नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् सुविधा 

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार १८ रुपैयाँमा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने ३५ रुपैयाँमा २ घण्टा सम्म प्रयोग गर्न सकिने २ हावर डाटा प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा १ हावर भ्वाईस एण्ड डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा ३ दिन सम्म चलाउन सकिने तथा १०९ रूपैयाँमा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक ३९९ रूपैयाँमा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ । जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । यो अफर शुक्रबारदेखि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फाइभजीमा लगानी नगर्ने पक्षमा एनटीसी, एनसेलको जिद्दीपना कायमै

काठमाडौं । सूचना प्रविधिले दिनप्रतिदिन फड्को मार्दै नयाँ नयाँ आविस्कार भइरहेका छन् । विश्वले सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । तर, नेपालमा भने ती सूचना प्रविधि भित्रिन धेरै समय लाग्ने देखिन्छ ।  फाइभजी (५जी) सेवा विश्वमा सुरु भएकाे धेरै भइसक्यो । तर, विश्वका अधिकांश देशले फाइभफाजी सेवा सुरु गर्दा पनि नेपालमा भने भित्रिन सकेको छैन । पाँच वर्षअघि दक्षिण कोरियामा व्यावसायिकरूपमा फाइभजी सेवा सुरु भएको थियो । त्यसपछि विश्वका विकसित मुलुकले पनि फाइभजी सेवा लागु गरिरहेका छन् । एक प्रतिवेदनअनुसार विश्वमा फाइभजी सेवा प्रयोग गर्ने संख्या करिब १.४ अर्ब रहेका छन् । नेपालमा पनि लामो समयदेखि टेलिकम कम्पनीहरूले फाइभजी सेवा विस्तार गर्ने भनेर बहस तथा छलफलको विषय बनेको छ । पछिल्लो समय टेलिकम कम्पनीहरू नै फाइभजीमा लगानी गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौलमा छन् । नेपाल टेलिकम (एनटीसी)ले गत वर्ष फाइभजी सेवा परीक्षण गरेको थियो । तर, परीक्षणकै प्रक्रियामा रहेका बेला एनटीसीले बन्द गर्याे । फाइभजीका लागि ठूलो बजार नरहेकाले तत्काल लागु गर्ने पक्षमा नरहेको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुधन दाहाल बताउँछन् । इकोसिस्टम तयार नभएका कारण तत्काल फाइभजी सेवा सञ्चालन गर्न असम्भव रहेको उनको भनाइ छ । ‘एनटीसीले एक वर्ष अघि फाइभजी परीक्षण गर्याे, अहिले त्यसको अवधि पनि सकियो, मोबाइलमा भ्वाइस र डाटा चलाए जस्तो फाइभजी सेवा सीमित छैन,’ उनले भने, ‘इण्डष्ट्रियल एप्लिकेसनदेखि आईओटी, एमटिएम लगायत अन्य पूर्वाधार तयार हुनुपर्छ, तर नेपालमा एप्लिकेसनको विकास नै हुन सकिरहेको छैन, त्यसैले डिजिटल इकोसिस्टम नबनेसम्म फाइभजी लागु गर्न गाह्रो छ ।’ इकोसिस्टम बनाएर फाइभजी सेवा लागु गर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । नेपाल टेलिकमले फाइभजी परीक्षण गर्दा फाेरजीको उपकरण प्रयोग गरेको उनको भनाइ छ । फाइभजी सञ्चालन गर्दा स्पष्ट आधार तय गर्नुपर्ने उनले बताए । एनसेलका लिगल एण्ड रेगुलेटरी अफिसर विशाल उपाध्यय एनसेल फाइभजी सेवा विस्तार गर्न तयार भए पनि अहिलेको आर्थिक अवस्थामा सकस हुने बताउँछन् । प्रविधि धेरै अगाडि बढेकाले रोक्न नसकिने हुँदा फाइभजी सेवा पनि नेपालमा लागु गर्नुपर्ने उनको भनाइ छ । ‘एनसेललाई ५जी सेवा परीक्षण गर्न दिनुहोस् भनेर माग गरिरहेका छौं, नेपाल टेलिकमले गरेको परीक्षणले मात्रै पुग्दैन, फाेरजीबाट फाइभजी र फाइभजीबाट सिक्सजी सेवामा जाँदा पूर्वाधार पनि तयार गर्नुपर्छ,’ उनले भने, ‘जति पनि स्मार्ट फोनहरू आइरहेका छन् तिनलाई  प्रत्येक अप्रेटरले आफै परीक्षण गर्नुपर्छ, हामीले परीक्षण गर्न पाएको खण्डमा के गर्ने, कसरी अघि बढ्ने, कुन राम्रो हुन्छ भन्ने विषयको अनुभव हुन्छ । त्यसैको आधारमा निर्णय लिन्छौं  ।’ विकसित देशमा पूर्वाधारहरू नै फाइभजीमा आधारित भएर बनिरहेको उनको भनाइ छ । नेपाल पनि कुनै न कुनै समयमा फाइभजीमा जानै पर्ने अवस्था आउन सक्ने उनले बताए । ‘प्रविधिको विकासले जीवनशैली नै कनेक्टेड वर्ल्डमा रूपान्तरण भइसकेको छ, पश्चिमा देश वा विकसित मुलुकमा प्रत्येक उद्योगहरू कार, स्मार्ट सिटीमा इकोसिस्टम छ, ती सहरहरू फाइभजी प्रविधिमा आधारित भएर निर्माण भएका छन्,’ उनले भने, ‘नेपालमा अहिलेकाे अवस्थामा  सम्भव छैन, तर, यसका लािग परिवर्तन हुनैपर्छ र इकोसिस्टम बनाउनैपर्छ ।’ उनका अनुसार आईपीएल, विश्वकपलगायत ठूला टुर्नामेन्टमा पनि फाइभजीको प्रयोग राम्रोसँग भएको छ । कतारमा भएको विश्वकपमा स्टेडियममा बसेर नै आर्टिफिसियल इन्टेलिजेन्स र फाइभजीको मद्दतले को कहाँ, कुन खेलाडीले खेलिरहेको छ भनेर हेर्न सकिने व्यवस्था थियो । विश्वमा थुप्रै परिवर्त आइसकेको हुँदा आफूहरूले पनि अंगिकार गर्नुपर्ने उनको भनाइ छ । तर, आजको आर्थिक अवस्थामा याे एक अप्ठ्यारो रहेको उनले बताए । ‘एनसेलले परीक्षणका लागि अनुमति मागेको हो, के कस्ता पुर्वाधार तयार गर्नुपर्छ, प्रयोगकर्ताको अनुभव कस्तो रहन्छ भनेर हामीले पनि थाहा पाउनुपर्छ, आधारभूत कुरा नै थाहा नपाइ के गर्ने भनेर अगाडि बढ्न सकिँदैन,’ उनले भने, ‘फाइभजी सेवा सुरु गरेका देशमा पनि सरुवाती चरणमा धेरै आम्दानी थिएन, विस्तारै बजार पविर्तन हुँदै गएको देखिन्छ, तर हामीले गर्ने अवस्था बनाउनुहोस् हाम्राे सहकार्य रहन्छ मात्रै भनेका हौं ।’

नागरिक लगानी कोषले ल्यायो नयाँ मोबाईल एप

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाईल एप सीआईटी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको लागि उक्त नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । यससँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरुको यूजरनेम र पासवर्ड परिवर्तन भएको र सो को जानकारी दर्ता भएको मोबाईलमा पठाइएको कोषले जानकारी गराएको छ । त्यस्तै, ई-सर्भिसमा दर्ता भएका सहभागीहरुले नयाँ मोबाईल एपमा रजिष्टर गर्नुनपर्ने बताइएको छ । र, ई-सर्भिस पोर्टलकै यूजरनेम र पासर्वडले नयाँ मोबाईल एप लगइन गर्न सकिने छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यसअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो ।