जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेट विस्तार, एक हजारले जडान गरे सेवा
काठमाडौं । जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । यहाँका ८ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए । चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । कार्यालय प्रमुख शाहले भने, ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन् ।’ इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालय प्रमुख शाहको भनाइ छ । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको टेलिकमले जनाएको छ । यहाँका आठवटै स्थानीय तहका २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवा सहितका टावरबाट सञ्चार सेवा प्रवाह भएको टेलिकमले जनाएको छ । टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।
नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने
काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो । उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ । एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न एनसीएचएलले नेपालपे क्युआर सञ्चालन गरी मर्चेन्टहरूलाई अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्युआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्ट आइपीएसबाट नेपालपे क्युआर स्क्यान गरी सहज भुक्तानीको सुविधा प्रयोग गर्न सकिन्छ ।
२.७२ करोडमा ‘चार्जिङ स्टेशन’ निर्माण, एकैपटक १५ वटा गाडी चार्ज गरिने
काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर-५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा २ करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे । स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।