नेपाललाई डिजिटल उत्पादन र सफ्टवेयर निर्यातको हव बनाउँछौं : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्रथामिकता दिएको बताएका छन् । आइसिटी फाउन्डेसनले यहाँ आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उनले सरकारले सूचना प्रविधिको प्रवद्र्धन र संरक्षण गर्ने नीति अघि सारेको बताएका हुन् । उनले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित सम्मान दिन नसकेको समेत बताए । अर्थमन्त्री डा.महतले अहिले ठूलो मात्रामा सफ्टवेयर निर्यात पनि भइरहेको बताए । नेपाललाई डिजिटल उत्पादनको हव र सफ्टवेयर निर्यातको हव बनाउने उनको भनाइ छ । कार्यक्रममा सांसद प्रदीप पौडेलले प्रविधिका माध्यमबाट मुलुकको विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रियस्तरमा प्रविधिको विकास द्रूतरूपमा विकास भइरहँदा आत्मसात गर्ने कुरामा नेपाल पछाडि पर्न नहुने उनको भनाइ छ । सांसद सूर्य ढकालले संसद्मा सूचना प्रविधिमैत्री नीति–नियम बनाउन पहल गर्ने बताए । उनले समाज, राजनीति र अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । सांसद शिशिर खनालले संसद्मा समयाभावका कारणले आफूले चाहेर पनि सूचना प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकिएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । २ दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपालका सूचना प्रविधिका क्षेत्रमा विभिन्न चरण समहूगत छलफल भएको थियो ।

ताप्लेजुङको फुङलिङमा एक सातदेखि मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सम्पर्कविहीन भएको छ । मोबाइल सेवा बन्द हुँदा सूचाना आदान–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका–६ का रोशन लिम्बूले बताए । उनले भने, ‘अहिले बाढीपहिरो गइरहेको छ, आफ्ना आफन्तलाई फोन गरौँ भने नेटवर्क छैन ।’ फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयमा समेत टावर अवरुद्ध हुँदा सूचना आदन–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका दिलनकुमार पताङवाले बताए । उनले भने, ‘चार दिन भइसक्यो, गाउँपालिकामा सञ्चारविहीन भएको, सूचना आदन–प्रदान हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाहसमेत सास्ती भएको छ ।’ ताप्लेजुङमा निरन्तर वर्षा क्रम जारी छ । एक सातादेखि घाम लाग्न सकेको छैन । साँझ–बिहान पानी परिहेको छ । बाढीपहिराले कहाँ–कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्नेसमेत सूचना प्राप्त गर्न समस्या भएको पताङवाले बताए । उनले भने, ‘गाउँपालिकामा हामी सञ्चारविहीन भएर बसेका छौँ, न त फोन आउँछ न जान्छ, सूचनाविहीन बस्नुपरेको छ ।’ फक्ताङलुङ गाउँपालिकामा रहेको बाहेक अरु सबै टावर सञ्चालनमा रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । महतोले भने, ‘ताप्लेजुङका टावर सबै सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिकाको मुरिङलामा रहेको टावरमा नै समस्या भएको छ ।’ टावरमा के समस्या आएको हो त्यसको अध्ययन गर्न नेपाल दूरसञ्चार कार्यालय इलामबाट प्राविधिक टोली आएर निरीक्षण गरेपछि मात्र टावर मर्मत हुने सूचना अधिकारी महतोले बताए । उनले भने, ‘हामीले इलाम कार्यालयमा जनाकारी गरिसकेका छौँ । अब कहिले आउँछन् प्राविधिक त्यसपछि सञ्चालन हुन्छ । सञ्चार सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा कठिन भएको गाउँपालिकाले जानएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम साथै बजेट विनियोजनका काम भइरहेको समय समुदायको सल्लाह–सुझाव लिने समयमा गाउँपालिकामा सञ्चारविहीन हुँदा आगामी आवको योजना बनाउन सास्ती भएको गाउँपालिकाले जनाएको छ ।

