्यानल मार्फत पनि म सीपजी पेलाई सञ्चालन गर्न सकिन्छ, राष्ट्र बैंकले दिएको टार्गेट मिट गर्न सक्छु, हामीलाई खासै समस्या हुँदैन ।’ औद्योगिक तथा व्यवसायिक घरानाले सञ्चालन गरेको सीजी पे वालेटले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको करिब ३ वर्ष भइसकेको छ । तर, बजारमा सिजी पेको कुनै चर्चा छैन । यो एक उदाहरण मात्रै हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त हाल २८ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरु छन् । ती बाहे ४/५ वटा भुक्तानी प्रदायक संस्थाको मात्रै नाम सुनिन्छ । अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरु के गरिरहेका छ्न् ? कसरी चलिरहेका छन् ? बजारमा खासै चर्चा देखिँदैन । तर, भदौ २९ गते मात्रै सार्वजनिक भएको नमस्ते पेले बजारमा एक किसिमको वहस सिर्जना गरिसकेको छ । नमस्ते पेमा सरकारको लगानी भएको कारणले पनि यसले चर्चा पाएको हो । कम्पनीमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत स्वामित्व छ । अन्य भुक्तानी प्रदायक कम्पनीहरुको जस्तो नमस्ते पेलाई ग्राहकको समस्या नहुने प्रष्ट देखिन्छ । कम्पनीमा ६२ प्रतिशत स्वामित्व रहेको नेपाल टेलिकमसँग कुल २ करोड ग्राहक छन् । टेलिकमकाे इन्टरनेट प्रयाेगकर्ता मात्र १ करोड ५० लाख रहेका छन् । टेलिकमको बजारमा इन्टरनेटको हिस्सा ४८.६८ प्रतिशत छ । ४ हजारभन्दा बढी एनटीसीमा कार्यरत कर्मचारी छन् । यस्तै, ३८ प्रतिशत स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन अनुसार कुल ३२ लाखभन्दा बढी ग्राहक छन् । १३ लाख मात्रै मोबाइल बैंकिङका प्रयोगकर्ताहरु छन् । यसरी हेर्दा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीसँग ठूलो सञ्जाल जोडिएको छ । सरकारी लगानीको कम्पनी भएकोले पनि अन्य सरकारी कार्यालय र संस्थानहरु पनि नमस्ते पेमै जोडिन बाध्य हुन सक्छन् । यसले पनि नमस्ते पेको नेटवर्क बढ्नेमा दुई मत छैन । यस्तै, नमस्ते पेले अन्य भुक्तानी प्रदायक संस्थाले गर्दै आइरहेको कामभन्दा फरक गरिरहेको छ । स्मार्टफोन नभएका र इन्टरनेटको पहुँचमा नभएकाहरुलाई पनि नमस्ते पेले जोडेको छ । सामान्य मानिस अर्थात सर्वसाधारणलाई समेत मध्येनजर गरेर सेवा सुरु गरेको नमस्ते पेमा ठूलो संख्यामा सर्वधारणको आकर्षण बढ्ने सक्ने पनि यसले आकलन गर्न सकिन्छ । कम्पनीले बजारमुखीभन्दा पनि ग्रामिण क्षेत्रमा बढी सेवा विस्तार गर्ने रणनीति लिएको छ । यसका साथसाथै कम्पनीको चुक्ता पुँजी अन्य भुक्तानी प्रदायक संस्थाहरुको तुलनामा उच्च छ । सरल, सहज र नयाँ प्रविधिमा लगानी बढाउन र सीपमुलक जनशक्ति राख्ने क्षमता कम्पनीसँग छ । यी विविध कारणले नमस्तेपेले बजार जमानउन सक्ने प्रक्ष्येपण गर्न सकिन्छ । कम्पनीले शैक्षिक संस्थाहरु र सरकारी कार्यालयहरुमा पनि नमस्ते पेको प्रयोग बढाउने रणनीतिका साथ काम गरिहरेको छ । यसले पनि यसको बजार बढ्न सक्नेछ । तर, नमस्ते पेले पनि अन्य सरकारी कार्यालय जस्तै सुस्त सेवा दिएमा भने यसको सेवामा अवश्य पनि प्रश्न उठ्न सक्छ । राष्ट्र बैंक स्रोत पनि ४० करोड रुपैयाँ र १ करोड रुपैयाँ पुँजी हुने कम्पनीहरुमा धेरै नै भिन्नता हुने बताउँछ । ‘१ करोड र ४० करोड रुपैयाँले दिने सेवामा धेरै फरक हुुन्छ, ४० करोड