एनटीएका अध्यक्षलाई सञ्चार सचिवको प्रश्न- एमडीएमएसको भाका कति सार्नुभएको ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव डा. बैकुष्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) जडानको भाका मात्रै सार्ने गरेको बताएका छन् । शुक्रबार प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरणले सो प्रविधि जडानको भाका मात्रै सार्दै आएको बताए । ‘यसअघि पुस मसान्तभित्रै आवश्यक उपकरण जडान सकेर एमडीएमएस पूर्ण रुपमा सञ्चालनमा ल्याइसक्ने बताईएको थियो, अहिले प्राधिकणका अध्यक्षज्यूले आगामी बैशाखभित्रै सञ्चालनमा ल्याइने बताउनुभयो, कामभन्दा धेरै भाका सार्ने मात्र काम बढी भयो, अब भाका नसारी छिटो सो प्रविधि जडान गरी सञ्चालनमा ल्याउनुस’, उनले भने । अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडानमा ढिलाई हुँदा नेपालमा अनौतिक गतिविधिमा बृद्धि हुन थालेको उनको भनाई छ । ‘अहिले हामी सबै जना मोबाइलकै भरमा हुन्छौँ, मेरो पनि अधिकाश अतिआवश्यक डेटाहरु मोबाइल फोनमा नै हुन्छन, मोबाइल हरायो वा कसैले केही गर्र्याे भने जिम्मेवारी कस्ले लिने’, प्राधिकरणका अध्यक्षलाई प्रश्न गर्दै उनले भने । प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी नयाँ वर्ष २०७९ को सुरुवातसँग नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने बताए । प्राधिकरणले आवश्यक सम्पूर्ण तयारी गरेको भन्दै वैशाख १ गतेबाट सो प्रविधि सञ्चालनमा आउने उनको भनाई थियो । प्राधिकरणले गत साउन १ देखि आईएमईआई नम्बर अनिवार्य गर्दै एमडीएमएस प्रणाली प्रारम्भिक रुपमा सुरु गरेको थियो । सुरुवाती चरणमा केही उपकरण जडानमा ढिलाई भएको भन्दै पुस मसान्तभित्र सञ्चालनमा ल्याईने बताएपनि सो प्रविधि अझै सञ्चालनमा आउन सकेको छैन् । प्राधिकरणले पटक पटक सञ्चालनको मिति तोकेपछि सञ्चार सचिव डा. अर्यालले भाका धेरै सारेको भन्दै नसार्न भनेका हुन । क्यूईए एप सार्वजनिक २४ औं वार्षिकोत्सवको अवसरमा दूरसञ्चार प्राधिकरणले एनटीए क्यूईए एप सार्वजनिक गरेको छ । मोबाइल सेवा गुणस्तरसम्बन्धी सर्वसाधारणलाई जानकारी दिनका लागि बनाईएको सो एप शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले उद्घाटन गरेका हुन । एपमा प्रयोगकर्ता ३४५६७ सर्टकोड डायल गरी आईभीआर आधारित सर्वेक्षणमा र स्टार ३४५६७ ह्यास डायल गरी युएसएसडीमा आधारित सर्वेक्षणमा सहभागी हुन सक्नेछन् । साथै प्रयोगकर्ता वेबमा आधारित सेवाबाट समेत सर्वेक्षणमा सहभागी हुन सक्ने छन् । मन्त्रीले सार्वजनिक गरेसँगै प्राधिकरणले सो एप प्ले–स्टोरमा उपलब्ध गराएको छ ।

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, बढ्यो नन्स्टप यूट्युबको भोलुम पनि

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै कम्पनीले नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र १४७ रुपैयाँमा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउनेछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको हाे । ग्राहकले *१७१२३# डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि *१७१२३# डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । यी प्याकहरु आज मंगलबार (फागुन १७) बाट लागु हुने कम्पनीले जनाएको छ ।

नेपाल डिजिटल पेमेन्ट्स पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) बीच औपचारिक रुपमा सम्झौता भएको छ । एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस)को पहिलो चरणको थालनीका निम्ति उक्त सम्झौता भएको हो । सो सम्झौतामा एडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेष्ट टु पे तथा ई म्यानडेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ । साथै, विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन पीएसओका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी, दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ । एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कं. लि. र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक/वित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन् ।