हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने । त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पूरै ढाकिएको छ । रुखसमेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् । बुधबार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदीका बलबहादुर विकले बताए । समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ । गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ । चिसो र हिमपातले बालबालिका, वृद्धवृद्धालाई जोखिम मुस्किल भएको छ । गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ । गूर्जामा लगातार हिमपात भए करिब चार फिटसम्म हिउँ जम्ने गरेको छ ।
माघ १८ गतेदेखि क्यान इन्फोटेक मेला
काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन तथा त्यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तक्र्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको मेलाका लागि अन्तिम तयारी गरिएको हो । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुपमा आयोजना गरिने क्यान महासङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । इन्फोटेकको २७औैँ संस्करण गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म गर्न तयारी गरिए पनि कोभिड–१९ महामारीको दोस्रो लहरका कारण स्थगित गरिएको थियो । प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धी कम्पनीको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला उपकरण अवलोकन तथा खरिद गर्न पाउने महासङ्घका महासचिव नारायण थापाले बताए । प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन् । इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, सिसिटिभी र हार्डडिस्क, आइओटी राख्ने भएका छन् । त्यस्तै आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर , स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् । क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ । क्यान इन्फोटेक २०२२ का लागि सोमबारदेखि स्टल बुकिङ खुला हुने जनाइएको छ । सन १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुआत गरेकामा सन २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी मानिन्छ । रासस
भुक्तानी सेवा प्रदायकले मासिक रुपमा काराेबार राष्ट्र बैंकमा बुझाउनु पर्ने
काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण बुझाउन निर्देशन जारी गरेको हाे । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा रहेको व्यवस्थामा संशोधन गर्दै नयाँ व्यवस्था राखिएको जनाएको छ । नयाँ निर्देशनअनुसार शाखारहित बैंकिङ केन्द्रको विवरण र एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालनमा आएको ७ दिनभित्र बैंकलाई बुझाउनुपर्नेछ । यस्तै, भुक्तानीसम्बन्धी कार्य गर्ने सबै संस्थाहरूलाई महिना सकिएको ७ दिनभित्र भुक्तानीसम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ । शाखारहित बैंकिङ केन्द्रको विवरण, एटीएम मेसिन रहेको स्थान, शाखारहित बैंकिङ केन्द्रहरु तथा विद्युतीय कार्डको विवरण, इ बैंकिङ, भुक्तानी सेवा प्रदायकको कारोबार, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बधी विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसावकिताव, भुक्तानी सेवा प्रदायकको ग्राहक, सञ्चालकको कारोबार र भुक्तानी प्रणाली सञ्चालकको सफल र असफल कारोबार महिना सकिएको ७ दिनभित्र बुझाइसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तै, भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबार, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरणहरु महिना सकिएको ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।