४५ करोडले घट्यो टेलिकमको नाफा

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा करिब ४५ करोड रुपैयाँले घटेको हो । नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्म ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा टेलिकमले गरेको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले कम हो । नाफा घट्नको मूख्य कारण कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा भएको कमि तथा कोभिड लक्षित संचालन भएको धेरै कम दरका डाटा प्याकेजहरु भएको टेलिकमले जनाएको छ । यसका साथै मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि, चिपसेटको अभाव, अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई जस्ता कारण रहेको टेलिकमले स्पष्टिकरण दिएको छ । गत आवको तेस्राे त्रैमाससम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ रहेकोमा चालु आव.को सोही अवधिसम्ममा ७६ करोड ८२ लाख ५९ हजार रुपैयाँ (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेकाे छ । गत आवको तेस्राे त्रैमाससम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार रुपैयाँ (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको टेलिकमले जानकारी दिएकाे छ ।

चुनावमा एनसेलको रिचार्ज गर्दा बोनस

काठमाडौं । एनसेलले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्नेछन् । यो अफर वैशाख २३ देखि ३० गतेसम्म चल्नेछ । जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५०देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २००एमबी डेटा पाउँछन् ।त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउनेछन् ।

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न सरकारलाई चुनौती

social media काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो । उक्त समयमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई निर्वाचनसम्बन्धी भेला, घरदैलो प्रचारप्रसार गर्नसमेत रोक लगाएको छ । यस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चारमाध्यममा पनि मौन अवधिमा कुनै पनि पार्टी र उम्मेदवारका सम्बन्धमा समाचार प्रकाशित गर्न नपाइने उल्लेख छ । सञ्चारमाध्ययमा मौन अवधि लागू भए पनि आयोगलाई भने सामाजिक सञ्जाललाई नियन्त्रण गर्न चुनौती हुने देखिन्छ । निर्वाचनको बेला अन्य देशमा पनि मौन अवधिमा रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई नियन्त्रण गरेपनि सामाजिक सञ्जाललाई भने नियन्त्रण गर्न नसकेको पाइएको छ । निर्वाचनको समयमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्न सकिएपनि सामाजिक सञ्जाललाई भने संसारमा नै चुनौती रहेको छ । फेसबुक, ट्वीटर, टिकटकलगायत सामाजिक सञ्जालबाट हुने प्रचारलाई भने मौन अवधिमा रोक्नका लागि चुनौति रहेको बताइन्छ । आयोगले मौन अवधिमा विशेष गरी सामाजिक सञ्जालमा प्रचारप्रसारलगायतका काम नगर्न उम्मेदवार र तिनका समर्थकलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक संजाल अनुगमन गर्न संयन्त्र बनाएपनि मौन अवधिमा प्रचारका काम रोक्न चुनौति रहेको बताए । आयोगले समाजिक सञ्जाललाई नियन्त्रणमा ल्याउन विशेष कमिटी बनाएर काम गरिरहेको जनाएको छ । उक्त कमिटीमा नेपाल प्रहरीको साइवर व्युरोका दुई तथा नेपाली सेनाका सूचना विज्ञ रहेका छन् । ‘आयोगसंग सामाजिक सञ्जाललाई नियन्त्रण गर्न विशेष कमिटी भएपनि निकै चुनौति छ’, पौडेलले भने । उनका अनुसार आगोगद्वारा सामाजिक सञ्जालमा आजभन्दा अगाडि राखेको निर्वाचनसम्बन्धी सामग्री हटाउन तथा नयाँ पनि प्रविष्ट (पोष्ट) नगर्न सवैलाई अनुरोध गरिएको छ । ‘सामाजिक सञ्जाल हाम्रो नियन्त्रण भन्दा बाहिर रहेको छ, विदेशमा बसेर पनि चलाउन सकिन्छ’, उनले भने, ‘आयोगले आफ्नो क्षमतालाई भ्याएसम्म सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने काम गर्छौँ, तर कति सम्भव हुन्छ त्यो हेर्न बाँकी नै छ ।’ आयोगले मौन अवधिमा सवैलाई पालना गर्न पनि आग्रह गरेको छ । ‘राजनीतिक दल, सञ्चारमाध्यम, सामाजिक सञ्जाल चलाउने पक्षको मौन अवधिको उल्लंघन गरे भने नैतिकताको प्रश्न आउँछ’, प्रवक्ता पौडेलले थपे, ‘सवैले आचारसंहितामा भएको व्यवस्था पालना गर्नुपर्दछ भन्ने सन्देश जानुपर्दछ ।’ उनका अनुसार सञ्जालमा मौन अवधिमा उम्मेदवारभन्दा पनि कार्यकता र तिनका समर्थकहरूले कुनै अनलाइनमा आएका समाचारलाई पुनः पोस्ट गर्ने जोखिम रहेको देखिन्छ । त्यसैले आयोगले उम्मेदवार र तिनका समर्थकका फेसबुक, ट्वीटर, टिकटकलगायतका पेजमा ‘पोस्ट स्पन्सर’ हुने सक्ने भएकोले सवै उम्मेदवार र तिनका समर्थकलाई मौन अवधि शुरु हुन अगाडि सामाजिक सञ्जालमा त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न नेपाल दुरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ । मौन अवधिमा आयोगले नेपाल टेलिकमलाई एसएमएस सम्बन्धि सेवा नगर्न समेत निर्देशन दिएको छ । त्यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामाध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट गर्न, वा शेयर गर्न, कमेन्ट–प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण गर्न हँुदैन । साथै मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न हुँदैन र निर्वाचनका बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्वीर वा अन्य प्रकाशन छाप्न नहुने आचारसंहितामा उल्लेख छ । सूचना प्रविधि विज्ञ उल्लेख निरौलाले निर्वाचनको मौन अवधिमा आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न नसक्ने बताउँछन् । ‘सामाजिक सञ्जाललाई नियन्त्रण गर्न हामीसँग कुनै त्यस्तो संयन्त्र नै छैन’,, उनले भने, ‘केही दिन अघि भएका समाचारका लिंकलाई समाजिक सञ्जाल प्रयोगकर्ताले पनि फेसवुक, ट्वीटर र टिकटकबाट सेयर गर्न सक्दछन्, त्यसलाई कसरी नियन्त्रण गर्न असम्भव देखिन्छ ।’ उनका अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट प्रसारप्रसार गर्नेलाई नाम तोकेर कारवाही गरे केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । रासस