आजसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएसमा दर्ता हुने
काठमाडाैं । आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने भएकाे छ । प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका सबै मोबाइल सेटलगायत स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने भएकाे हाे ।ऽ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले बिहीबारबाट लागु हुने गरी एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गरे । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ । सोही अवसरमा मन्त्री कार्कीले एमडिएमएस प्रणालीले अवैधरूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उनको भनाइ थियो । उनले केही समयअघि नेपालको अर्थतन्त्रको अवस्था श्रीलङ्काको जस्तो हुन लागेको भनी भ्रम सिर्जना गर्न खोजिएको भन्दै मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत रहेको प्रष्ट पारे । उनले भने, ‘सचेत हुन जरुरी थियो, तर नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुँदैन थियो र श्रीलङ्काको जस्तो हुन पनि दिनुहुन्न, हामीसँग धेरै सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।’ मन्त्री कार्कीले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा समुन्नत नेपाल, समृद्ध नेपाली र आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियामा सम्पन्न मुलुकमध्येका नेपाली चिनाउने अभियान लिएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरे । सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भ उल्लेख गर्दै एमडिएमएस प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिए । ‘सञ्चार प्रविधिको विकासले अहिले संसार नै गाउँमा परिणत भएको छ, त्यसका जति फाइदा छन्, त्यति नै बेफाइदा पनि छन्, त्यसतर्फ पनि सचेत गराउँदै जलस्रोत र पर्यटनको विकास भए जसरी आगामी दिनमा नेपाललाई आइटी हबका रूपमा परिणत गर्न सकेको खण्डमा विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना उत्तिकै छ’, मन्त्री कार्कीले भने । सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले एमडिएमएस प्रणाली सुरु गरेसँगै आउने विविध समस्यालाई पनि सँगै समाधान गर्दै लैजानुपर्नेमा जोड दिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल आयातकर्ता/विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अपिल गरे । सामसुङ मोबाइलको व्यापार गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले एमडिएमएस प्रणालीले मोबाइल बिक्री वितरण क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।
ड्रोन बनाउन चाहनेलाई सफ्टवेरिका कलेजले निःशुल्क वर्कसप गराउने
काठमाडौं । १२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले निःशुल्क ड्रोन वर्कसप गर्ने भएको छ । कलेजमा पढिरहेका विद्यार्थी तथा अन्य कलेजका विद्यार्थी, प्लस टु, ए लेभल, सिबिएसई पूरा गरेका विद्यार्थीहरु वर्कसपमा सहभागी हुन सक्ने कलेजले जनाएको छ । वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इ मा सञ्चालन हुनेछ । ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए । वर्कसपमा सहभागी हुनका लागि विद्यार्थीहरुले यो लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् । र, थप जानकारी ९८४३४७३५१२ मा सम्पर्क गरी लिन सकिने कलेजले जानकारी गराएको छ । कलेजले हालै एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरू गरेको छ । विगतमा कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको अध्ययन गराइरहेको यस कलेजले अहिले स्नातकोत्तर तहको पठनपाठन पनि सोही विश्वविद्यालयको सम्बन्धनमा सुरू गरेको छ ।
आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् । योसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरु दर्ता गर्नुपर्नेछ । त्यसो नगरेको अवस्थामा उक्त मोबाइल फोन नेपालमा चल्ने छैन । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यो प्रणाली लागु गरेको हो ।