अब एनसेलका ग्राहकले आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सक्ने

काठमाडौं । एनसेल आजियाटाले बिहीबार एनसेल माई प्लान संचालनमा ल्याएको छ । योसँगै अब एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्नेछन् । एनसेलको अनुसार यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफै बनाएर सेवा लिन सक्नेछन् । ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा संचालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो । इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्नेछन् । माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन् । ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्नेछन्। कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्नेछन् । माइ प्लान करसहित ५०० रुपैयाँ पर्दछ । यसमा ग्राहकले ५०० रुपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्नेछन् । त्यस्तै, फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढि मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्नेछन् । यसका साथै प्लानमा पाइने सेवाहरु बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मुल्य तय हुने र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्ने एनसेलले बताएको छ । माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्नेछन् । कसरी आफ्नो प्याक बनाउने ? एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्नेछन् । उदाहरणको लागि ग्राहकले रु ३०० बराबरको डेटा, रु १५० बराबरको अफ नेट र अन नेट कल र रु ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन् । यो प्याक ३० दिनको समय चक्रमा संचालन हुने हुदाँ आउट गोइङ् सेवामा अवरोध नआवस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नु पर्दछ । ३० दिनको समय अघि नै माई प्लानका सेवाहरुको प्रगोय गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान् शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्नेछन् ।

मन्त्री शर्मा भन्छिन्, ‘सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?’

काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्न विषयमा विज्ञसँग अन्तरक्रिया गरिने प्राधिकरणका निर्देशक दीपेश आचार्यले जानकारी दिए । सम्मेलनमा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ–जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ–जीको अभ्यास’, ‘नेपालमा फाइभ–जीको बजार’लगायत विषयमा वक्ताहरुले प्रस्तुति दिनेछन् । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । उद्घाटनका क्रममा उनले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पु¥याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताइन् । सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिँदै उनले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताइन् । सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उनले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । “दूरसञ्चार क्षेत्रमा देखिएका समस्या, कमीकमजोरी, सुधार्नुपर्ने विषय, सूचना प्रविधि क्षेत्रबाट राजस्व सङ्कलन गर्ने, ‘डिजिटल डिभाइड’ कम गर्ने, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नेलगायत विषयमा सम्मेलनमा घनिभूत छलफल हुनुपर्छ, विगतमा के–के भए त्यसको समीक्षा हुनुपर्छ”, उनले भनिन् । उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताइन् । ‘दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो ? यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ’, मन्त्री शर्माले भनिन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए । डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रुपान्तरणले सहयोग पुर्याएको जनाउँदै दीर्घकालीन पूर्वाधार निर्माणमा प्राधिरकण जुटेको बताए । रासस

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिकमको रोमिङ महसुल ४ गुणा घट्यो

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् । सो निर्देशपछि झण्डै लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट ७ रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट ७ रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस ७ रुपैयाँ नै लाग्ने छ । यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो । त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ । त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति १ सय केवीको ४९ पैसा अर्थात प्रति एमबी ५ रुपैयाँ मात्रै लाग्ने छ ।