टेलिकमले मल्टीपल टीभी जडान गर्ने, मूल्य कति ?

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूको मागलाई ध्यानमा राखी मल्टीपल टीभी जडान गर्ने भएको छ । जसअन्तर्गत चारवटा वा सोभन्दा धेरै जडान गर्ने कर्पोरेट ग्राहकहरूले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्ने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार ४ देखि १० वटा मल्टीपल टीभी जडान गर्ने ग्राहकले प्रति सेटटप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटाभन्दा बढी मल्टीपल टीभी जडान गर्ने ग्राहकले प्रति सेटटप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् । यस सेवासम्बन्धी आवश्यक जानकारीका लागि १९८ मा कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरूमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएकाे छ ।

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले बुधबार जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए । यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । उनले भने, ‘हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।’

नेपालमा दर्ता भयो टिकटक, यस्ता छन् सर्त

काठमाडौं । नेपालमा आधिकारिक रूपमा चीनको प्रख्यात एप टिकटक दर्ता भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्थाअनुसार टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गरिएको हो । मन्त्रालयका अनुसार मंगलबार टिकटकका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएका थिए । एपले नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ । निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । टिकटक नेपालमा दर्ता हुने तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । साथै सरकारले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ । विश्वभर धेरै मानिसलाई स्टार बनाएकाे टिकटकलाई कुनै समय नेपालमा बन्देज लगाइएकाे थियाे, यद्यपि अहिले उक्त बन्देज खुला गरिएकाे छ । टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । यो पनि पढ्नूहाेस् :  धेरैलाई स्टार बनाएको टिकटकका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति