सरकारको सूचना प्रविधि सेवा निर्यात गर्ने योजना, विद्यार्थीलाई व्यावसायिक र छात्रवृत्ति तालिम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताएकी छिन् । एकीकृत विकास अध्ययन संस्थाले आज आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उनले भनिन्, ‘सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।’ ‘सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्ने उद्योगले गरेको विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भइसकेको छ’, मन्त्री शर्माको भनाइ थियो । उनले सरकारको कूल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको जानकारी दिइन् । मन्त्री शर्माले भनिन्, ‘नवप्रवर्तन र उद्यमशीलता विकास गर्न ‘स्टार्टअप इको सिस्टम’ विकास गर्ने, उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न ‘इन्क्युवेशन सेन्टर’ सञ्चालन गर्ने, नयाँ कम्पनी दर्ता गर्दा पूँजी वृद्धि निःशुल्क गर्ने, अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था गरिएको छ ।’ मन्त्री शर्माले लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध हुनेगरी राष्ट्रिय पोर्ट तयार गर्ने, सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्बन गर्नेलगायत व्यवस्था यस वर्षदेखि सुरु गरिएको बताइन्। ‘चालु आर्थिक वर्षमा सूचना प्रविधिमा विजनेश प्रोसेस आउट सोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङजस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छूट दिने व्यवस्था मिलाइएको छ’, उनले भनिन्। यसबाट देशभित्रै बसेर विभिन्न देशको काम गरी विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रोत्साहित गर्ने र डिजिटल अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने सरकारको अपेक्षा रहेको मन्त्री शर्माको भनाइ थियो । उनले सूचना र प्रविधिका क्षेत्रको विकासका लागि प्रतिष्पर्धी क्षमता विकास, व्यावसायिकतामा वृद्धि, उच्च गतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाबीच समन्वय र सहकार्यमा जोड दिइएको बताइन् । मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशका लागि सहयोग पुग्ने गरी निश्चित अवधि तोकेर तालिमको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिइन् । ‘विश्व बजारमा जुन क्षेत्रमा जनशक्तिको माग भइरहेको छ, त्यसको अध्ययन गरी नेपालभित्रै सहज पठनपाठनका लागि पनि सरकारले पहल गर्ने छ’, उनले भनिन्, ‘सरकाले सूचना प्रविधिको क्षेत्रमा छोटो व्यावसायिक तालिम दिन पनि सोचिरहेको छ ।’ सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्य यसै वर्षदेखि सुरु गरिएको मन्त्री शर्माको भनाइ थियो । उनले सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । ‘साइबर सुरक्षा नीति चाँडै मन्त्रिपरिषद्बाट पारित हुँदैछ भने अन्य आवश्यक कानुनको तयारीमा पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ’, मन्त्री शर्माले भनिन्, ‘नेपालमा कृषि, जलस्रोत र पर्यटनजस्तै अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा सूचना प्रविधि क्षेत्र स्थापित भएको छ ।’ ‘अब हामी नेपालबाट श्रमिक होइन, सेवा निर्यात गर्न चाहन्छौँ । त्यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाएको छ’, उनले भनिन्, “’सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्नेछ ।’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको उच्च सम्भावना रहेको उल्लेख गरे । उनले आन्तरिक बजारमा मात्र नभई विश्वबजारमा नेपालका सूचना प्रविधिक पेसाकर्मीले प्रतिस्पर्धा गर्ने अवस्था रहेको बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले भने,‘विश्वविद्यालयले सूचना प्रविधिको पछिल्लो विकासलाई आत्मसात गर्दै आइरहेको उल्लेख गर्दै आइटीसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले भूमिका निर्वाह गरिरहेको छ ।’  रासस

