एमडीएमएसमा दर्ता नभएका माेबाइल नेपालमा चल्दैन, यसरी दर्ता गर्नुहाेस् आफ्नाे माेबाइल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता नभएको मोबाइल नेपालमा नचल्ने व्यवस्था गरेको छ । नेपाली बजारमै किनेका मोबाइल भने विक्रेताले एमडीएमएस प्रणालीमा दर्ता गरेका हुन्छन् । तर, काम विशेषले विदेश जाँदा ल्याइएको मोबाइल वा कसैले उपहारमा विदेशबाट ल्याइदिएको मोबाइल भने एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नभएका मोबाइल फोनको एमडीएमएस कसरी दर्ता गर्ने ?  दर्ताका लागि के के कागजात चाहिन्छ ? दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को आइएमइआइ दर्ता छैन भने के गर्ने ? यी विविध प्रश्नकाे उत्तर हामीले यहाँ समेट्ने प्रयास गरेका छौँ । आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ/छैन कसरी चेक गर्ने ? नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टल mdms.nta.gov.np मा गई बायाँ तर्फको “आफ्नो मोबाईलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नुहोस” भन्ने बक्समा आफ्नो मोबाइलको आइएमइआइ नम्बर प्रविष्ट गरी उक्त मोबाइल दर्ता भए नभएको जाँच गर्न सकिन्छ । एमडीएमएस प्रणालीमा मोबाइल दर्ता गर्न के के कागजातहरू आवश्यक हुन्छ ? व्यक्ति स्वयंले राहदानी वा नागरिकता, डिपार्चर स्ट्याम (विदेश जादाँको बखत राहदानीको पृष्ठमा लागेको डिपार्चर छाप) र अराइभल स्ट्याम्प (विदेशबाट फर्कदाको बखत राहदानीको पृष्ठमा लागेको अराइभल छाप ) देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास सहित आफ्नो व्यक्तिगत विवरणहरू mdms.nta.gov.np/registration-options काे individual registration section मा प्रविष्ट गरी मोबाइल दर्ताका लागि आवेदन दिन सकिन्छ । एमडीएमएस प्रणालीमा आवेदन प्राप्त भएको जानकारी आवेदकले प्रविष्ट गरेको इमेलमा जान्छ । त्यसैगरी दुई देखि तीन दिन भित्रमा उक्त आवेदन स्वीकृति भई मोबाइल दर्ता भएको वा कारणसहित आवेदन रिजेक्ट भएको जानकारी आवेदकको इमेलमै जान्छ । यसको लागि कुनै शुल्क लाग्दैन । मोबाइल दर्ताका लागि आवश्यक कागजात नभएको खण्डमा कसरी मोबाइल दर्ता गर्न सकिन्छ ? आर्थिक विधेयक २०८० को दफा २४ ले २०७९ भाद्र ३० देखि २०८० जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरेको छ । राजश्व अनलाईनबाट नै तिर्न सकिन्छ । mdms.nta.gov.np/registration-options को Grey Registration Section मा गई आफ्नो मोबाइलको आइएमइआइ लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउँछ । भुक्तानीका लागि कनेक्ट आइपीएस छनौट पञ्चातः देखिने क्यूआर कोर्ड स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । भुक्तानी सफल भएको एक घण्टा भित्र उक्त मोबाइल दर्ता हुनेछ । नोट : Grey Registration गर्न खोज्दा None of the Provided IMEI number are grey listed. At least one IMEI number must be in grey list to proceed देखाउँछ भने उक्त आइएमइआइ हाल Grey Database मा नभएको संकेत हो । आर्थिक विधेयक २०८० को दफा २४ ले हाल Grey Database मा भएका मोवाइललाई मात्रै Grey Registration को सुविधा प्रदान गरेको छ । दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को दर्ता छैन भने के गर्ने ? मोबाइलको एउटा IMEI दर्ता भई अर्काे IMEI दर्ता नभएको खण्डमा एमडीएमएस प्रणालीको Dual IMEI Registration Section मा गई IMEI1 र IMEI2 प्रविष्ट गरी दुबै IMEI प्रष्ट देखिने गरी Screenshot वा मोबाइल किन्दाको बक्सको फोटो खिचेर अपलोड गरी आवेदन दिन सकिन्छ ।

नेपाल टेलिकमले ल्यायो समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समर अफर अन्तर्गत विभिन्न डाटा प्याक अफरहरु ल्याइएको छ । जसअनुसार अल टाइम डाटा प्याक अन्तर्गत ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । यसैगरी सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने कम्पनीको भनाइ छ । मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको पनि टेलिकमले जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको जनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युजेज पोलिसी बमोजिम तोकिएको परिमाण उपभोग पछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको कम्पनीले जनाएको छ ।  कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ ।

अब एस्ट्रोपडबाटै डेटिङ पार्टनर पत्ता लाग्ने, कसरी गर्ने प्रयोग ?

काठमाडौं । सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ । नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ । एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाईँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन् । विशेषगरी वायु, अग्नी, जल र पृथ्वीले हाम्रा दैनिक जिवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रिय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन् । एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ । इभेन्टमा यसरी सहभागी बन्नुहोस् तपाईँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्याङ्कन गर्न सक्नुहुन्छ, र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ । यो अनौठो सुविधाले तपाईँको पहिलो डेटिङ्गका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ । एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरूको ढोका खोल्छ र कुनैपनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ । कसरी प्रयोग गर्ने ? १. एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस् । २. एक्सप्लोर मेनुमा, तपाईँले विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्नुहुनेछ । त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाईँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ । ३. उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, तपाईँले अप्ट इन गर्न आवश्यक छ । त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले तपाईँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ । ४. तपाईँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस् । ५. कार्यक्रमको लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस् । आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिको बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्नुहोस् ।