फेसबुकले हेप्छ नेपाललाई, झुठा र खतरनाक विज्ञापनमा सरकारको छैन चासो

काठमाडौं । नेपाली प्रयोगकर्ताहरुले अधिक प्रयोग गर्ने सामाजिक सञ्जाल मध्ये फेसबुक पनि अग्रपङ्तीमा पर्छ । फेसबुक विश्वका सीमित मुलुकमा बाहेक संसारैभरी फैलिएको सामाजिक सञ्जाल हो । आइटी विज्ञहरुका अनुसार फेसबुक  विश्वका हरेक देशमा फरक–फरक ढंगले प्रस्तुत हुने गर्छ । नेपालमा भने फेसबुकले समाजको मूल्य मान्यता र सुरक्षा जोखिमलाई बेवास्ता गर्दै आफ्नो व्यवसाय गरिरहेको छ । लामो समयदेखि फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपाली प्रयोगकर्ताहरुमाझमा भेरीफाई नगरिएका प्रयोगकर्ताहरुमार्फत झुठा र खतरनाक विज्ञापन गर्न दिएर पैसा आर्जन गर्ने गरेको छ । जसले गर्दा नेपाली प्रयोगकर्ता, संस्थागत क्षेत्र र सरकारी क्षेत्रका तथ्यांक जोखिममा पर्दै गएका छन् । उदाहरणका रुपमा पछिल्लो समयमा ओपन एआई र च्याटजिपिटीका सफ्टवेयर डाउनलोड गर्नुहोस् भनेर विभिन्न फेक एकाउन्टका स्पोन्सर विज्ञापन फेसबुकको वालमा छ्यापछ्यापती आउने गरेका छन् । जसलाई प्रयोगकर्ताले अन्जानवस क्लिक गर्यो भने मोवाइल वा कम्प्युटरमा डाउनलोड भैहाल्ने र अन्य सफ्टवेयरहरुको तुलनामा छिटो छरितो तबरले इन्स्टल भएर प्रयोगकर्ताको डाटा चोरी हुने खतरा बढेको छ । ओपन एआई बाहेक पनि फेसबुकले कम्प्युटर, ल्यापटप र मोबाइलको डाटा चोरी गर्न सक्ने सफ्टवेयर डाउनलोड गर्ने प्रकारका अन्य खतरनाक विज्ञापन गर्ने गर्छ । कम्प्युटर ब्राउजरमा फेसबुक खोल्दा स्क्रोलको क्रममा देखिने विज्ञापनलाई रिपोर्ट गर्न मिल्ने भएपनि दायाँ साइडमा लुकाउन वा रिपार्ट गर्न नमिल्ने गरीपनि विज्ञापन राखिएको हुन्छ । केही समय अगाडि चेथसेरा नामक फेसबुक ह्यान्डलबाट डा. भगवान कोइरालाको तस्बिर जोडेर खुट्टामा आउने ढुसीको स्पोन्सर विज्ञापन गरिएको थियो । जसका विरुद्ध डा. कोइरालाले प्रहरीसमक्ष उजुरी समेत गरेका थिए । जबकी चेथसेरा नामक फेसबुक ह्यान्डल फेसबुकमा भेरिफाइड नभएको एउटा फेक एकाउन्टको रुपमा प्रयोग गरिएको थियो । त्यस्तै, केही समय अगाडि प्राइभेट भिडियो भन्दै नेपाली मिडियाको मिल्दो नाम रहेका एकाउन्टबाट केही सेलिब्रेटीको तस्बिर राखेर गलत सूचनाको स्पोन्सर समेत गरिएको थियो । जसमा भाइरसयुक्त फाइलको लिंक समेत राखिएको थियो । मेटा कै अर्को च्याट एप ह्वाट्स एप पनि ठगी गर्नेहरुको राम्रो प्लेटफर्म बनेको छ । ह्वाट्स एप मेसेन्जर प्रयोग गरेर विभिन्न प्रलोभन देखायर थुप्रै मानिसहरु ठग्ने काम समेत भइरहेको छ । अधिकांश साइबर उजुरी फेसबुकसँग सम्बन्धित नेपाल प्रहरी साइबर ब्युरोका अनुसार चालू आर्थिक वर्षको चैत तेस्रो सातासम्म सामाजिक सञ्जाल प्रयोग गरेर भएका चार हजार आठ सय ९१ वटा उजुरी परेका छन् । जसमध्ये फेसबुकको प्रयोगमार्फत भएका घट्नाको मात्रै तीन हजार सात सय ४९ वटा उजुरी परेको छ । त्यस्तै अन्य धेरै उजुरी इन्स्टाग्राम र टिकटक सँग जोडिएका छन् । जसमा क्रमशः ३३४ र ३३४ वटा उजुरी परेका छन् । त्यस्तै, ह्वाट्स एप सँग सम्बन्धित १४४ वटा र भाइबरसँग सम्बन्धित ४ वटा उजुरी परेको ब्युरोले जनाएको छ । ब्यूरोका अनुसार पछिल्लो पाँच वर्षको अवस्थालाई हेर्दा सामाजिक सञ्जालसँग जोडिएका साइबरसँग सम्बन्धित उजुरी वढ्ने क्रम तिव्र बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा ३५७, ०७६/७७ मा २३०१, ०७७/०७८ मा ३९०६, ०७८/०७९ मा ४६८६ र चालु आवको हालसम्म ४८९१ वटा उजुरी परेका छन् । यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरेको दुरुपयोगको उजुरी तथ्यांक हो । सरकारको छैन चासो सामाजिक सञ्जालमा गरिएका झुट्टा विज्ञापनका कारण कैँयन नेपाली प्रयोगकर्ताहरु समस्यामा परेपनि नेपाल सरकारले भने सो विषयमा चासो देखाएको पाईंदैन । सरकारले चासो देखाउने हो भने फेसबुकलाई नेपालमा नियमन गर्न सकिने बताउँछन् आइआइएमएस कलेजमा साइबर सेक्युरिटी अध्यापन गर्ने लेक्चर अपूर्व नेपाल बताउँछन् । ‘नेपाल सरकारले साइबर सेक्युरिटीको विषयलाई गम्भिरतापूर्वक नलिएको कारणले नै फेसबुकले नेपाली प्लेटफर्ममा त्यस्ता प्रकारका विज्ञापन राखेको हो, सरकारले चाह्यो भने यसलाई नियमन गर्न सकिन्छ’, नेपालले भने । अन्य मुलुकहरुले नियम नै बनाएर नियमन गरेको उनले बताए । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपाली सामाजिक सञ्जालमा झुटा एकाउन्टबाट गरिने विज्ञापनलाई नियमन गर्नको लागि एथेस्ट कानून नभएको र छिट्टै बनाउन आवश्यक भएको बताउँछन् । अन्य मुलुकहरुले सामाजिक सञ्जालमा गरिने विज्ञापनबाट राज्यले समेत कर उठाइरहेको सन्दर्भमा नेपालले सामाजिक सञ्जाललाई करको दायरामा समेत ल्याउन सकेको छैन । जसले गर्दा वर्षेनी करोडौं बराबरको कर विज्ञापन कर राज्यले गुमाइरहेको छ । पछिल्लो समयमा सूचना प्रविधि विधेयकको ड्राफ्ट अन्तिम चरणमा भएको र सो ड्राफ्टमा पनि सामाजिक सञ्जाल नियमनको विषय उठाउन खोजिएको उनले बताए । फेसबुकले पटक-पटक, मानवधिकार, प्रजातन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रता जस्ता विषयमा प्रतिवद्धता जनाउने गरेको देखिन्छ, तर नेपाल जस्ता विकासोन्मुख मुलुकको कानूनको फाइदा उठाएर फेसबुकले आफ्ने पहुँचलाई आफ्ना सञ्जालमार्फत अवैध ढंगले आम्दानी गर्ने गरेको छ ।