विश्व रुपान्तरणको युगमा रोबोटिक्स

काठमाडौं । चौथो औद्योगिक क्रान्तिको चरणमा विश्व अगाडि बढीरहँदा रोबोटले विश्वव्यापी समुदाय र औद्योगिक क्षेत्रलाई रुपान्तरण गर्ने प्रकृयामा आकार प्रदान गरिरहेको छ । स्वचालित उत्पादन प्रकृयादेखि वौद्धिक रोबोटहरुको माग निकै आकाशीन पुगेको छ । विश्वले रोबोटिक्स विकासको सम्भावनालाई अंगालेको छ, यद्यपी यसले निम्त्याउन सक्ने चुनौतीलाई पनि सम्बोधन गर्न आवश्यक छ । चुनौतीलाई सम्बोधन गर्दै विश्व समुदायको मागलाई हेरेर अगाडि बढ्दा नै रोबोटलाई कम भन्दा कम जोखिम सहित मानव समुदायको हितमा प्रयोग गर्न सकिन्छ । प्रविधिको विकसित परिदृश्यमा सधैँ आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिंग्स र मेसिन लर्निङको प्रमुखताले विश्वव्यापी स्तरमा रोबोटिक्स र स्वचालनमा उल्लेखनीय प्रगतिको लागि मार्ग प्रशस्त गरेको पाइन्छ । स्वचालित र रोबोटिक्सको समायोजित प्रविधिले औद्योगिक उत्पादनको प्रकृयामा क्रान्तिकारी रुपान्तरणको अवस्था सिर्जना गरिदिएको छ । उदाहरणका लागि वस्तुहरुको संकलन, छनोट, प्याकेजिङ र डेलिभरीमा रोबोटले कायम गर्न सकेको गुणस्तरले यसको मागमा थप वृद्धि हुँदै गइरहेको छ । आजको दिनमा रोबोटिक्सले उत्पादनमुखी उद्योगहरु, स्वास्थ्य सेवा, गार्मेन्ट र कृषि क्षेत्रमा आफूलाई अनुकरणीय रुपमा प्रस्तुत गरेको पाइन्छ । व्यवसायहरु स्वचालित र सरलिकृत भइरहेका छन् । सभाहरुमा लाइन मिलाउनेदेखि स्वास्थ्य उपचारको क्रममा सल्यकृयामा रोबोटले अनुकरणीय प्रदर्शन गर्न सफल भएको छ, जसले गर्दा मानिसहरुलाई यसप्रतिको विश्वास र माग बढ्दै गएको अनुमान गर्न सकिन्छ । अत्याधुकि रोबोटिक्स प्रणालीका चुनौतिहरु रोबोटको सञ्चालनमा मुख्य समस्या भनेको यसलाई संवेदनायुक्त बनाउनु र मानिसको हात जस्तै बनाउनुसँग रहेको छ । रोबोटमा यी विषयहरुको विकास गर्न सकियो भने यसले स्वास्थ्य क्षेत्र, गार्मेन्ट क्षेत्र र उत्पादनको क्षेत्रमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आधुनिक रोबोटिक्सको विकाससँगै उद्योगहरुलाई पनि आफ्नो नेतृत्वदायी र व्यवस्थापकीय क्षमता वृद्धिको चुनौती देखिएको छ, जसले लक्षित उद्देश्य हासिल गर्न सकियोस । सबै सरोकारवाला मानिसहरुले सामूहिक रुपमा रोबोटिक्स शिक्षाको प्रवर्द्धन गर्दै हाम्रो दैदिक जीवनमा रोबोटसँगको सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्दै इकोसिस्टम निर्माण गरेर चुनौतीको सामना गर्दै अगाडि बढ्न आवश्यक छ । एजेन्सीको सहयोगमा ।

‘एआई’मा करिअर बनाउन चाहनुहुन्छ भने यी हुन सक्छन् उत्कृष्ट पाँच विकल्प

