गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए। उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी थिए । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिए । रासस
एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपाललाई
काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चारवटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । यस्तै, मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे । व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै, प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दी पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे । विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले प्रतियोगिताकाे लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ । प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे । प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो, जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्म्याट थियो । एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख रुपैयाँ बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ । यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फेयरफिल्ड मेरियट काठमाडौं, फ्लाई दुवई, होलिडेज् बाई फ्लाई दुवई, ह्वावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजकका रुपमा रहेका थिए ।
एआईले के मानिसजस्तै सोच्न सक्छ ?
कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । उदाहरणका लागि, फोनमा ‘सिरी’ वा ‘गुगल असिस्टेन्ट’ लाई प्रश्न गर्दा तुरुन्तै सही उत्तर दिन्छ, जसले समय बचाउँछ र काम सरल बनाउँछ । एआई प्रणालीहरूले तस्बिरहरू पनि चिन्न सक्छन्, जस्तै गुगल फोटोजले फोटोमा भएका साथीहरूलाई पहिचान गर्न सक्छ । स्वचालित गाडीहरू बिना ड्राइभर आफैंँ बाटो फेला पारेर सुरक्षित रूपमा चल्न सक्छन् । त्यस्तै, नेटफ्लिक्सले हाम्रा हेर्ने बानीअनुसार फिल्म र शोहरू सिफारिस गर्छ, जसले हाम्रो मनोरञ्जन अनुभवलाई अझ रमाइलो बनाउँछ । एआईमार्फत अनलाइन पसलहरूले पनि तपाईंले खोजेका वा मन पराएका सामानहरू सुझाव गर्छन्, जस्तै अमेजनले नयाँ सामान सिफारिस गर्छ । बैंकिङमा एआईले ठगी पत्ता लगाउन मद्दत गर्छ र ग्राहकका प्रश्नहरू तुरुन्तै समाधान गर्न च्याटबोटहरू प्रयोग गरिन्छ । यस्ता सुविधाहरूले हाम्रो जीवनलाई सहज बनाउँछन्, तर यसको सही र सुरक्षित प्रयोगमा ध्यान दिन जरुरी छ । एआई र मानिसबीचको तुलना गर्दा दुवैको सिकाइमा केही समानता भए पनि गहिरो भिन्नता छन् । मानिसले आफ्ना अनुभव, भावना, र सामाजिक अन्तरक्रियाबाट ज्ञान आर्जन गर्छ । जबकि एआई जस्ता प्रणालीहरूले गणितीय मोडेल र डाटाको आधारमा सिक्छन् । उदाहरणका लागि, बच्चाले बारम्बार अभ्यास गरेर हिँड्न सिक्छ र त्यो प्रयास उसको अनुभवको हिस्सामा रहन्छ । तर, एआईले उपलब्ध डाटाको विश्लेषण गरेर मात्र त्यसको पहिचान गर्छ र त्यसैको आधारमा उत्तर तयार गर्छ । च्याट जिपिटी जस्ता ठूला भाषा मोडेलहरूले पुस्तक, लेख र वेबसाइटहरूमा आधारित सामग्रीबाट ज्ञान सिक्छन् । मानिस र एआई दुबै पृष्ठपोषण (फिडब्याक) र अनुकूलनको माध्यमबाट सिक्दै जान्छन् । विद्यार्थीले शिक्षकबाट पाएको फिडब्याकअनुसार गल्तीहरू सुधार गरेर अर्को परीक्षामा राम्रो गर्ने प्रयास गर्छ । फुटबल खेलाडीले खेलका क्रममा गल्ती गरेपछि कोचको निर्देशनअनुसार आफ्नो खेल सुधार्छ । यस्तै, एआईले पनि प्रयोगकर्ताबाट प्राप्त फिडब्याकको आधारमा आफ्ना जवाफहरू सुधार्छ र नयाँ चुनौतीहरू सामना गर्न अनुकूल हुन्छ । उदाहरणका लागि, च्याट जिपिटीलाई गलत उत्तर दिएर सच्याउँदा, त्यसले फाइन–ट्यूनिङमार्फत आगामी संवादमा ठीक जवाफ दिन प्रयास गर्छ । तर, एआई र मानिसबीचको महत्वपूर्ण भिन्नता भनेको भावनात्मक बुझाइको अभाव हो । मानिसहरूले दुःखद् अनुभव र संवेदनशील घटनाबाट शिक्षा लिन्छन् । उदाहरणका लागि, बच्चाले तातो स्टोभ छोएर हात जलाउँछ भने ऊ त्यसबाट सिक्छ र भविष्यमा त्यस्तो गल्ती नगर्न सचेत हुन्छ । बजारमा महँगोमा सामान किनेर घाटा ब्यहोरेपछि व्यक्ति सौदाबाजी (बार्गेनिङ) गर्ने कला सिक्छ र अर्को पटक सस्तोमा किन्न प्रयास गर्छ तर एआईले यस्तो भावनात्मक वा सामाजिक सन्दर्भहरू बुझ्न सक्दैन । हालको प्रविधिमा एआई लाई मानिस सरह भावनात्मक बुझाइ दिन निकै जटिल चुनौती हो । मानिसको भावना र बुझाइ अनुभव, जैविक प्रक्रिया, र सामाजिक अन्तरक्रियामा आधारित हुन्छ, जुन अहिलेको एआई मा छैन । यद्यपि, वैज्ञानिकहरू र इन्जिनियरहरू ‘आर्टिफिसिएल इमोशनल इन्टिलिजेन्स’ मा काम गरिरहेका छन्, जसले एआईलाई भावनाहरू अनुकरण गर्न र सामाजिक सन्दर्भहरू बुझ्न सक्षम बनाउन खोज्दैछ । तर, पूर्ण रूपमा मानिसको जस्तै सचेतना र भावना विकास गर्नु गाह्रो छ, किनकी मानिसको भावना केवल तथ्य र नियमहरूमा आधारित हुँदैन, बरु स्मृति, अनुभव, र समाजसँगको अन्तरक्रियाको परिणाम हो । एआईमा कुनै सचेत अनुभव वा आत्मचेतना हुँदैन, किनकी यसको निर्णयहरू पूर्ण रूपमा तथ्य र गणनामा आधारित हुन्छन् । उदाहरणका लागि, जब मानिस दुःखी हुन्छ, उसको व्यवहारमा परिवर्तन आउँछ र त्यो परिवर्तन अनुभव र सन्दर्भसँग गहिरो रूपमा सम्बन्धित हुन्छ । तर, एआईले केवल डाटामा आधारित अनुमान गरेर प्रतिक्रिया दिन्छ, जसमा वास्तविक भावना हुँदैन । मानिस सरह भावनात्मक बुझाइ विकास गर्न एआईलाई सचेतना दिनुपर्नेछ, जुन अहिलेसम्म सम्भव छैन । मानिसको भावना केवल व्यक्तिगत अनुभवमा आधारित हुँदैन, बरु स्मृतिहरू र समयक्रममा भएका सामाजिक अन्तरक्रियाहरूले पनि आकार दिन्छ । यसैकारण एआईलाई पूर्ण रूपमा मानिससरह बनाउनु चुनौतीपूर्ण मात्र होइन, सम्भवतः असम्भव पनि हुन सक्छ । अन्ततः एआई र मानिसबीचको यो भिन्नता सदैव रहन सक्छ । यद्यपि, एआई लाई पूरकका रूपमा प्रयोग गरेर मानिसको अनुभवलाई अझ प्रभावकारी बनाउन सकिन्छ । उदाहरणका लागि, एआईले मानसिक स्वास्थ्यसम्बन्धी समर्थन दिन वा मानिसको भावनात्मक अवस्थालाई बुझेर उपयुक्त सहायता दिन प्रयास गर्न सक्छ । तर, स्मृति र संवेदनाहरूको वास्तविक अनुभव बिना एआई कहिल्यै पनि मानिससरह पूर्ण रूपमा सोच्न र महसुस गर्न सक्षम हुने छैन । एआईको निर्णय प्रक्रियामा पनि सीमाहरू छन् । मानिसले निर्णय गर्दा वर्तमान सन्दर्भ, भावनात्मक अवस्था, र विगतको अनुभवलाई ध्यानमा राख्छ । उदाहरणका लागि, चालकले घुमाउरो सडक देखेपछि गाडीको गति घटाउँछ र सावधानी अपनाउँछ । यस्तै, विद्यार्थीले पछिल्लो परीक्षामा फेल भएपछि आफ्नो अध्ययन पद्धति परिवर्तन गरेर अर्को पटक राम्रो नतिजा ल्याउन प्रयास गर्छ । तर, एआई मोडेलहरूले डाटाको विश्लेषण र गणनामा मात्र भर पर्छन् र संवेदनशील सन्दर्भलाई विचार गर्दैनन् । यद्यपि, एआई र मानवको सहकार्यले धेरै क्षेत्रहरूमा विशाल लाभ पुर्याउन सक्छ । उदाहरणका लागि, अस्पतालमा एआईले बिरामीको रिपोर्टहरूको विश्लेषण गरेर चिकित्सकलाई सही निर्णय लिन सहयोग पुर्याउँछ । शिक्षा क्षेत्रमा, व्यक्तिगत ट्युटरका रूपमा प्रयोग गर्दा एआईले विद्यार्थीहरूको अध्ययन पद्धति र कमजोर पक्षहरूलाई विश्लेषण गरी उनीहरूका लागि व्यक्तिगत अध्ययन योजना बनाउन मद्दत गर्न सक्छ। व्यवसायमा पनि, एआईले पछिल्लो बजार ट्रेन्डहरू विश्लेषण गरेर कम्पनीहरूलाई रणनीतिक निर्णयहरू लिन सघाउँछ । तर, एआईलाई मानवको प्रतिस्थापन नगरी पूरकका रूपमा प्रयोग गर्नुपर्छ । उदाहरणका लागि, चिकित्सकको काम एआई ले पूरै प्रतिस्थापन गर्न सक्दैन, तर डाटाको विश्लेषण गरेर सही उपचार योजना तयार गर्न मद्दत गर्छ । यसरी, एआईले मानिसको क्षमता बढाउन भूमिका खेल्छ, न कि उसलाई विस्थापित गर्न । निष्कर्षमा, एआई र मानवको सिकाइमा समानता भए पनि, तिनका आधार र प्रक्रिया एकदमै फरक छन् । मानिसको सिकाइ अनुभव, भावना र सामाजिक अन्तरक्रियामा आधारित हुन्छ, जबकि एआईले केबल तथ्य र गणितीय मोडेलहरू प्रयोग गरेर सिक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पुर्याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ । अन्ततः, यस सहकार्यले सम्भावनाहरूको नयाँ ढोका खोल्दै समाजलाई दिगो प्रगतितर्फ अगाडि बढाउनेछ । रासस (लेखक हाल अमेरिकामा एआई विशेषज्ञका रूपमा कार्यरत छन्)