रिचार्ज कार्ड अभावको समस्या सुल्झिएको टेलिकमको दाबी

काठमाडौं । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा उक्त समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ । हाल पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भईसकेको उल्लेख गरेको  छ । कम्पनीले केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको भन्दै उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत जिकिर गरेको छ । रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकहरुले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल्स (एमपोस) र नमस्ते पे, ईसेवा, खल्ती र आइएमईपे लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको बताएको छ । रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीका प्रवक्ता हरि ढकालले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

जुम्लाको पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

काठमाडौं ।  नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी यही मङ्सिर १६ गते देखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो । जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं.१, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् । दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ । यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ, जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, डिजिटल साक्षरता प्रवर्द्धन, र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। क्यान नुवाकोटको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले नारायणकुमार घलेलाई एक गतिशील नेतृत्वकर्ता भन्दै, स्थानीय स्तरमा आईसीटी विकास, डिजिटल साक्षरता, र युवा केन्द्रित गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिए । पद हस्तान्तरण कार्यक्रमका क्रममा क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल र निवर्तमान अध्यक्ष पवन नेपालले नवनिर्वाचित पदाधिकारीहरूलाई टिका, खादा, र प्रमाणपत्र प्रदान गरे। नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्: अध्यक्ष: नारायणकुमार घले उपाध्यक्ष: तारा रिमाल नेपाल सचिव: सुनिल श्रेष्ठ कोषाध्यक्ष: अजय नगरकोटी सहसचिव: विशाल सापकोटा सदस्यहरू: रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो । आईसीटी क्षेत्रमा संलग्न विज्ञ, जनशक्ति, र व्यवसायीहरूको छाता संगठनको रूपमा क्यानले डिजिटल परिवर्तन र प्रविधि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नयाँ कार्यसमितिले नुवाकोट जिल्लामा डिजिटल परिवर्तनलाई तीव्रता दिनका लागि विभिन्न नवीन कार्यक्रम र परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ । क्यान महासङ्घले आफ्नो उद्देश्यअनुसार आईसीटी क्षेत्रमा नयाँ आयाम थप्दै राष्ट्रिय स्तरमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।