काठमाडौं । यदि तपाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भने तपाईले यी मध्ये कुनै एक विकल्प रोज्न सक्नुहुन्छ। कुन क्षेत्रमा प्रवेश गर्न कस्तो योग्यता चाहिन्छ र कमाई कति हुन सक्छ भन्ने विषयमा धेरैको चासो रहेको पनि पाइन्छ । केही समयअघिसम्म मानिसहरूलाई एआईको बारेमा त्यति धेरै जानकारी पनि थिएन। अहिले यस्तो समय आएको छ की एआई बिना कुनै पनि काम हुँदैन । चाहे त्यो शिक्षा होस् वा जागिर। समयसँगै यसको माग बढ्दै गएको छ । सोही विषयलाई ध्यानमा राख्दै पछिल्लो समयमा धेरै विद्यार्थीहरूले करियरको विकल्पको रूपमा एआईलाई रोजिरहेका छन्। मेसिनरी सम्बन्धी सिकाइ अवधारणा अहिले धेरै पुरानो भइसकेको छ । एआईको विकाससँगै सिकाइको क्षेत्रमा स्थापित अवधारणामा पनि ठूलो रुपान्तरणको शुरुवात भएको देखिन्छ । यस क्षेत्रमा केहि उत्कृष्ट करिअर विकासका विकल्प रहेको देखिन्छ । सो क्षेत्रमा अध्ययन गर्नुपूर्व सो क्षेत्रका केहि विशेष विषयको बारेमा जान्न आवश्यक हुन्छ । सोही अनुसार तपाईं आफ्नो रुची र आवश्यकतालाई केन्द्रमा राखेर विषय छनोट गर्न सक्नुहुन्छ । मेसिन लर्निङ इन्जिनियर यो क्षेत्रमा काम गर्नेहरु स्वचालित सफ्टवेयरको डिजाइन गर्न र बनाउन सक्ने हुन्छन् । यदि तपाइँ यस क्षेत्रको विकसित एप्लिकेसनको बारेमा बुझ्न चाहनुहुन्छ भने ती भनेका च्याटबोट, भर्चुअल असिस्टेन्ट, चालकविहीन कार, ट्राफिक भविष्यवाणी एप, आदि हुन् । समयसँगै यस प्रकारका एप्लिकेसको प्रयोग निकै बढेको छ । यो क्षेत्रमा प्रवेश गर्न तपाईंसँग कम्प्युटर विज्ञान, डाटा प्रोग्रामिंग र गणितको ज्ञान हुनुपर्छ। यो क्षेत्रको करिअरमा वर्षमा ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । डाटा वैज्ञानिक डाटा वैज्ञानिकहरुको मुख्य काम भनेको तथ्यांकको संकलन र सो सँग सम्बन्धित सुरक्षाको विषय पनि हो । यी क्षेत्रका एक्सपर्टहरुले तथ्यांकलाई विभिन्न तरिकाले प्रयोग गरेर उद्योग, व्यवसाय तथा कम्पनीको विकासका निम्ति भूमिका खेल्ने काम गर्छन् । उदाहरणको रुपमा फुड डेलिभरी एप्लिकेसनको सञ्चालनमा डाटा एक्सपर्टहरुको भूमिका महत्वपूर्ण हुन्छ । यो क्षेत्रका एक्सपर्टहरुले मानिसहरुको सम्पर्क, उनीहरुको रुची, क्षमता, आवश्यकता लगायत विविध विषयमा विश्लेषण गर्ने क्षमता पनि राख्ने गर्दछन् । यो क्षेत्रमा शुरुवाती कमाई वार्षिक ५ देखि ६ लाख हुने गर्छ । रोबोटिक्स इन्जिनियर नामबाटै स्पष्ट हुन्छ की रोबोटिक्स इन्जिनियरहरुले रोबोट बनाउँछन् । जुन रोबोटहरुले आजको समयमा निकै प्रकारका काम गर्ने क्षमता राख्दछन् । रोबोटहरुले कामको सन्दर्भमा मानिसले भन्दा धेरै र राम्रो काम गर्ने गरेको समेत पाइन्छ । ड्रोन त्यसैको एउटा उदाहरण हो। रोबोटिक्स इन्जिनियर बन्न कम्प्युटर इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुपर्छ । यो क्षेत्रको पेशागत करिअरमा सुरुमा वार्षिक ६ देखि ८ लाखसम्म आम्दानी हुन सक्छ । एआई अनुसन्धान वैज्ञानिक यी वैज्ञानिकहरुको मुख्य काम भनेकै मेसिन तथा सफ्टवेयरहरुले मानिसको काम कसरी सजिलोसँग गर्न सक्छन भनेर अनुसन्धान गर्नु हो । तिनीहरूले एल्गोरिदमहरू पनि सिर्जना गर्छन्, जसले डेटा विश्लेषण गर्न र ढाँचाहरू बुझ्न मद्दत गर्दछ। तिनीहरू स्वास्थ्य सेवा, वित्त, मार्केटिङ, बीमा र खुद्रा जस्ता क्षेत्रमा काम गर्छन्। उनीहरुको कमाई वार्षिक ७ देखि ९ लाखसम्म हुन्छ । एआई इन्जिनियर यिनलाई मुख्यतया समस्या समाधानकर्ताको रुपमा चिनिन्छ । यिनीहरुले एआईका विभिन्न मोडेलहरू परीक्षण गर्छन् र आफ्नो कामलाई प्रभावकारी बनाउँछन्। तिनीहरूले मेसिन लर्निङ प्रयोग गर्छन् र काममा आउन सक्ने एआई मोडेलहरू सिर्जना गर्छन्। अहिले विश्व बजारमा नै यस्ता एक्सपर्टहरुको निकै माग बढेको छ । एआई इन्जिनियरहरुले करिअरको शुरुवातमा नै वार्षिक १० लाख भन्दा धेरै कमाउन सक्छन् । एजेन्सीको सहयोगमा ।