निजामती प्रशासनमा ‘सूचना प्रविधि सेवा’ थप गरिँदै

काठमाडौं । सरकारले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेगरी निजामती कर्मचारी प्रशासनभित्र नै छुट्टै ‘सूचना प्रविधि सेवा’ थप गर्ने भएको छ । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवस्थापन गर्न र सेवालाई आकर्षक बनाउनका लागि त्यस्तो सेवा थप गर्न लागिएको हो । आजदेखि यहाँ सुरु भएको ‘डिजिटल नेपाल कन्क्लेभ’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ निजामती विधेयकमा अन्य सेवा जस्तै सूचना प्रविधि सेवा थप गर्न लागिएको जानकारी दिइन् । विद्यमान निजामती प्रशासनभित्र सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने जनशक्ति भए पनि सेवामा विविधीकरण नहुँदा कार्यसम्पादनमा समेत असर परेकाले सरकारले त्यस्तो सोच बनाएको मन्त्री शर्माले बताइन् । उनले प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारलाई मुलुकको आर्थिक समृद्धि र नागरिकको सहजताका लागि नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई सरकारले आत्मसात् गरेको बताइन् । निजामती प्रशासनभित्र स्थापना हुने त्यस्तो सेवामा कार्यरत कर्मचारीका लागि विशेष तालिम तथा प्रशिक्षणको व्यवस्थासमेत गरिनेछ । संशोधनका लागि अन्तिम चरणमा पुगेको निजामती विधेयकमा त्यस्तो विशिष्टिकृत सेवा थप गर्दा त्यसको लाभ आमनागरिकले लिन पाउने मन्त्री शर्माको भनाइ छ । उनले सरकारी निकायका कामकारबाहीलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रको सहकार्य हुनेगरी ‘हाइब्रिड मोडल’ अपनाइने र यसरी सेवा प्रवेश गर्ने कर्मचारीलाई थप सेवासुविधा दिइ सरकारको कामलाई परिणाममुखी र जनता केन्द्रित बनाइने बताइन् । सुशासन तथा अनियमितता रोक्न सुरु गरिएको अनलाइन सेवाको काम बास्तविकरुपमा अनलाइनबाट हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सरकारले भौतिक उपस्थितिविना नै काम हुने वातावरण बनाउन लागेको मन्त्री शर्माको भनाइ छ । सरकारले अगाडि सारेको डिजिटल नेपाल अवधारणालाई थप परिमार्जनसहित समयानुकूल बनाएर कार्यान्वयनमा लगिने उनको भनाइ छ । ‘सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक स्रोतसाधनको प्रबन्ध गरेको छ । तर, सूचना प्रविधिका क्षेत्रमा दिनदिनै नयाँ प्रगति हुने भएकाले त्यसलाई सम्बोधन गर्नेगरी अगाडि बढ्ने सोच राखिएको छ’, मन्त्री शर्माले भनिन् । डिजिटल नेपाल अवधारणा कार्यान्वयनका लागि अन्तरसरकारी निकायको समन्वय नै सबैभन्दा महत्वपूर्ण र टड्कारो आवश्यकता रहेको उनले उल्लेख गरिन् । मन्त्रालयले नै त्यसका लागि विशेष परियोजना तय गरेर काम सुरु गरिसकेको जानकारी दिइन् । त्यसैगरी, डिजिटल साक्षरता बढाउने विषय पनि अर्को महत्वपूर्ण काम भएको स्पष्ट पार्दै मन्त्री शर्माले आमनागरिक नै जानकार नहुँदासम्म सरकारले गर्ने लगानीको वास्तविक प्रतिफल प्राप्त हुन नसक्ने बताइन् । यस क्षेत्रमा थप लगानीको विस्तार, अवसरको खोजी तथा खोज र अनुसन्धानका लागि पनि सरकारले योजनाबद्ध प्रयास थालेको मन्त्री शर्माको भनाइ छ । सञ्चारमन्त्री शर्माले साइबर सुरक्षालगायतका विषयमा नयाँ नीति तथा कानुन तयारीको काम धेरै अगाडि बढेको जानकारी दिइन् । उनले विगतमा धेरैजसोको ध्यान सञ्चारका क्षेत्रमा मात्रै हुने र प्रविधिको क्षेत्र छुट्ने गरेको बताउँदै आफूले मन्त्रालय सम्हालेपछि सूचना र प्रविधिलाई नै प्रमुख प्राथमिकतामा राखेर योजना अगाडि बढाएकोसमेत जानकारी दिइन् । सूचना र प्रविधिका क्षेत्रमा उल्लेख्य प्रगति गरेका चीन र भारतजस्ता देशका बीचमा हुनुको फाइदा नेपालले लिएर यसबाट रोजगारीको बढोत्तरी तथा अन्य कामकारबाहीलाई समेत सहज बनाउनुपर्ने उनको भनाइ छ । ‘राम्रा कुरा मुलुकको हितलाई केन्द्रमा राखेर हामीले पनि अनुशरण गर्नुपर्छ । हाम्रो आवश्यकतालाई ध्यान दिँदै विश्वजगतसँगै अगाडि बढ्नु जरुरी भइसकेको छ’, उनले भनिन् । रासस