सस्तो मूल्यमा बिक्रीमा राखि नक्कली विज्ञापन गर्ने अनलाइन सञ्चालक पक्राउ

काठमाडौं । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई मोबाइलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ । उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको जानकारी दिए ।

जीवन विकास लघुवित्तले ७७ ठाउँमा दियो वित्तीय साक्षरता, ४३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै कूल ७७ स्थानमा वित्तीय साक्षरता दिएको थियो । संस्थाका डिजिटल प्रमुख विजय कुमार मण्डलका अनुसार मोरङमा १९, झापामा १२, सुनसरीमा ८, सप्तरीमा ८, सिराहामा ८, धनुषामा ८, महोत्तरीमा ८, बारामा ६ स्थानमा वित्तीय साक्षरता दिइएको हो । सो क्रममा वित्तीय सेवा, सामाजिक सेवा र डिजिटल सेवाबारे जानकारी गराइएको उनले बताए । त्यस्तै, संस्थाले कुल ४३४ जना अति विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको मण्डलले डिजिटल प्रमुख बताए । छात्रवृत्ति पाउनेमा मोरङका ७१, झापाका ७६, सुनसरीका ४०, सप्तरीका ८१, सिराहाका ६९, धनुषाका २३ र महोत्तरीका ७४ विद्यार्थी रहेका छन् । जीवन विकास लघुवित्त संस्थाले समुदायमा आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सो सम्बन्धमा समुदायका स्थानीय निकायका सरोकारवालाहरुलाई समेत जानकारी गराइएको थियो । त्यस्तै, संस्थाले प्रत्येक गोष्ठि कार्यक्रमको अन्तिम सत्रमा शाखा अन्तर्गतका विभिन्न उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरेको छ । त्यसैगरि संस्थाले शाखा अन्तर्गतका अधिकांश दुःखी बिरामी घर परिवारहरुलाई आर्थिक सहयोग समेत गरेको थियो ।