डिशहाेममा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने

काठमाडौं । दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना संचालन गरिरहेको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने कम्पनीले जानकारी दिएको छ । डिशहोमले फाईबरमार्फत डिशहोम फाईबरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

एनसेलले ल्यायो तीनवटा मोबाइलमा मात्रै चल्ने भोल्टे सेवा, कुन कुनमा ?

काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् । भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो । हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्छन् । एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स१७२०१ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ । व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयकः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन् । उजले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उहाँले आमसञ्चारमाध्यमलाई स्वच्छ, पारदर्शी, व्यावसायिक, मर्यादित र उत्तरदायी बनाउन, पत्रकारिताको विकास र सम्वद्र्धन गर्न तथा पेशागत आचारण कायम राख्न आवश्यक महसुस गरी सरकारले विधेयक प्रस्तुत गरेको जानकारी दिए । सदनमा विचाराधीन अवस्थामा रहेको विधेयक राष्ट्रियसभामा दफाबार छलफल भई प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो । पत्रकारिताका क्षेत्रमा नियमनका लागि साविकको प्रेस काउन्सिल नेपाल भए पनि यसको कार्यक्षेत्र सीमित रहेको र सञ्चारमाध्यमका सबै विधालाई समेट्न नसकेका सन्दर्भमा यो विधेयक अघि बढाएको मन्त्री कार्कीले बताए । उनले भने, ‘विश्वमा नै यस प्रकारको प्रयोग रहेको छ, आसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन विधेयकको तर्जुमा गरिएको हो । साविकको काउन्सिलले पत्रकारिताका सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले यो विधेयक ल्याउनुपरेको हो ।’ विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवारी अभ्यास बढ्ने र सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न पक्षबीच मतभेद, विवाद र गुनासालाई स्वनियमन प्रणालीद्वारा समाधान गर्न सकिने उनको भनाइ थियो । राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी मन्त्री कार्कीले राखेका प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ । रासस