बिटक्वाइनलाई नेपालभित्र प्रयोग गर्न नपाउने गरी बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ ।  प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयको मन्त्रिस्तरिय निर्णयको अनुरोधमा प्राधिकरणले यस्ता एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई ताकेता गरेको हो ।

पहिल्यै सुचना चुहिदा टेलिकको सेयर मूल्य एक वर्षमै दोब्बर, कति दिदैछ बोनस सेयर ?

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिइनेछ । संचालक समितिको यो निर्णय सम्बन्धित नियामक निकायको स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जानेछ । कम्पनीले आगामी चैत २४ गते वार्षिक साधारणसभा बोलाएको छ । टेलिकमको बोनस सेयर चैत ९ सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् । कम्पनीको अहिले चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । २० प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीमा सरकारको ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । कम्पनीले बोनस सेयर दिएपछि सरकारले पाउने नगद लाभांश कम हुनेछ । सरकारका आम्दानीका स्रोत खुम्चिएर राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था भएको समयमा राम्रो नाफा गरिरहेका कम्पनीबाट सरकारले नगद लाभांश नपाउने अवस्था सिर्जना हुँदा सरकारको आम्दानी प्रभावित हुनेछ । यद्यपि, टेलिकमले बोनस सेयर दिएको भने यो पहिलो पटक हो । यसअघि कम्पनीले नगद लाभांश मात्रै दिएको इतिहास छ । टेलिकमले यसपाली बोनस सेयर दिदैछ भन्ने सु्चना पहिला नै बाहिरिएको थियो । यसरी सुचना वाहिरिएपछि कम्पनीको सेयर मूल्य बढेको देखिन्छ । गत जनवरी २ मा टेलिकमको सेयर मूल्य प्रतिकित्ता १३०३ रुपैयाँ थियो । कम्पनीले बोनस सेयर दिदैछ भन्ने सुचना बाहिरिएपछि मूल्य बढेर २२ फेब्रुअरीमा प्रतिकित्ता १७९९.९ रुपैयाँसम्म पुग्यो । एक वर्षको बीचमा कम्पनीको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता ९७२ रुपैयाँ थियो । मार्च १४ (हिजो) कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२९.९ रुपैयाँसम्म पुगेको थियो भने प्रतिकित्ता १७१४ मा कारोबार बन्द भएको थियो । कम्पनीले बोनस सेयर दिने हल्ला चलेपछि एक वर्षको अवधिमा सेयर मूल्य करिब दोब्बर भएपनि कम्पनीले दिने लाभांश भने घट्न थालेको छ । कम्पनीले यसअघि ५० प्रतिशतभन्दा बढीको लाभांश दिने गरेको भएपनि यसपाली भने ४० प्रतिशत मात्रै दिने घोषणा गरेको छ ।

यस्ता छन् एनसीएचएलले सुरु गरेको नेपालपे क्यूआरको विशेषता ?

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको सुरुवात भएको छ । अब नेपालपे क्यूआरपेमार्फत पनि नेपाल सरकारको राजस्व भुक्तानी समेत गर्न मिल्ने भएको छ । यसअघि कनेक्ट आईपीएसमार्फत मात्रै तिर्न सकिने अवस्था थियो । एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याएकाे हो । हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ, जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ । हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्नेगरी व्यवस्था मिलाइएको छ, जस अन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलीपे र नेपाल पे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ । हाल उक्त बैंक वित्तीय संस्था र पीएसपीले नेपाल पे क्यूआरमा ५ हजारभन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । हालसम्म हिमालय बैंक, सानिमा बैंक,, समृद्धि फाइनान्स, कनेक्ट आईपीएस लगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिनेछ । यी सबै एपहरूको हाल कूल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन्, जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले कनेक्ट आईपीएसमा आवद्ध भएका बैंक वित्तीय संस्था यसमा आवद्ध भएर काम गर्न सक्ने बताए । ‘अहिले लागु भएको एउटै क्यूआरभित्र मल्टिपल क्यूआर सञ्चालन गर्न सकिनेछ, यसले ग्राहकलाई पनि सहज हुन्छ, बैंक तथा वित्तीय संस्थाले धेर्रै क्यूआर दिन आवश्यक हुँदैन, यो अनलाइन अनलाइन पेमेन्ट गेटवेमा पनि लागु हुन्छ, पछि गएर अन्य नेटवर्कमा पनि चल्नेछ,’ उनले भने । उनका अनुसार यसमा हालसम्म ४० वटा बैंक तथा वित्तीय संस्था बैंक ६ वालेट जोडिसेकेका छन् भने ६ संस्थाले काम पनि सुरु गरिसकेका छन् ।