टेलिकमले ६० वर्ष पुगेकालाई नि:शुल्क सिम दिने
काठमाडाैं । टेलिकमले ६० वर्ष पुगेकालाई नि:शुल्क सिम दिने भएकाे छ । कम्पनीले विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सिम दिने भएकाे हाे । उक्त सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ । नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नेछन् । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।
एनसेलले पायो ग्लोबल बिजनेस आउटलुक अवार्ड, उत्कृष्ट नेतृत्व अवार्ड एन्डी चोङलाई
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार पाएकाे छ । जीबीओ अवार्डअन्तर्तग एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड पाएका हुन् । लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकाे योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ । साथै, एनसेल ‘वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा हुनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । साे पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।
डिशहाेमकाे नयाँ कनेक्सन लिने ४ जना स्पेन घुम्न जान पाउने
काठमाडाैं । डिशहोमले दशैंतहिरलाई लक्षित गर्दै ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन अफर ल्याएकाे छ । यस अफर अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । असोज ११ गते देखि लागेकाे यो योजना अन्तरगत स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । उक्त लक्की ड्र को प्रत्यक्ष प्रसारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ । लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेको छ । डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।