रुपैयाँ पुँजी हुनेले राम्रो प्रविधि र दक्ष जनशक्ति राख्न सक्छ, खर्च गर्ने क्षमता पनि बढी नै हुन्छ, ठूलो पुँजी भएको कम्पनी नोक्सानमा गएपनि प्रोभिजनिङ गर्न सजिलो हुन्छ, तर सानो पुँजी भएका कम्पनी नोक्सानमा गए समस्या नै आउन सक्छ,’ हामीले न्यूनतम १ करोड र अधिकतम ५ करोड रुपैयाँ चुक्ता पुँजीको सीमा तोकेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मात्रै सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक संस्थाहरुका लागि न्युनतम चुक्ता पुँजी १ करोड रुपैयाँ तोकेको छ भने निश्चित प्रयोजनका लागि कार्डको प्रयोग गर्ने संस्थाहरुका लागि न्यूनतम ५ करोड र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) का लागि नयूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । १० बैंकसँग सम्झौता देशका सबै वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरुसँग सम्झौता गरेर अगाडि बढ्ने योजना गरिहरेको नमस्ते पेले १० वटा वाणिज्य तथा विकास बैंकहरुसँग सम्झौता गरिसकेको छ । डेपुटी सीईओ श्रेष्ठका अनुसार हालसम्म राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई, प्रभु, एनआईसी एशिया, नेपाल बैंक, मेगा, लक्ष्मी, सेञ्चुरी, कामना सेवा विकास बैंक र मुक्तिनाथ विकास बैंकसँग भुक्तानीका लागि सम्झौता भइसकेको छ । ‘नेपालमा रहेका सबै वाणिज्य बैंक, विकास बैक लगायतका वित्तीय संस्थाहरुलाई जोड्ने हाम्रो याेजना हो, त्यसमा हामी काम पनि गरिहरेका छौं, अहिले प्रारम्भिक रुपमा केही सेवा मात्रै सुरु गरेर अगाडि बढेका छौं, अहिलेको हाम्रो मुख्य लक्ष्य भनेको बजार मात्रै होइन ग्रामिण क्षेत्रमा पनि काम गर्ने हो, विस्तारै हाम्रो सञ्जाल बढ्दै जान्छ,’ श्रेष्ठले विकासन्युजसँग भने । उनका अनुसार यी सबै बैंकहरुको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । एक्लैको ४० करोड पुँजी नेपाल राष्ट्र बैंकका अनुसार हाल २८ वटा भुक्तानी प्रदायक कम्पनीहरु रहेका छन् । ती कम्पनीहरुको कुल चुक्ता पुँजी १ अर्ब ५ करोड ७८ लाख रुपैयाँ छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबिना २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ मात्रै हुन्छ । ४० करोड रुपैयाँ चुक्ता पुँजी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको मात्रै छ । जुन अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरुको हाराहारीमै छ । अर्थात २५ करोड रुपैयाँ मात्रै कम छ । नमस्ते पेपछि सबैभन्दा बढी चुक्ता पुँजी हुने कम्पनीमा प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेड रहेका छन् । ती दुई कम्पनीको चुक्ता पुँजी १०/१० करोड रुपैयाँ छ । अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरुले भने न्यूनतम १ करोड रुपैयाँ चुक्ता पुँजी राखेर सेवा दिँदै आइरहेका छन् । राष्ट्र बैंकका अनुसार हाल १० वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनी रहेका छन् । राष्ट्र बैंकले हाल भुक्तानी सेवा प्रदायका लागि अनमुति पत्र वितरण पनि रोकेको छ । श्रेष्ठले विस्तारै पुँजी बढाएर जाने योजना रहेको छ । ‘तीन वर्षपछि आईपीओ जारी गरेपछि चुक्ता पुँजी फेरि पनि बढ्छ, ग्राहकमा पनि हामीले राम्रै नम्बर अनुमान गरेका