एआईको डाटा चोरी गरेको आरोपमा गुगलका इन्जिनियर पक्राउ

काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्यरूपमा काम गरिरहेको आरोपमा गुगलका एक पूर्वसफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको छ । लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले ५ सयभन्दा बढी गोप्य फाइलहरू चोरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १० वर्ष कैद र प्रति कसुर २ लाख ५० हजार डलर जरिबानाको सजाय हुने बताइएको छ । डिङलाई गुगलले २०१९ मा एआईसम्बन्धी सफ्टवेयर विकास गर्ने जिम्मेवारी दिएर काममा लगाएको थियो । उनले गुगलको नेटवर्कमा भण्डारण गरिएको महत्वपूर्ण जानकारीहरु मे २०२२ देखि एक वर्ष लगाएर आफ्नो व्यक्तिगत गुगल खातामा अपलोड गर्न थालेको पाइएको बीबीसीले जनाएको छ । बीबीसी

नेपाल टेलिकमले ल्यायो सस्तो दरमा डाटा रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ । अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । टेलिकमका अनुसार डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ ।

खेलकुदको विकासमा एनसेलको साथ, ‘जिम्मेवार कर्पोरेट नागरिक’को रुपमा सहयोग

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ । मंगलबार सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो । ‘हाम्रो साथ नेपाली क्रिकेटलाई’ भन्ने थिमका साथ एनसेलले यी खेलहरूमा सहयोग पुर्याएको हो । यसैगरी ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायतका फुटबल खेलमा आबद्ध भएको थियो । विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको थियो । ‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ । चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गर्दै एनसेलले १ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो । एनसेलले गत भदौमा आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ । यसैगरी गल्फमा, गल्फ र पर्यटन प्रवर्द्धनसहित आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने उद्देश्यले यही चैत १ देखि ३ गतेसम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ हुँदै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका पनि यो कार्यक्रममा सहआयोजकका रूपमा आबद्ध भएका छन् । एनसेलले ‘बाह्रखरी’सँग सहकार्य गर्दै ५ वर्षदेखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । यसबाहेक गत मंसिरमा ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ पनि आयोजना गरिएको थियो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । खेलाडीहरू राष्ट्रिय गौरव हुन् र यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्छ ।