सुनिल पौडेल बने नेपाल टेलिकमको एमडी, पहिलो पटक संस्थाभन्दा बाहिरबाट नियुक्ती

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्त गरेकाे छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले पौडेललाई एमडीमा नियुक्त गरेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा उनी एमडीमा नियुक्त भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको छनौट समितिले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्न संगीता पहाडी, सुनिल पौडेल र बुद्धि आचार्यको नाम सिफारिस गरेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । टेलिकमको प्रबन्ध निर्देशकबाट डिल्लीराम अधिकारी गत पुस २२ मा सेवानिवृत्त भएका थिए। अधिकारी रिटायर भएयता टेलिकमको कायमुकायक प्रबन्ध निर्देशकको जिम्मेवारी प्रतिभा वैद्यले सम्हाल्दै आएकी छन् ।

टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार तीन जनाको नाम मन्त्रीपरिषद् बैठकमा सिफारिस गरेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयले पठाएको तीन जनामध्येबाट एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक छनोट गर्नेछ । मन्त्रालयले छनोटमा परेका ९ जनामध्येबाट बुद्धि आचार्य, संगीता पहाडी र सुनिल पौडेलको नाम सिफारिस गरेको हो । मन्त्रालयले रिक्त रहेको प्रबन्ध निर्देशकका लागि गत मंसिर २२ गते सूचना सार्वजनिक गरेको थियो । यसअघि मन्त्रालयले आवेदन दिएका मध्येबाट गोरखा सिराञ्चोकका अर्जुृनबाबु ढकाल, काठमाडौंका अमलेन्दु नारायण सिंह, गन्यापधुरा डडेल्धुराका दीपक बहादुर शाही, काठमाडौंका नगेन्द्रकुमार दास, सिद्धार्थनगर रुपन्देहीका प्रदीपराज उपाध्याय, काठमाडौं टोखाका बुद्धिप्रसाद अचार्य, खैरेनिटार तनहुँका सुनिल पौडेल, महालक्ष्मी ललितपुरका सुरजसिंह थापा र काठमाडौंकी संगीता पहाडी अर्याललाई छनोट गरी अन्तवार्तामा बोलाएको थियो । अन्तवार्तामा सहभागी भएकामध्ये संगीता पहाडी र सुरजसिंह थापा टेलिकमका कर्मचारी, आचार्य टेलिकमका पूर्व प्रबन्ध निर्देशक तथा दास र उपाध्याय पूर्व कर्मचारी हुन । यस्तैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका सुनिल पौडेल, काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाही रहेका छन् । टेलिकम गएको पुस २२ देखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिन लाग्दै गर्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको भएतापनि अदालतमा रिट दायर भएसँगै रोकिएको थियो । टेलिकम प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो । सर्वाेच्चले रिट खारेज गरेसँगै मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको हो ।

महेन्द्रनगरमा डिशहोम फाइवरनेटको शोरुम

महेन्द्रनगर । डिशहोम फाइवरनेटको बिक्री तथा सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरस्थित तिलाचौमा शोरुमको उद्घ्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन मौभेरा मनि ट्रान्स्फरले गर्नेछ । शोरुम उद्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मीदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो । १०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको मौभेरा मनि ट्रान्स्फरले अझ बढी ग्राहकहरूको माझ पुग्नने डिशहोमले विश्वास लिएको छ ।