एक्सजीएस-पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो, अब अपलोड र डाउनलोडको स्पिड बराबर
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीएन) नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस-पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी हो । यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्क तथा १.२५ जीबीपीएस अपलिङ्क असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस ( पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ । इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईवर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटर ओएनटीमा जोडिएको हुन्छ । जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्क ब्याण्डविथको क्षमता चार गुणा बढी छ, साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ । ‘सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,’ कम्पनीले भनेको छ,’साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएस-पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ,’ निकट भबिस्य एक्सजीएस-पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जीपोनको लागि पनि आफ्नो पुर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ । यसबाट अब भविष्यमा १ जीपीएसभन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने छ । कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर , भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ । साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा : एमपीएलएस डेटा सेवा दिने छ ।
इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं । इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । दुई कम्पनीबीच सम्झौता भएसँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेशनल एक्सचेन्ज मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ । उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन् । लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यु.ए.ईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिने जनाईएको छ । यस्तै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिने इसेवाले जनाएकोे छ । कम्पनीले इसेवा मनी ट्रान्सफरको “रेमिटोत्सव” योजना चलिरहेको भन्दै युएई स्थित नेपालीहरुले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिने जनाएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका हुन ।
इसेवा मार्फत बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैयाँ क्यासब्याक पाइने
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ । मंगलबार दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा २ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने इसेवाले जनाएको छ । यसैगरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने सो योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०÷२० हजार नगद उपहार प्राप्त गर्नेछन् । उक्त योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।