सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

काठमाडौं । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनः लाभलगायत कामको सम्पर्क निकायका रुपमा कार्य गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्रको स्थापना गर्न लागेको हो । गत माघ ९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रालयका सहसचिव तथा केन्द्रका प्रमुख अनिलकुमार दत्तले भने, ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ, केन्द्र सञ्चालन गर्न १२ कर्मचारीको संरचना बनेको छ, केही दिनमै कार्यालय स्थापना गर्ने तयारी छ ।’ पछिल्लो समयमा विभिन्न देशमा साइबर असुरक्षा बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएको सन्दर्भलाई दृष्टिगत गर्दै केन्द्र स्थापना गर्न लागिएको उनको भनाइ छ । ‘साइबर असुरक्षा बढिरहेको छ, नेपालको सन्दर्भमा सबैलाई कम्प्युटर कसरी चलाउने भन्ने थाहा छैन, जता पनि वाइफाई फ्री छ, अब यसलाई व्यवस्थित गर्न ठाउँठाउँमा पुग्नुपर्ने हुन्छ,’ प्रमुख दत्तले भने । केन्द्रले संवेदनशील सूचना पूर्वाधारको चौबिसै घण्टा अनुगमन, साइबर घटना तथा जोखिम मूल्याङ्कन गर्ने, आकस्मिक रुपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्नका लागि प्राविधिक जनशक्तिसहितको आकस्मिक सहायता समहूको गठन गर्ने र आकस्मिक रुपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्नका लागि प्रदेश तथा स्थानीय तहले आकस्मिक सहायता समूह गठन गर्न लागेका उनले बताए । प्रमुख दत्तले भने, ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६ मा रहेका आठवटा क्षेत्रमध्ये एउटा डिजिटल फाउन्डेसन छ, त्यो अन्तर्र्गत डाटा सेन्टर बनाउने, डिजिटल हस्ताक्षर, कागजलेस गभर्मेन्ट र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भनिएको थियो, सोही अनुसार गत आर्थिक वर्षको सुरुमा अध्ययन गरियो । उक्त अध्ययनको रिपोर्टका आधारमा कार्यालय स्थापनाको तयारीमा छौँ ।’ चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा पनि साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उल्लेख थियो । अहिले मन्त्रालयमा सञ्चालनमा रहेको सूचना प्रविधि आकस्मिक अनुगमन केन्द्रलाई पनि राष्ट्रिय साइबर सुरक्षा केन्द्रमै राखिने भएको छ । तत्कालका लागि सानो ठाउँबाट केन्द्र सञ्चालन गरे पनि विस्तारै देशैभरि हेर्ने गरी भवनमै कार्यालय राख्ने मन्त्रालयको योजना छ केन्द्रले आवश्यकताअनुसार संवेदनशील सूचना पूर्वाधारका धनी, अनुमतिपत्र प्राप्त सेवा प्रदायक तथा साइबर सुरक्षा परीक्षकलाई निर्देशन दिनेछ । यस्तो निर्देशनको पालना गर्नेसम्बन्धी संवेदनशील सूचना पूर्वाधारका धनी तथा अनुमतिपत्र प्राप्त सेवा प्रदायक व्यक्तिको कर्तव्य हुनेछ । साइबर सुरक्षा केन्द्र सम्बन्धी व्यवस्थाअनुसार साइबर सुरक्षा सेवा प्रदान गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले अनुमतिपत्र लिनुपर्नेछ । अनुमतिपत्रको किसिम, प्रत्येक अनुमतिपत्र प्राप्त गर्न आवश्यक योग्यता, अनुमतिपत्र दस्तुर, अनुमतिपत्र नवीकरण दस्तुर, अनुमतिपत्रका सर्त र सो सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ । त्यसैगरी, केन्द्रले प्रत्येक आर्थिक वर्षको समाप्त भएको मितिले तीन महिनाभित्र आफूले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेस गर्नुपर्नेछ । साइबर सुरक्षा जोखिम अनुगमन गर्ने, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक स्वास्थ्य, सार्वजनिक शान्ति र व्यवस्था वा सार्वजनिक सुरक्षा वा अत्यावश्यक सेवालाई पार्न सक्ने साइबर सुरक्षाका घटनाको प्रतिकार्य गर्नेलगायत केन्द्रको काम, कर्तव्य र अधिकार रहेको छ । रासस

पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि एनसेल सम्मानित

काठमाडौं । नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि सम्मान गरको छ । बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन् । एनसेलले पूर्व सुचना प्रणाली संचालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्याएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै यो कदर पत्र प्रदान गरिएको हो । पुर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्र्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ । गत पुषमा मात्र एनसेलले जल तथा मौसम विज्ञान विभागले एक समझदारी पत्रमा हस्ताक्षर गरेर सहकार्यलाई थप विस्तार गरेका थिए । जस अन्तर्गत पूर्व सूचना प्रणालीमा अब १३ वटा जोखिमहरु समेटिएका छन् । यसै अनुरुप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् । सन् २०१८ मा पनि जल तथा मौसम विज्ञान विभाग र सोसाइटी अफ हाइड्रोलोजिष्ट एन्ड मेटिओरोलोजिस्ट (सोहम), नेपालले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानको कदर गर्दै डा. ऋषि राम शर्मा विपद् पूर्वतयारी तथा प्रतिकार्य पुरस्कार प्रदान गरेको थियो । कुनै प्राकृतिक विपद् घट्नु अगाडि नै प्राप्त हुने पूर्व सूचनाले जनधनको क्षति हुनबाट बचाउछ । पूर्व सूचनाका कारण त्यस्ता जोखिमहरुबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । यस्तो सहकार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न ठूलो भूमिका खेल्दछ । अध्ययनले बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने पूर्व सूचना प्रवाहका कारण धेरै कम भएको देखाएको छ । कदर पत्र ग्रहण गरे पछि उत्साह प्रकट गर्दै एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पुर्व सुचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौ र यो कदर पत्रका लागि हामी आभारी छौं । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिवद्धता अनुरुप यो सहकार्य गरिरहेका छौं । सम्भावित विपद्बाट आम नेपालीको जनधन जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । हामी सारा नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छौं र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरु गर्दै जाने छौं।’ पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ-आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पुर्व सूचना प्रवाह गरेको थियो ।

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा डाटा प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिन्छ । वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सकिन्छ । आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको टेलिकमले जनाएको छ । एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ ।