ताइवानमा भूकम्पबाट एप्पलमा नोक्सानी, सप्लाई चेन प्रभावित होला ?
काठमाडौं । ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण ७ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन् । यो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । जसका कारण टीएमसी कारखानालगायत धेरै भवनमा क्षति पुगेको छ । टीएमसी टेक कम्पनी एप्पलको चिप्स बनाउन संलग्न छ । जसमा आईफोन, आईप्याड र एप्पलटिभीमा प्रयोग हुने ए–सिरिज प्रोसेसर र एम–१ प्रोसेसर समावेश छन् । भूकम्पका कारण भएको क्षतिका कारण आइफोन र म्याकबुकको उत्पादनमा ढिलाइ हुने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । एप्पलको आगामी प्रक्षेपण पनि प्रभावित हुन सक्ने बताइएको छ । म्याक्रोमर्सको एक रिपोर्टअनुसार ताइवानमा भूकम्पको कारण टीएमसीका कारखानाहरूमा ठूलो क्षति भएको छ । विशेष गरी ताइनान सहरमा रहेको एन३ चिप उत्पादन गर्ने कारखानाको छाना र खम्बा भाँचिएको छ । जसका कारण कारखानाको सम्पूर्ण काम ठप्प भएको छ । यसका साथै ७ एनएमभन्दा सानो चिप्स बनाउन आवश्यक पर्ने इयुभी (एक्स्ट्रिम अल्ट्राभायोलेट) मेसिन पनि बिग्रिएका छन्, जसले गर्दा राम्ररी काम गर्न सकेको छैन । भूकम्पले अनुसन्धान तथा विकास प्रयोगशालाको पर्खालमा पनि चिरा परेको छ । यसैबीच ताइवानको सिन्चु सहरमा रहेको कम्पनीको अर्को कारखानाको पाइपलाइन फुटेर चिप्समा ठूलो क्षति पुगेपछि उत्पादन बन्द भएको छ । भूकम्पबाट भएको क्षतिपछि टीएसएमसीले आफ्ना कारखानाको स्टक लिन थालेको छ । कम्पनीले फेरि उत्पादन सुरु गर्ने प्रयास गरिरहेको छ । यद्यपि, यो अझै स्पष्ट छैन कि यसले उत्पादन पुनः सुरु गर्न कति समय लिन्छ र एप्पलको आपूर्ति श्रृंखलामा यसले कति प्रभाव पार्छ । यी प्रडक्ट लन्च गर्दै एप्पल एप्पलले आगामी दिनहरूमा आफ्ना नयाँ उपकरणहरू लन्च गर्न सक्छ । जसमा म्याक प्रो, आईफोन १६ सिरिज, भिजन प्रो हेडसेट, नयाँ आईप्याड एयर, म्याक स्टुडियो, एप्पल वाच सिरिज १० र एप्पल वाच अल्ट्रा ३ समावेश छन् । एजेन्सी
नेपाल टेलिकम र सर्वोच्च अदालतबीच विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता
काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस सर्भिस (सर्ट कोड) उपलब्ध गराउने छ । हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य
काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने उदेश्य राखेको छ । सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ । यस सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेश भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ ।