भारतमा कल गर्दा सस्तो पर्ने, टेलिकमले ल्यायो अफरसहितको ‘भ्वाइस प्याक’

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ । इन्डिया भ्वाइस प्याक-डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र ७५९ रुपैयाँमा उपलब्ध छन् । एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

नेपाल नाई संघले पायो माछापुच्छ्रेको क्युआर, तीन लाख व्यवसायी लाभान्वित हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो । यससँगै देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने बैंकको विश्वास छ । राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् । उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिजले गरे व्यवसायिक सम्झौता

काठमाडौं । आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)बीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यवसायिक सम्झौता भएको हो । यससँगै आइसीएफसी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ । उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।