कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा उपलब्ध हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । भिभाे भी ४० भी सिरिजको पछिल्लो संस्करण हाे । दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रीन) मा उपलब्ध भिभाे भी ४० ले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ । भिभो भी ४० लाइटमा ५००० एमएच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । फाेनकाे ब्याट्री लाइफ ४ वर्षकाे रहेकाे कम्पनीले जनाएकाे छ । यस स्मार्टफोनलाई आईपी ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ । भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भिभो भी ४० लाइट नेपाली बजारमा भित्र्याउन पाउँदा निकै खुसी व्यक्त गरेकाे बताए । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले हरेक चलचित्र, संगीत ट्र्याक वा खेललाई जीवन्त बनाउने कम्पनीले विश्वास लिएकाे छ । फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्ने पनि जनाइएकाे छ । फाेनमा ८ + ८ जीबीको विस्तारित र्‍याम र २५६ जीबी स्टोरेज क्षमता रहेको छ । आगामी कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा मात्र ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दराजमा फाेनकाे अग्रिम बुकिङ गर्न सकिनेछ । साथै देशभरका मुख्य रिटेल स्टोरमा पनि फाेन उपलब्ध हुनेछ ।

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताएाक छन् । विश्व हुलाक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताए । ‘सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ,’ मन्त्री गुुरुङले भने । उनले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिए । चालु आर्थिक वर्षबाट नेपाल हुलाकको संरचनागत रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको अवधारणा बमोजिम नै हुलाक कार्यालयको पुनसंरचनाको कार्य सम्पन्न भएको उनले बताए । मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।’ विश्वकै दोस्रो पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा सन् १८७४ अक्टोवर ९ मा स्थापित विश्व हुलाक सङ्घको स्थापना भएको थियो । हरेक वर्ष अक्टोबार ९ तारिखमा विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाका १५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने १५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । विसं १९३५ मा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ । दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिक प्रदर्शनी सञ्चालन गरिएको छ । यस्तै विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ । दिवसको पूर्वसन्ध्यामा विभागले मङ्गलबार नै कार्यालय परिसर सरसफाइको कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

एनसेल फाउन्डेसनले गर्यो गोदाबरीका बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेकाे छ । एनसेल फाउन्डेसनले सोमबार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन् । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडामा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू पनि सञ्चालन गरिरहेको छ । एनसेलले हाल देशभरका १ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्दै आइरहेकाे छ ।