असार ८ गतेदेखि ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै, विभिन्न देशका आईसीटी विज्ञ आउने

काठमाडौं । असार ८ र ९ गते ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ, २०२३ को हुने भएको छ । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)को आयोजनामा हुने कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी)को पनि आयोजना गर्ने भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आईसीटी फाउन्डेसन नेपालले कन्क्लेभबारे जानकारी दिएको हो । उक्त कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत व्यक्ति रहने छन् । दुई दिने कन्क्लेभमा जापान, दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहने छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने बताइएको छ । द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चारवटा किनोट र मन्त्री रेखा शर्मासँग पावर संवाद सेसन हुने छ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरु रहेका छन् । त्यस्तै, दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन् । कन्क्लेभसँगै अलगरूपमा मिनी मोबाइल वर्ल्ड कंग्रेसको रूपमा ह्वावेले मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने छ । मोबाइल कंग्रेसमा सहभागीले ५ जी एआईसँगै नयाँ प्रविधिहरूको जानकारी पाउने छन् । हावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा छ, त्यसैमा रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको छ ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । डिजिटल रुपान्तरणको प्रयास स्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी ब्यप्तिहरु एकैठाउँमा उपस्थित हुनेछन । शुक्रवार ह्वावे नेपाल कार्यालयमा भएको सम्झौतामा ह्वावे नेपालका सिइओ हवांङ जुन र आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो । डिजिटल नेपाल कन्क्लेभ २०२३ यहि असार ८ र ९ गते सोल्टी काठमाडौंमा आयोजना हुनेछ । कन्क्लेभमा नेपाल बाहेक दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेश, अमेरिका लगायतबाट प्रस्तुतिको लागि बिज्ञहरुको उपस्थिति हुनेछ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ । डिजिटल नेपाल कन्क्लेभको प्रि(इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । यसवर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ । ‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाइ सघाउ पुर्याउने गरि फाउन्डेसनले गतवर्षदेखि सुरु गरेको बृहत सम्मेलन हो । कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेशको पनि आयोजना गर्दैछ, जहाँ फाईभजी, एआइ लगायतका नयाँ प्रविधिहरुको बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ । ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने् विश्वास ह्वावेको रहेको छ ।

अनलाइन जुवा फस्टायो, एउटै व्यक्तिको ६४ करोड रुपैयाँसम्म कारोबार

काठमाडौं । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ । बुधबारमात्रै ५ जना एजेन्ट पक्राउ गरेको प्रहरीले त्यसमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारेको छ । नेपालमा गैरकानुनी रहेको यस अनलाइन खेलको प्रचार–प्रसारमा संलग्न मानिससमेत देखिएकाले उनीहरूको पनि खोजी जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीले बताए । सोही क्रममा कलाकारसहित थप ८ जनालाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ र राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा र सरोज घिमिरे छन् । ‘अपरेशन टोली फिल्डमा गएको छ, केही व्यक्तिहरू पक्राउ परेका छन्, यो क्रम अझै जारी रहन्छ,’ उनले भने । डा.केसीले यसरी प्रचार गर्ने, खेलमा संलग्न हुने र खेलाउने सबै कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । सोही सिलसिलामा अहिले तथ्य अध्ययन पनि भइरहेको उनले बताए । कार्यालयले विगत तीन महिनादेखि सट्टेबाजविरुद्ध अपरेशन चलाउँदै आएको छ । सोही क्रममा प्रहरीले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने वान–एक्स बेटमार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँसम्म अवैध कारोबार गरेको फेला पारेको थियो । कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धिताललगायतका कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रूपमा सक्रिय भएको पाइएको छ । यसरी सट्टेबाजको रकम प्रयोग गर्न उनले ६३ वटा खाता खोलेको भेटिएको छ । उनीसँगै अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूले सट्टेबाजमा ७४ करोड १३ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । उनीहरूलाई कार्यालयले थप अनुसन्धान तथा काराबाहीका लागि प्रहरी परिसरमा बुझाइसकेको छ । पछिल्लो समय अनलाइन माध्यमबाट हुने जुवा (सट्टेबाज)मा संलग्न ब्यक्तिहरु धमाधम प्रक्राउ परिरहेका छन् । प्रविधिको दुरुपयोग गर्दै जुवाको कारोबार विद्युतीय माध्यमबाट भइरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । जसमा भुक्तानी सेवा प्रदायक इसेवा, खल्तीका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि प्रयोग गरेको देखिन्छ ।