इभो स्टोरबाट आइफोन १३ किन्नेले एक वर्ष नि:शुल्क टेलिकमकाे डाटा पाउने
काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक विक्रेता इभोलुसन ट्रेडिङबीच एप्पलको मोबाइल फोन खरिदकर्ताहरुका लागि डाटा प्याकेज उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इभोलुसन ट्रेडिङ९इभो स्टोर०का काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकले प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क पाउनेछन् । नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ । उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टाेर मार्फत निःशुल्क उपलब्ध गराउने छ । यो सिममा मेन व्यालेन्स १० र थप व्यालेन्स ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।
गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्
काठमाडौं । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन् । सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर (निःशुल्क फोन लाग्ने) र भाइबर हेल्प डेस्क सुरु गरेको जनाएको छ । जसअनुसार अब नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले एपमा समस्या आए ११०१ मा फोन गरेर गुनासो टिपाउन सक्नुहुनेछ । यस्तै, एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर ९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज ९मार्फत० टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमार्फत सवारी साधनको राजस्व तथा लाइसेन्स नवीकरण, पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम राखिएको छ । एपबाटै क्युआर स्क्यान गरेर विभिन्न बैंकमा खाता खोल्न समेत सकिन्छ । सुरुआती चरणमा गृहमन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिने छन् । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने तयारी गरेको छ ।
भाटभटेनीमा क्यूआर उद्घाटन गर्दै गभर्नरले भने- डिजिटल कारोबारलाई इग्नोर गरे अघि बढ्न सक्दैनौं
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीबार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् । उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजीटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्ने बताए । उनले क्यूआर कोर्ड मार्फत् भूक्तानी गर्दा समयको वचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने बताए । ‘आज हामीले क्यूआरको उद्घाटन गरिरहेका छौँ, विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्यूआरको फाइदा धेरै छ, समयको बचत छ, काउण्टरमा बस्ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्शन सेटल हुन समय लाग्छ, क्यूआरबाट किन्यौँ, केही झन्झट नै छैन, क्यासको कारोबारमा बैंकसम्म पुग्नुपरेन, एक जनासँग कारोबार गर्दा क्यूआरबाट पाँच जनासँग कारोबार गर्न सकिन्छ, डिजिटल फाइनान्सियल सर्भिसलाई इग्नोर गरेमा कहिल्यै पनि अघि बढ्न सम्भव हुँदैन । नेपाल राष्ट्र बैंकले यसलाई प्रोत्साहित गरिरहेको छ, सबैले आफ्नो ठाउँबाट काम गर्ने हो भने डिजिटल नेपालको अभियान चाँडै नै पूरा गर्नेछौँ, हामीले एक खालको इको सिस्टम बनाउनुछ, नेपालको सन्दर्भमा, नेपालको राष्ट्रिय हीतको सन्दर्भमा यसको विशेष महत्व छ, यसबाट आन्तरिक लाभ धेरै छ’, गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले क्यूआर कोर्डको महत्व नेपालको राष्ट्रिय हीतको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए ।