एनसेल र ईएण्ड इन्टरनेसनलबीच नलेज सेयररिङका लागि रणनीतिक समझदारी
काठमाडौं । एनसेलले ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ । यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन् । ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एउटा अंग हो । समझदारी पत्रअनुसार, दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङ लगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरण लगायतका क्षेत्रमा सहकार्य गर्नेछन् । यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुनेछ । यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी कदम चालेको जनाएको छ । ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो । सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीमित अवसर प्रदान गर्नुका साथै सशक्त बनाउने मा विश्वस्त छौ ।’ ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणको लाभ दिलाउने नयाँ अध्याय भएको बताए । एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्य सम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवा लगायत अन्य क्षेत्रमा सहकार्य गर्नेछन् । एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्नेछ । यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्नेछन् । ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको ईएन्ड ग्रुपको एउटा अंग हो । जसले विश्वबजारका आधुनिक, विश्वस्तरीय डिजिटल टेलिकम कम्पनीहरूको सञ्जाल बृहत् बनाउन मद्दत गर्छ । विश्वका १६ वटा देशमा रहेर यसले कनेक्टिभिटी सोलुसन्स, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ । यसले अग्रणी डिजिटल क्षमता विकास तथा निर्माण गर्दै एक्विजिसन र रणनीतिक साझेदारी मार्फत मध्यपूर्व, अफ्रिका, एसिया र पूर्वी युरोपका विभिन्न मुलुकमा सेवाविस्तार गरेको छ ।
भायानेटले ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’ जित्यो
काठमाडौं । भायानेट कम्युनिकेसनले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको छ । एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको हो । अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो । उक्त अवार्डको लागी भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । विभिन्न निर्णायकहरूको प्रकृयगत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेट लाई विजेताको रूपमा चयन गरेको हो । कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो । एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सन्चालन हुँदै आएको छ । अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिदै आएको पाइन्छ । भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै भन्नुहुन्छ ‘भायानेट सधैं ग्राहकको आवश्यकता अनुरुप नविनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहदै आएको छ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गर्छ ।’ एक्स जि एस फाइबर टेक्नोलोजी, १० गीगाबिट्स प्रति सेकेन्ड (जिबिपिएस्) सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ, यसलाई बजारमा ल्याएसँगै स्थानीय व्यापार परिदृश्यमा यसको प्रभाव निकै राम्रो देखिएको छ । जसले उद्यमहरूलाई अतुलनीय दक्षता र विश्वसनीयताका साथ डिजिटल अर्थतन्त्रको आवश्यक मागहरू पूरा गर्न सक्षम बनाउँछ । भायानेटले भविष्यतर्फ हेर्दै गर्दा, एक्स जि एस प्रविधिको पहुँच विस्तार गर्न र नेपालमा इन्टरनेट गुणस्तर बनाउने कार्यको नेतृत्व गर्न प्रतिबद्ध छ । सधै ग्राहकलाई आवस्यक परेका र बिस्वबजारले बिस्वास गरेका नविनाताम टेक्नोलोजी ल्याउन कम्पनी प्रतिबद्ध छ ।
विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश
काठमाडौं । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका छन् । परिसंघसहित तीन संस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति भानुभक्त जोशीलाई छुट्टाछुट्टै भेट गरी प्रस्तावित विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी तीन महलेसहितको सुझाव पेश गरिएको हो । परिसंघको सूचना प्रविधि परिषद् सभापति अजित विक्रम शाहसहितको टोलीले मंगलबार मन्त्री शर्मासँग भेट गरी विद्युतीय व्यापारसम्बन्धी व्यवस्था ल्याइनु सकारात्मक भए पनि विधेयकको परिभाषा, विद्युतीय व्यापार सम्बद्द पक्षहरुको दायित्व, सजायको व्यवस्था, अन्तर्राष्ट्रिय बजारमा पहुँचजस्ता प्रमुख पक्षहरुमा स्पष्ट गर्न आग्रह गरेको छ । साविकमा भएको व्यवस्था, संशोधन गर्न प्रस्ताव गरिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारणसहित खुलाई तीन महले ढाँचामा सुधार गर्नुपर्ने सुझावहरु उपलब्ध गराइएको छ । सो अवसरमा नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन पनि आग्रह गरिएको छ । मन्त्री शर्माले सुझावका लागि धन्यवाद दिइन् । उनले सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताइन् । सरकारको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रका सम्बन्धमा सरकारलाई लिखित सुझाव दिन आग्रह गर्दै उनले आगामी लगानी सम्मेलनमा प्रस्तुत गर्न सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरिन् । यसैगरी बुधबार संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति जोशीलाई विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारका लागि सुझाव पेश गरिएको छ ।