छौं, उपभोक्ताले हाम्रो सेवा अवश्य पनि रुचाउँछन् भन्ने हाम्रो पूर्ण विश्वास छ,’ उनले भने । इन्टरनेट र स्मार्टफोन बिनै भुक्तानी अहिले सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायकहरुमार्फत इन्टरनेट र स्मार्टफोन बिना भुक्तानी गर्न सकिँदैन । त्यसको विकल्पको रुपमा नमस्ते पेले इन्टरनेट र स्मार्टफोन बिनै भुक्तानी गर्न सकिने सेवा ल्याएको हो । जुन यस कम्पनीलाई बजारिकरण गर्ने मुख्य र महत्वपूर्ण विषय हो । उपभोक्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सकिने उनले बताए । यस्तै, उनले स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको सञ्चालन गर्न सकिनेछ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *५००# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यसरी खोलिएको खाताबाट ५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ । कम्पनीले टेलिकमको मोबाइल ब्यालेन्सबाट नै पैसाको रुपमा उपयोग गर्न नसकिने भन्दै नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिने जनाएको छ । अहिले नमस्ते पेमार्फत नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू लिन सकिन्छ । राष्ट्र बैंकको एक वर्षको सीमा नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई उक वर्षको समय सीमा तोकेको छ । राष्ट्र बैंकले पीएसपीले २०७९ असार मसान्तसम्म ३ लाख ग्राहक र मासिक ६ लाख रुपैयाँ कारोबार गर्न नसके अनुमति नै खारेजी गर्ने नीति लिएको छ । अघिल्लो आर्थिक वर्षको मौद्रिक नीति मार्फत गत आर्थिक वर्षको मसान्तसम्म मात्रै समय सीमा तोके पनि कोरोना भाइरसको कारण सो समय बढाएर २०७९ असार मसान्तसम्म पुर्याएको नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका प्रमुख भुवन कँडेलले बताए । उनका २०७९ को असार मसान्तसम्म ३ लाख ग्राहक र मासिक ६ लाख रुपैयाँ कारोकार नपुर्याउने भुक्तानी सेवा प्रदायक कमपनीहरुको विकल्प खाजिनेछ । अर्थात अन्य विकल्पहरु पनि उनीहरुलाई राष्ट्र बैंकले दिनेछ । ‘कतिपय कम्पनीहरुले अगाडि नै आशय पत्र दिए पनि केही समय अगाडि मात्रै अनमुति पाएका छन्, उनीहरुलाई मर्का नपरोस् भनेर पनि हामीले यो समय एक वर्षका लागि बढाएका हौं, पुरानो र नयाँ कम्पनीलाई सँगै तुलना गनुृ हुँदैन भन्ने बुझेर हामीले यो समय दिएका हौं, एक वर्षपछि भने यो नियम लागु हुनेछ, कँडेलले भने । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरु मर्जरमा जान सक्ने नीति पनि सार्वजनिक गरिसकेको छ । राष्ट्र बैंकले समय सीमा तोकेकोले पनि उनीहरुले अहिले ठूलो दवावमा छन् । यसले पनि सानो पुँजी भएका पीएसपीहरु अगाडि बढ्न चूनौती नै छ ।
वाग्मती प्रदेशको सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
काठमाडाैं । वाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क अब इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो । यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्बजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण इसेवाबाटै गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै कर भुक्तानी, दर्ता र नविकरण गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सक्नेछन् ।