अतिआवश्यक सेवा अवरुद्ध नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो । विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको सूचनामा उल्लेख गरिएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ, हवाई सेजा लगायतका अतिआवश्यक सेवाहरु अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको भन्दै विद्युत प्राधिकरणले दूरसंचार सेवा अवरुद्ध गर्ने गरेको प्रति असन्तुष्टी व्यक्त गरेको छ । ‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौँ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वद्ध सम्वन्ध सबै पक्षलाई अनुरोध गरेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलको भाडा भुक्तानी नगरेको भन्दै विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिदै आएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ भित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन नगरे आफै हटाउने चेतावनी दिएको थियो । प्राधिकरणले त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको थियो। प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएकोे हो ।
गम्भीर मोडमा क्रिप्टोकरेन्सी
काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीको दुनियाँले खुसी भएर फर्किएर हेर्न सक्ने वर्ष बन्न सकेन । दुर्घटना, संक्रमण र पतन यति द्रुत गतिमा विकास भयो की वर्षको अन्त्यतिर आइपुग्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीको अस्तित्वको प्रश्न सोध्ने ठाउँमा आइपुग्ने अवस्था बन्यो । सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन आफूले बनाएको ६९ हजार डलर बराबरको मूल्य क्यापबाट गत नोभेम्बरसम्म आउँदा तिन चौथाई भन्दा धेरै गिरावट भयो । २२ हजार टोकन र क्वाइनको मूल्य नोभेम्बर २०२१ देखि अहिलेसम्म आउँदा ३ ट्रिलियन डलरको उचाइबाट एक तिहाइ भन्दा धेरै कममा झर्न पुगेको छ भने धेरैको अवस्था गतिशुन्य अवस्थामा पुगेको छ । सन् २०२२ मा प्रवेश गर्दैगर्दा बिट्क्वाइनले आफूलाई संस्थागत गर्दै क्रिप्टोको क्षेत्रको मुख्य मुलप्रवाहको रुपमा स्थापित गर्ने प्रयास गरेको थियो । विश्वमा मुद्रास्फिति भइरहेको बेलामा विश्वको प्रसिद्ध कम्पनी टेस्लाको मालिक एलन मस्क लगायत केही प्रतिष्ठित पुँजीपतिहरुले बिटक्वाइनलाई समर्थन गरेका थिए, जुन विषय बिटक्वाइनको लागि निकै सकारात्मक बनेको थियो । गत महिनामा क्रिप्टोकरेन्सीको क्षेत्रमा एउटा गम्भिर दुर्घटनाको रुपमा बैंकम्यान फ्रायडको एफटिएक्स एक्सचेन्जको अवसान देखिन पुग्यो । क्रिप्टोकरेन्सीमा ठूलो दुर्घटना भएसँगै सन् २०१७ तिर जस्तै यतिबेला सो क्षेत्रमा फेरिउछालको भविष्यवाणी गर्ने मानिसहरु अत्यन्तै कम देखिएका छन् । सन् २०२२ सँगै धेरै मानिसहरु क्रिप्टोकरेन्सीबाट टाढिदै छन भने धेरै देशका मुद्रा नियामकहरुले पनि क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिवन्ध लगाएका छन् । युरोपियन केन्द्रीय बैंकले गत महिना बिट्क्वाइनमा देखिएको बाउन्सलाई ‘अप्रासंगिकताको बाटो अघि कृत्रिम रुपमा प्रेरित गरिएको अन्तिम हाफ हो’ भनेको छ । जसलाई सो क्षेत्रका लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । तर, क्रिप्टो इकोसिस्टममा अर्बौं डलरको अतिक्रमण र हेराफेरी भइरहेको छ । एउटै समयमा बिकेन्द्रीकृत वित्त प्रणाली र निजी क्रिप्टो मुद्रा परम्परागत बैंकिङ प्रणालीको छायाँमा रहेर काम गर्न र विकास हुन सम्भव हुने विषय अब भ्रमपूर्ण बनेको छ । खुद्रा तथा संस्थागत लगानीकर्ताहरुले क्रिप्टोका अपरेटरहरुसँग विश्वास गर्न छाडेका छन् । कतिपय नीति निर्माता र क्रिप्टोका लगानीकर्ताहरुले अमेरिकी सेक्युरीटी अफ एक्सचेन्ज कमिसनलाई नियामक भूमिकाको लागि अनुरोध गरेका छन् । सन् २०२३ मा के होला ? कतिपय अमेरिकी रणनीतिकारले क्रिप्टोकरेन्सी र कैंयन प्रकारका टोकनहरु पनि सम्पत्तीको पोर्टफोलियोमा रहन सक्ने बताएका छन् । लगानीकर्ताहरुले ब्रोकर एक्सचेन्जहरुसँग सुरक्षित हुन आवश्यक पर्ने नियमहरु र पुँजी पर्याप्तताको माग गरेका छन् । त्यसको लागि वर्षौं समय नलागेर केही महिनामा सुधार हुने अपेक्षा पनि केही विश्लेषकहरुले गरेका छन् । तर, पुँजी क्षेत्रका केही म्यानेजरहरुले आगामी १०/१५ वर्षको दौरानमा डिजिटल सम्पत्ती नै मुख्य सम्पत्तीको रुपमा स्थापित हुने अपेक्षा गरेका छन् । तर, सोही सन्दर्भमा आगामी वर्षमा परम्परागत वित्तीय दुनियाँले क्रिप्टोको अस्वस्थ अवस्थालाई हेर्दै ब्लकचेनमा आधारित पुँजीलाई विभिन्न बन्ड र टोकन जारी गर्न सक्नेछन् भने कतिपय केन्द्रीय बैंकहरुले डिजिटल मुद्राको भूमिकालाई पनि कम गर्न सक्नेछन् । विश्वको भौतिकवादी दुनियाँको अनिवार्यतामा स्वतन्त्र अवधारणा सहितको क्रिप्टोकरेन्सी व्यवस्थापन गर्ने विषय जहिल्यैपनि जोखिमपूर्ण हुने हुँदा राज्यको अर्थव्यवस्था र निजी लगानी क्षेत्रको रुपमा स्थायी भइरहने विषयमा धेरैको असहमति भएको देखिन्छ । तर, आर्थिक क्षेत्र निरपेक्ष रुपमा सञ्चालन भइरहँदैन, त्यहाँ सँधै वैकल्पिक सम्भावनाहरु पनि रहिरहन्छन भन्नेहरुले भने यसलाई निरन्तरता दिने नियमित प्रयास गरिरहने छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा ।
त्रिपुरेश्वरदेखि बूढानीकलण्ठसम्म इन्टरनेट काटिने, प्राधिकरणले दियो चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले त्रिपुुरेश्वरचोकदेखि बूढानीलकण्ठसम्मका अव्यवस्थीत तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ गतेभित्र सेवा प्रदायक कम्पनीले पोलमा राखेको तार नहटाए प्राधिकरण आफैले हटाउने चेतावनी दिएको हो । प्राधिकरणले पहिलो चरणमा त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको छ । प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएकोे हो । प्राधिकरणले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १९ (ख) बमोजिम प्राधिकरण आफैँले पुस ११ गतेदेखि हटाउन लागेको जनाएको छ । प्राधिकरणले तार काट्दा हुने नोक्सानीका लागि प्राधिकरण जिम्मेवार नहुने समेत जनाएको छ ।