एनपीएलको टिकटिङ पार्टनर ‘खल्ती’मा अनलाइन टिकट खुला
काठमाडौं । नेपालको डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । क्रिकेटप्रेमीहरूले खल्ती एपमार्फत सजिलैसँग टिकट काट्न सक्ने छन् । पहिलो दिन प्लेअफ र त्यसपछिका खेल हुने दिनबाहेक प्रतिदिन साधारण टिकटको मूल्य ३०० रुपैयाँका साथै भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुष्ठ सिजन पास पनि लिन सक्नेछन्ः साधारणको मूल्य ४ हजार ४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८ हजार २४० रुपैयाँ रहेको छ । मंसिर १५ बाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी हुनेछन् ।
जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य
काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे । कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले “शिरमै फुर्के रिबन” शीर्षकको संगीत भिडियो सार्वजनिक गरे । यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् । नेपालमा बालविवाह अझै पनि लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तिकरणको लागि प्रमुख चुनौती बनेको छ । यहाँ तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘बालविवाह मानव अधिकारको उल्लङ्घन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।’ महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तिकरणका कार्यक्रमहरुले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् । महिला अधिकारकर्मी तथा यूनाइटेड नेशनकी सीइडीएडब्ल्यु, कमिटी सदस्य बन्दना रानाले भनिन्, ‘महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैङ्गिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।’ निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैङ्गिक समानता तथा बाल संरक्षण प्रवर्धन गर्ने निती आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तिकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् । यस कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् ‘नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैङ्गिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभइ सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।’ बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव, र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् । जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टु भायोलेन्स अगेंस्ट वुमन’ अभियानमार्फत, हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं । २०१८ देखि जोन्टा इन्टरनेशनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपीए, र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छ ।’
अमेरिकी प्रतिबन्धसँग निडर हुवावे : एक वर्षभित्र हार्मोनी ओएसमा १ लाख एप्स पुर्याउने
काठमाडौं । अमेरिकाले कालोसूचीमा राखेको चिनियाँ प्रविधि कम्पनी हुवावेले आगामी महिनामा आफ्नो हार्मोनी अपरेटिङ सिस्टमका लागि १ लाख एप्लिकेसनहरू लक्षित गरिरहेको बताएको छ । हुवावेका अध्यक्ष स्यु झिजुनले शनिबार एक सम्मेलनमा बताएअनुसार हार्मोनीमा आधारित १५ हजारभन्दा बढी एपहरू कम्पनीसँग उपलब्ध छन्, जसले उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न सक्छन् । तर, थप व्यक्तिगत र विशेष प्रकारका एपहरूको आवश्यकता रहेको छ । ‘हाम्रो विश्लेषणअनुसार उपभोक्ताको आवश्यकता पूरा गर्न हार्मोनी इकोसिस्टमलाई परिपक्व बनाउन १ लाख एप्स मुख्य लक्ष्य हो र यो आगामी ६ देखि १२ महिनाभित्रको प्राथमिक उद्देश्य हो,’ स्युले भने । यो महत्त्वाकांक्षी एप लक्ष्यले स्वदेशी प्रविधिको विकासको अत्यावश्यकतालाई उजागर गरेकाे छ । चीनले व्यापारदेखि प्रविधिसम्मका क्षेत्रमा अमेरिकासँगको तनावको सामना गरिरहेको छ । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप कठोर हुने धम्की दिइसकेका छन् । अमेरिकी प्रतिबन्धहरूले गुगलको एन्ड्रोइडको समर्थन बन्द गरिदिएसँगै हुवावेले पाँच वर्षअघि आफ्नो अपरेटिङ सिस्टम सुरु गरेको थियो । स्मार्टफोनदेखि ल्यापटपसम्मका उत्पादनहरू बेच्ने शेन्जेनस्थित कम्पनीले पछि हार्मोनीको एक ओपन-सोर्स संस्करण पनि विकास गर्यो । अमेरिकी प्रतिबन्धका कारण हुवावेले आफ्नै अपरेटिङ सिस्टम विकास गर्न गतिलाई तीव्र बनाउन बाध्य भएको छ,’ स्युले भने । उनका अनुसार धेरै प्रगति भए तापनि कुनै पनि अपरेटिङ सिस्टम, चाहे जति नै उन्नत किन नहोस्, यदि कसैले प्रयोग नगरेमा त्यसको कुनै मूल्य हुँदैन । स्युले विकासकर्ताहरूलाई एप्सको विविधता बढाउन कडा मेहनत गर्न आग्रह गर्दै सरकारी निकायहरू, सरकारी कम्पनीहरू र सामाजिक संस्थाहरूलाई कार्यस्थलमा हार्मोनीलाई अपरेटिङ सिस्टमको रूपमा प्रयोग गर्न आह्वान गरे । हुवावेले हार्मोनीलाई अगस्ट २०१९ मा अनावरण गरेको थियो, जब वासिङ्टनले सुरक्षा चिन्ताका कारण कम्पनीलाई व्यापार प्रतिबन्धमा राखेको थियो । हुवावेले भने आफ्नो उपकरणले कुनै जोखिम पैदा नगर्ने दाबी गरेको छ । ‘फर्कने बाटो छैन, यही विजयको बाटो हो,’ स्युले भने, ‘हुवावेले हार्मोनी इकोसिस्टमको विकासमा अडिग रूपमा लगानी गर्नेछ र असम्भवलाई सम्भव बनाउन प्रयास गर्नेछ ।’