इन्टरनेट बेच्ने कम्पनीहरुका अध्यक्ष पराजुलीलाई प्रश्न- गुणस्तरीय इन्टनरनेट कहिले पाइन्छ ?

काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु थपिने क्रममा बृद्धि हुन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १३४ वटा कम्पनीले इन्टरनेट सेवा प्रदायकका रुपमा इजाजत पाइसकेका छन् । नयाँ कम्पनी थपिएसँगै पुराना कम्पनीहरु बन्द समेत हुन थालेका छन् । १३४ सेवा प्रदायक कम्पनीमध्ये ३४ कम्पनीहरु बन्द भैसकेका छन् । इन्टरनेट सञ्चालनका लागि नयाँ कम्पनीहरु थपिएपनि उपभोक्ताले गुणस्तरीय इन्टरनेट पाउन सकेका छैनन् । नयाँ कम्पनी थपिएपनि तीनिहरुले दिने इन्टरनेटको गुुणस्तरका विषयमा विभिन्न समयमा चर्चा परिचर्चा समेत नभएका हैनन् । तर, जति नयाँ कम्पनी थपिएपनि उपभोक्ताले भुक्तानी गरेको मूल्य अनुसारको इन्टरनेट नपाएको गुनासो गर्नेको संख्यामा कमी आएको छैन । विभिन्न कम्पनीले इन्टरनेट शुल्कको विषयमा प्रतिस्पर्धा गरेपनि गुणस्तरमा ध्यान नदिएको उनीहरुको भनाई छ । उपभोक्ताको गुनासो र नेपालको इन्टरनेटको गुणस्तरका विषयमा इन्टरनेट व्यवसायीहरुको छात्रा संगठन इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीसँग हामीले प्रश्न गरेका थियौं । नेपालीले कहिले गुणस्तरीय इन्टरनेट पाउँछन् भन्ने हाम्रो प्रश्न थियो । ‘अहिले इन्टरनेट सेवा प्रदायक कम्पनीहरु थपिने क्रममा बृद्धि हुन थालेको छ । नयाँ कम्पनीहरु मूल्य र अंकमा मात्र प्रतिस्पर्धा गर्दा गुणस्तरमा ध्यान दिएका छैनन्’, उनले भने, ‘पहिलाको तुलनामा अहिले नेपालकोे इन्टरनेटमा केही सुधार आएपनि हुनुपर्ने सुधार भएको छैन् ।’ अध्यक्ष पुराजुलीका अनुसार नेपालमा इन्टरनेटका लागि आवश्यक पर्ने पूर्वाधारको निकै कमी छ । नेपालको भौगोलिक संरचना अनुसारको पूर्वाधार नहुँदा पटक÷पटक इन्टरनेट जडानमा समस्या हुदा समेत गुणस्तरीय इन्टरनेट पाउन नसकिएको उनको भनाई छ । उनले पूर्वाधारसँगै इन्टरनेटमा चर्काे शूल्कका कारण सस्तो भएको दाबी गरे । इन्टरनेटको ब्यान्डविथ आयातमा चर्काे शुल्क लाग्दा पनि संसारको टप टेन महंगोमा नेपालको इन्टरनेट रहेको दाबी गरे । ‘पूर्वाधारको कमीका कारण पनि संसारकै सस्तोको १० औँ नम्बरमा नेपालको इन्टरनेट रहेको छ, त्यो हामीले भनेका होइनौँ, अन्तर्राष्ट्रिय दूरसञ्चार युटिनले सार्वजनिक गरेको प्रतिवेदन हो, इन्टरनेटको कर घट्यो भने झनै सस्तो इन्टरनेट पाइन्छ,’ सुविसु केबलनेटका अध्यक्ष समेत रहेका पराजुलीले भने । उनले ग्राहकको गुनसो हुने गरेपनि पछिल्ला केही वर्षयता नेपालको इन्टरनेट क्षेत्रमा व्यापक विकास भएको दाबी गरे । ‘पहिला इन्टरनेट चलाउन किनै समय लाग्थ्यो, पहिला कम्प्युटरमा इमेल तान्न (डाउनलोड गर्न) ४५ मिनेटलाग्थ्यो, अहिले हामी मोबाइलमा एचडी मुभी हेरेर बस्छौ, यतिसम्म सुधार भएको छ, तर जुन रुपमा हुनुपर्ने हो भइसकेको छैन’, उनले भने । ब्यान्डविथ खपत विस्तारै बढ्न थाल्यो । पहिला १ जिवीपीएसको इन्टरनेट थियो । त्यही हुँदा पनि वाउ क्या फ्रास्ट भनिथ्यो । विस्तार ब्यान्डविथ खपत बढ्न थालेपछि १० जीविपीएस आयो, त्यसपछि अहिले १०० जीविपीएस रहेकोे छ । तर, पनि उपभोक्तालाई इन्टरनेट स्लो भएको अनुभव भएको र सो कुरा स्वभाविक पनि भएको पराजुलीले बताए । उनले सात महिनामा इन्टरनेट ब्यान्डविथका लागि ३ अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको बताउँदै निजी कम्पनी मार्फत मात्रै मासिक ५० करोड रुपैयाँ बाहिरिने गरेको बताए । ४२ प्रतिशत कर इन्टरनेट सेवा प्रदायकहरुले सरकारले इन्टरनेट सेवामा सूर्ति तथा मदिराजन्य वस्तुमा भन्दा चर्काे कर लगाएको भन्दै गुनासो गर्दै आएका छन् । तर, इन्टरनेट सेवा प्रदायकको गुनासो सरकारले सुनेको छैन । यसअघि मंहगो कर भएका भन्दै इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई ज्ञापन पत्र नै बुझाएको थियो । अन्य क्षेत्रमा कर्पाेरेट ट्याक्स २५ प्रतिशत हुँदा इन्टरनेट क्षेत्रमा ४२ प्रतिशत कर भएको सेवा प्रदायकले गुनासो गर्दै आएका छन् । आइस्पानका अध्यक्ष पराजुलीका अनुसार दुरसञ्चार सेवा शुल्क, भ्याट, भन्सार दस्तुर, टीडीएस, रोयल्टी र ग्रामीण दुरसञ्चार विकास कोष आदि सबैमा जोड्दा सुर्ती तथा मदिराजन्य वस्तुमा भन्दा बढी कर इन्टरनेट सेवामा रहेको छ । उनका अनुसार इन्टरनेट सेवा प्रदायकहरुले हाल विभिन्न ८ प्रकारका कर बुझाउँदै आएका छन् । जसमा ब्यान्डविथ आयात बापत १० प्रतिशत टीडीएस, एनएसपीले आइएसपीलाई इन्टरनेट बिक्री गर्दा १० प्रतिशत र एनएसपीले आइएसपीलाई बिक्री गर्दा ६ प्रतिशत (४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ) गरी १६ प्रतिशत कर लगाउँछ । दूरसञ्चार सेवा शुल्कबापत ६ प्रतिशत, रोयल्टीबापत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई वार्षिक ४ प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोषबापत आफ्नो आम्दानीको २ प्रतिशत वार्षिक रूपमा दूरसञ्चार प्राधिकरणलाई बुझाउँदै आएका छन् । त्यस्तै, मूल्य अभिवृद्धि करबापत सेवाप्रदायकले थप १३ प्रतिशत कर र कर्पोरेट ट्याक्स ३० प्रतिशत बुझाउँदै आएका छन् ।

दुई दिनदेखि कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् । शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका दुर्गा बोहोराले बताए । ‘हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रबारदेखि छाडेको छ’, उनले भने, ‘फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।’ सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर राखिएको भए पनि हावाहुरीका कारणले टावरमा समस्या आएको हुँदा मोबाइल फोन गर्न समस्या भएको स्थानीयवासी रामबहादुर सञ्जयालले बताए । ‘दुई दिनदेखि मोबाइलले फोनको काम गरेको छैन्’, उनले भने, ‘टावरमा समस्या आएका कारणले यो समस्या आएको हो कि ?’ पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध हुन पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएका कारण फोन सेवा अवरुद्ध भएको छ’, उनले भने, ‘यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका छौंँ ।’ हावाहुरीका कारणले जिल्लाभरका फोन सेवामा समस्या आएको छ । मोबाइल सेवा र इन्टरनेट सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालीकोटले जनाएको छ । रासस

आइसीटी दिवसको अवसरमा एनटीसीको अफर : ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा

काठमाडाैं । बैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर ल्याएको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर बैशाख १८ देखि बैशाख २४ (मे १ तारिख मे ७ तारिख) सम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ९९ मा उपलब्ध हुंदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यसका लागि सेवाग्राहीले ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ । यस अफरबाट ग्राहकहरुले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।