नेपाल टेलिकमले निर्वाचनकाे अवसरमा ल्यायाे अफर
काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै, ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई पक्राउ गर्ने प्रहरीको त्यो सुत्र
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गर्न न वास्तविक नाम चाहिन्छ न कुनै पहिचान खुल्ने कागजात नै । त्यसकारण क्रिप्टोकरेन्सी कारोबार नेपाल प्रहरीको टाउको दुखाइको विषय बनेको छ । यो कारोबार गोप्य हुने भएकाले सूचनाहरू त्यति सहज रूपमा नपाइने प्रहरीले जनाएको छ । कारोबार गरिएको पैसा कहाँ प्रयोग भएको छ भन्ने पनि खुल्दैन । साथै कोडमार्फत कारोबार भएको हुँदा समस्या हुने गरेको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले हालसम्म तीन पटक गरी कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरिसकेको छ । पहिलो पटक गत माघ पहिलो साता तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । उनीहरू पनि अर्कै केसमा मुद्दा पर्दा क्रिप्टो करेन्सीको कारोबार खुलासा भएको हो । सिराहाका एक व्यक्ति अनलाइन ठगीमा परेका थिए । अमेरिकन क्रूजमा जागिर खाने प्रस्ताव आएपछि सिरहाका ती पीडित आकर्षित भए । त्यसपछि ती अनलाइन ठगीमा संलग्नले भनेअनुसार पैसा जम्मा गर्न थाले पटक-पटक गरेर २० लाख जम्मा गरे तर भनेअनुसार महिनाको ५/६ जागिर भएन । आफू ठगिएको भन्दै उनले प्रहरीमा उजुरी दिए । प्रहरीले अनुसन्धान अघि बढायो । पीडितलाई पैसा जम्मा गर्न लगाइएका विभिन्न बैंक खाता नम्बरका विवरण प्रहरीले माग गर्यो। उनलाई विभिन्न बैंकका १० वटा खातामा पैसा हाल्न लगाइएको रहेछ। सबै विवरण हेर्दा पैसा माग्नेहरू क्रिप्टोकरेन्सीका कारोबारी भएको खुलेको अनुसन्धानमा संलग्न प्रहरीले बताए । अहिलेसम्मको अनुसन्धानबाट नेपालमै रहेर वा विदेशमा रहेर धेरै नेपालीले यो डिजिटल मुद्राको अवैध कारोबार गरिरहेको प्रहरीको । तर यो कारोबार गोप्य तरिकाले हुने भएकाले कति नेपालीले कति रकम यसमा लगानी गरेका छन् भन्ने तथ्यांक प्रहरीसँग छैन। गत फागुनमा डेढ करोड रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक अमितकुमार अग्रवाल र बिक्की खड्गीलगायतले गैरकानुनी रुपमा वित्तीय कारोबार गर्दै आइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो । अग्रवालको डेरा प्रहरीले खानतलासी गर्दा १ करोड ५० लाख रुपैयाँ फेला पारेको थियो । उनीहरूले क्रिप्टोकरेन्सीसँगै हुन्डी कारोबारसमेत गरेको प्रहरीले जनाएको छ । यसरी दुई पटक उजुरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरिसकेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानको दायरा बढायो । ‘कारोबार गर्दा कोडबाहेक केही नहुने रहेछ । न फोटो न डकुमेन्ट, प्रहरीले अनुमानको भरमा केही गर्नै नसक्ने भयो । कुनै आधार नभएपछि हामीले कारोबारमा संलग्नलाई नै प्रयोग गर्यो ’ काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले भने । प्रहरीसँग दक्ष जनशक्ति नहुनु र क्रिप्टोकरेन्सीको कारोबार एउटा डिजिटल कोडबाट मात्र हुँदा समस्या भएपछि प्रहरीले कारोबारमा संलग्नलाई नै प्रयोग गरेको जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्ने र व्यवसाय सञ्चालन गर्नेमाथि कारबाही अघि बढाउने चेतावनी दिँदै फागुन १ गते सूचना निकाल्यो । त्यसपछि प्रहरीले निगरानी बढायो । केही क्रिप्टोकरेन्सी कारोबारीहरू आफूलाई कानुनी रुपमा थाहा नभएकोले केही लगानी गरेको अब नगर्ने भन्दै कारोबार नगर्नेहरू साना कारोबारीलाई नै प्रहरीले प्रयोग गरेर अर्को समूहलाई पक्राउ गर्यो त्यसपछि गत वैशाख ५ मा प्रहरीले विनाउजुरी करिब ६७ करोडको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । उनीहरूले बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै पक्राउ गरेको हो । कारोबार गरेर छोडेकाको सहयोगमा उनीहरूलाई करोड कारोबार हजारौं पटक कारोबारसहित पक्राउ गरिकएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीका अनुसार उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका थिए । झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचानलाई पक्राउ गरेको थियो । उजुरी वा सूचना नि नपर्नु अनि आफ्नै प्रयासमा प्रकाउ गरिएको भन्दै अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक कोइराला यसलाई ठूलो सफलता मान्छन् । यसअघि दुई पटक पक्राउ परेकासँग प्रत्यक्ष संलग्नता कतै नभेटिएकोले यस्ता समूह धेरै हुनसक्ने प्रहरीको अनुमान छ । तर बैंक खाता वा रेमिट्यान्सजस्तो कुनै कागजात पेस गर्नु नपरेकोले प्रहरीलाई यसबारे अनुसन्धान गर्न चुनौती छ । क्रिप्टोकरेन्सी वा डिजिटल अपराधसम्बन्धी नेपालमा स्पष्ट कानुन नभएकोले प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धान गर्दै आएको छ । पक्राउ परेका, अनुप मिश्रले सन् २०२१ देखि हालसम्म बाइनान्स एकाउन्ट प्रयोग गरी विभिन्न २० प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले ३५ करोड ४६ लाख ८३ हजार बराबरको कारोबार थिए । त्यस्तै, दिपेश थापाले पनि सन् २०२१ देखि हालसम्म विभिन्न ७ प्रकारका क्रिप्टोकरेन्सीमार्फत जम्मा २४ करोड २९ लाख ५६ हजार बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै, राहुल चचानले करिब १ वर्षअघिदेखि हालसम्म विभिन्न २० प्रकारका क्रिप्टोकरेन्सीबाट ६ करोड ५३ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिको छ । उनीहरूलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाइनको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । क्रिप्टो करेन्सीबारे चिन्ता गर्दै यसअघि पूर्वअर्थमन्त्री तथा राष्ट्र ब्याङ्कका पूर्वगभर्नर युवराज खतिवडाले एक कार्यक्रममा क्रिप्टोकरेन्सीका कारण विप्रेषण अर्थात् रेमिट्यान्स घटेको हुनसक्ने बताएका थिए । साथै क्रिप्टोकरेन्सीमा लगानी भइरह्यो भने भोलिका दिनमा रेमिट्यान्स समेत नभित्रिने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ । क्रिप्टोकरेन्सी भर्चूअल मुद्रा हो । भौतिक रूपमा देख्न वा छुन नसकिने तर पनि मूल्य तोकिएको हुन्छ । साथै यस मुद्राको कुनै केन्द्रीय बैंक वा नियमन गर्ने कुनै निकाय हुँदैन। डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ। तर यही डिजिटल क्रिप्टोकरेन्सीको प्रयोग गरेर सामान किन्न वा भुक्तानी गर्न सकिने भएकोले संसारभर यसमा लगानी गर्नेहरू बढ्दो । कुनै देशले पूरै प्रतिबन्ध लगाएको छ भने कुनै देशले वैधानिकता दिएको छ । एल साल्भाडोरल भन्ने देशले क्रिप्टोकरेन्सीलाई मुद्राको रुपमा नै कानूनी मान्यता दिइसकेको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, डेनमार्क, स्पेन, फ्रान्सलगायतका देशले यसलाई डिजिटल रकमको रुपमा स्वीकार्न थालेका छन् । तर संसारका नेपालसहित ९ देशमा यो प्रतिबन्धित छन् । अवैध धन्दाको रुपमा लिने देशहरूमा चीन, बङ्गलादेश, अल्जेरिया, इजिप्ट, इराक, मोरोक्को, कतार र ट्युनिसिया छन् भने ४२ वटा देशले क्रिप्टोकरेन्सी कारोबारलाई निहित प्रतिबन्धको रुपमा उपयोग गरिरहेका छन् ।
अनलाइन ठगीको रकम हुन्डी कारोबारमा, दुई अपराधको फ्युजनले प्रहरी तनावमा
काठमाडौं । गाडी ग्यारेजमा काम गर्ने एक नेपाली आफ्नै बुलबुतामा काम गरिरहेको हुन्छ । उसको तलबले सामान्य खान लाउन पुगेकै छ । एकदिन ह्वाट्स एपमा अपरिचितसँग कुरा हुन्छ । केहीदिनको बोलचालपछि आफू भारतीय नागरिक भएको बताउँछन् । आफूले नेपालमा व्यापार गर्न लागेको जसको लागि चार वटा बैंक खाता भएको मान्छे चाहियो कुरा उसलाई सुनाउँछ । गाडी ग्यारेजमा सामान्य काम गरेर बसिरहेको व्यक्तिलाई काम खासै गर्नु नपर्ने र मासिक २० हजार रुपैयाँ तलब आउने प्रस्तावले सहजै लोभ्याउँछ । फेरि उसैले खोलेको बैंक खातामा धेरै रकम आउने त्यसमा २० हजार तलब वापत आफैले कटाएर बाँकी रकम त्यो व्यक्तिको खातामा जम्मा गरिदिनुपर्ने प्रस्तावले उसलाई शंका गर्ने ठाउँ पनि त्यति दिँदैन । तलबबारे र कामबारे सोध्दा आफ्नो खातामा पैसा आउँछ । मासिक २० हजार खर्च कटाएर मैले भनेको खातामा पैसा जम्मा गर्नु केही गर्नुपर्दैन भनेर उसलाई प्रस्ताव गर्ने व्यक्तिले सुनाउँछ । त्यसपछि सजिलो जागिर भन्ने थाहा पाएपछि ग्यारेजमा काम गर्ने व्यक्तिले सहमति जनाउछ । उसले बैंक खाता खोल्छ, पैसा जम्मा हुन्छ, जागिर सुरु हुन्छ । तर, केही समयपछि अर्कै परिस्थिति सिर्जना हुन्छ । यहीबीचमा केही नेपाली आफूहरु अनलाइन ठगीमा परेको उजुरी लिएर प्रहरीकोमा जान्छन् । यसरी उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ठगको खोजीमा जुट्छ । र, अनुसन्धान गर्दै जाँदा पैसा ठगी गर्ने व्यक्ति सोही ग्यारेजवाला भएको भेटिन्छ । अनुसन्धानको क्रममा त्यही ग्यारेजमा काम गर्ने व्यक्तिको नाममा अनलाइन ठगी गरेको ३० लाख रुपैयाँ जम्मा भएको देखिन्छ र प्रहरीले उनलाई पक्राउ गर्छ । तर, ठगीको मुख्य योजनाकार भने पक्राउ पर्दैन । विदेशमा बसेर योजना बनाउने, सामान्य नेपाली नागरिकको कागजात प्रयोग गरेर ठगी गर्ने जस्ता कार्य भएकोले मुख्य योजनाकारसम्म पुग्न सहज नभएको प्रहरीले बताउँदै आएको छ । सुचना प्रविधिको दुरुपयोग गरी भइरहेको अनलाइन ठगीको रकम हुन्डी कारोबारमा प्रयोग हुन थालेको छ । हुन्डी कारोबारमा नेपालमा भुक्तानी गर्नुपर्ने रकम यतै अनलाइन ठगीबाट जुटाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको हो । महानगरी अपराध महाशाखाका अनुसार हुन्डीको रकम सिधै नेपाल आउन नपाएपछि नेपालमै ठगी गरेर हुन्डीको भुक्तानी हुने गरेको हो । प्रहरीले अनलाइन ठगीको रकम हुन्डी कारोबारमा प्रयोग भएको फेला पारिसकेको छ । प्रहरीका अनुसार ओमानबाट एक व्यक्तिले हुन्डी मार्फत रकम नेपालमा आफन्तलाई पठाएका थिए । हुन्डी मार्फत आएको रकम पैसा पठाउने व्यक्तिका परिवारले बैंकबाट नै पाए । हुन्डीबाट पठाएको रकम यता बैंक मार्फत भुक्तानी गर्ने प्रयोजनमा अनलाइन ठगीको रकम प्रयोग भएको यस्ता घटनाले पुष्टि गरेको प्रहरीको दाबी छ । प्रहरी अनुसन्धानबाट के खुल्छ भने नेपालीहरूलाई चिठ्ठा पर्यो, पार्सल पठाइदिन्छु, फेसबुक ह्याक,ओपीडी कोडजस्ता कार्यमा ज्ञान नभएका वा फसेकाहरूको रकम पनि सिधै विदेशीको खातामा जम्मा हुँदैन । ती रकम नेपालकै दलालीको खातामा रहन्छ । जब विदेशका काम गर्ने नेपालीले हुन्डीबाट रकम पठाउछन् । तब यही नेपालीलाई नै भाइबर, ह्वाट एप, इमो, म्यासेन्जर जस्ता अनलाइन ठगीबाट ठगिएकाहरूको रकम नै बैंक मार्फत पाउने गरेको नेपाल प्रहरीको अपराध महाशाखाको अनुसन्धानले देखाउँछ । यस कार्यमा अनलाइन ठगीका अन्तराष्ट्रिय गिरोह संलग्न हुने भएकोले प्रहरीको टाउको दुखाइ भएको नेपाल प्रहरीको अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको भनाइ छ । पछिल्लो समय हुन्डी कारोबार मौलाउनुको कारण नै डिजिटल ठगी हो । डिजिटल ठगी यति धेरै मौलाएको छ कि प्रहरी र सरकारले नियन्त्रण गर्न सकेको छैन । नियन्त्रणका लागि नीतिगत व्यवस्था र कानुनको आवश्यकता छ । तर नेपालमा यसबारे कानुन नै नबनेकोले समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता केसको अध्ययन गर्न नीतिगत रुपमै समस्या भएकोले पटक–पटक विभिन्न देशमा सहचारी राख्न नेपाल सरकारसँग माग गरिसकेको छ । प्रहरी स्रोतका अनुसार चार वर्षअघि विभिन्न ६ देशमा र तीन महिनाअघि मात्र खाडी मुलुकहरूमा सहचारी राख्न नेपाल सरकारसँग माग गरेको थियो । तर उक्त माग पूरा हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता कोइरालाका अनुसार समयसापेक्ष अपराध नियन्त्रणका लागि प्रहरी संगठनभित्र दक्ष जनशक्तिसँगै काम गर्ने अधिकारका लागि नीतिगत सुधार ल्याउन आवश्यक छ । प्रहरीले नेपालभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा टेकेर अनुसन्धान र कारबाही गरिरहेको छ भने देशबाहिर रहेका अभियुक्तलाई सोही देशसँगको सहकार्यमा काम गरिरहेको छ ।