अब मिदासबाट सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । मिदास टेक्नोलोजी र सिभिल सर्भिस अस्पतालबीच अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगैं मिदास टेक्नोलोजीको मोबाइल एप्लिकेसनमार्फत सर्भिस अस्पतालसँग दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि अनलाइन अपोइन्टमेन्ट लिन सकिने छ । बानेश्वरमा रहेको सिभिल अस्पतलसँग गरिएको यस सम्झौताले अस्पतालको ओपीडी सेवालाई सहज बनाउनुको साथै अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने मिदासले जनाएको छ । मिदास टेक्नोलोजीले विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्दै आएको छ । यस  कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ । हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि कम्पनीले २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेली कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ । यति मात्र नभई कम्पनीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीलाई दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा निः शुल्क परामर्श सेवा दिँदै आएको छ ।

तीन जिल्लाको सङ्गमस्थल तिलाचन धुरीमा टेलिकमको सेवा सुरु

बागलुङ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो । यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिए । टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन् । यसअघि त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्न सकेको थिएन । मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातीहाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति थियो । लोकमार्गले छिचोलेपछि तिलाचन धुरी र त्यस आसपासमा बढ्दो पर्यटकीय गतिविधि तथा यात्रुको सुविधालाई हेरेर सेवा विस्तार गरिएको प्रमुख शर्माले बताए । त्यहाँ बस्ती भने कम छ । तल्लो भेगका किसान मौसमी रुपमा पशुचौपाया लिएर तिलाचन लेक जाने गर्छन् । पहिले पहिले तीनै जिल्लाका गोठालाको बसोबास क्षेत्रका रुपमा पनि त्यो ठाउँलाई चिनिन्थ्यो । ‘मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ’, प्रमुख शर्माले भने । उनले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पुर्याउने अभियानमा आफूहरु लागिपरेको बताए । पहिलो पटक टेलिकमको सेवा पुगेपछि तिलाचन धुरीको नजिक बसोबास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी छन् । भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ । लोकमार्गदेखि खच्चरमा उपकरण र सामग्री बोकाएर टेलिकमले तीन हजार ४०० मिटर उचाइको धुरीमा टावरको संरचना खडा गरेको थियो । अहिले दिइएको सेवालाई थप गुणस्तरीय बनाउन पछि उपकरण र प्रविधि थपिने टेलिकमले जनाएको छ । विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ । मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए । उनले पछिल्लो समय त्यस ठाउँमा घुमफिर, वनभोजलगायत मनोरञ्जनका लागि आउनेको सङ्ख्या बढ्दो छ । त्यहाँ रहेका रिगा र तिलाचन तालले पनि पर्यटकीय आकर्षण थपेको छ । मनोरम भू–बनोट, गाउँले जनजीवन, प्राकृतिक सुन्दरता र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । लोकमार्ग कालोपत्र भएपछि पर्यटकको आउजाउसमेत सहज बनेको छ । बागलुङ सदरमुकामदेखि १४२ किमिमा पातीहाल्ने पर्छ ।

राष्ट्र बैंकले किन गर्यो जीएमई पेको अनुमतिपत्र खारेज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी जी एम ई पेको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै जीएमई पेको अनुमतिपत्र खारेज गरेको जानकारी गराएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलका अनुसार विद्युतीय भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको एक वर्ष पुरा भइसक्दा पनि सेवा सुचारु गर्न नसकेपछि जीएमई पेलाई खारेज गरिएको हो । उनले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को ‘क’ मा रहेको व्यवस्था बमोजिम कम्पनीलाई खारेज गरेका बताए । कम्पनीले २०७७ असोज २२ गते भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको थियो ।