को बन्ला टेलिकमको ४ हजार कर्मचारीको प्रतिनिधि सञ्चालक सदस्य ?

काठमाडौं । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभास साहले उम्मेदवारी दिएका छन् । लामिछानेलाई नेपाल टेलिकम वर्कस युनियनको समर्थन रहेको छ भने पनेरुलाई नेपाल दुरसञ्चार कर्मचारी सङ्घको समर्थन रहेको छ । तीन हजार ८०० भन्दा बढी कर्मचारी मतदाता रहेको निर्वाचन सातवटै प्रदेशबाट भइरहेको छ । राजधानी उपत्यकाका तीन स्थान काठमाडौंको भद्रकालीप्लाजास्थित टेलिकमको केन्द्रीय कार्यालय परिसर, ललितपुरको पाटन र भक्तपुरको गठ्ठाघरमा मतदान भइरहेको छ । त्यस्तै उपत्यका बाहिरका सम्बन्धित प्रदेशस्थित कार्यालयमा मतदान प्रक्रिया भइरहेको टेलिकमले जनाएको छ । टेलिकमको आठ सदस्यीय सञ्चालक समितिमा कर्मचारीकातर्फबाट एक, शेयरहोल्डरमध्येबाट एक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट दुई, अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मन्त्रालयबाट समान एक÷एक र टेलिकमको प्रबन्ध निर्देशकको प्रतिनिधित्व रहने व्यवस्था छ । सञ्चार मन्त्रालयका सचिव टेलिकम सञ्चालक समितिको अध्यक्ष रहन्छन् । टेलिकमभित्र तीन कर्मचारी सङ्गठन सक्रिय छन् । उम्मेदवारमध्ये लामिछाने र पनेरु बलियो प्रतिस्पर्धी रहेको बताइएको छ ।

‘नमस्ते पे’ वालेटमार्फत नेपाल टेलिकमको डाटा र भ्वोइस प्याक किन्न सकिने

काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा एण्ड भ्वोइस प्याकहरु खरदि गर्न सक्नेछन् । यस्तै नमस्ते पे का ग्राहकहरुले आगामी दिनमा टेलिकमको डाटा र भ्वोइस प्याकमा विशेष सहुलियत पाउने कम्पनीले जनाएको छ । एडिपिसी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तिय पहुँच नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।

टेलिकमको टीभी एपको परीक्षण सुरु, च्यानलहरु निःशुल्क हेर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड को प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ । उक्त एपमार्फत एन्ड्रोइड र आइवएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ । यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।