३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ
धादिङ । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले सोही गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिएका छन् । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
भोलीदेखि किम्फ सुरु, नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र ‘द लास्ट हनी हन्टर’को प्रदर्शनी
काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र द लास्ट हनी हन्टर नेपालमा प्रदर्शनी हुनेभएको छ यो वृत्तचित्रलाई एशियामै पहिलोपटक विहीबारदेखि सुरु हुनगइरहेको पन्ध्रौं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रदर्शनी हुनेछ ।३५ मिनेट लामो द लास्ट हनी हन्टर वृतचित्रले सोलुखुम्बुको विकट गाउँ साद्दीका मह शिकारी मौलीधन कुलुङ राईको जिवनीलाई पर्दामा उतारेको छ । उक्त गाउँको कुलुङ जनविश्वास अनुसार जंगली भिरमौरीको महकाढ्नका लागि सपनामा जंगलको देउता राङ्केमीबाट दिक्षित हुनुपर्दछ र हाल साद्दीमा यसरी सपनामा दिक्षित एक मात्र व्यक्ति हुन् मौलीधन । यस सपनाका कारण उनी भिरमौरीको मह काढ्न जस्तोसुकै अप्ठ्यारो रअग्लो भिरमा चढे पनि सुरक्षित रहने विश्वास उनी र साद्दीको समुदायको छ । उनी पछि यस गाउँको नयाँ पुस्ताका कोही पनि व्यक्तिले उक्त सपना आजसम्म देखेका छैनन् र त्यसैकारण मौलीधन पछि मह काढ्ने प्रचलननै साद्दीमा बन्द हुने हो कि भन्ने आशंका छ । साद्दीको परम्परागत कुलुङ जनजिविका र संस्कृतिलाई नजिकबाट नियालेर प्रस्तुत गरिएको यस वृत्तचित्रमा साद्दी जस्ता नेपाली ग्रामिण समुदायहरु समय संगै कसरीबदलिंदैछ सो को पनि नाटकिय चित्रण छ । न्यासनल जोग्राफिकको सहयोगमा निर्मित यस चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा उपाधि प्राप्त गरीसकेको छ । बान्फ पर्वतिय चलचित्र महोत्सव क्यानडामा उत्कृष्ट हिमाली संस्कृति चलचित्र र केन्डलपर्वतिय चलचित्र महोत्सव संयुक्त अधिराज्यमा उत्कृष्ट छायांकनको पुरस्कार जितेको छ भने क्याम्डेन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट छोटो वृत्तचित्र विधामा विजेता भई ओस्कार चलचित्र महोत्सवकोछोटो वृत्तचित्र विधा अन्तर्गत प्रारम्भिक मनोनयनका लागि स्वतः योग्य भएको छ । यस वृत्तचित्रको नेपालमा पहिलो सार्वजनिक प्रदर्शनी यही पन्ध्रौं किम्फ मार्फत मङ्सिर २८ गते भइरहेको छ । यस महोत्सवमा चलचित्र प्रदर्शनीको दौरान नेपालमा विगत १७ वर्षदेखि बसोबास गर्दै आउनुभएका यसफिल्मका निर्माता बेन एयर्स, मुख्य पात्र मौलीधन लगायत साद्दीका अन्य मह शिकारी टोली उपस्थित हुनेछन् ।
अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकको साथ, प्रतियोगिता मंसिर २८ गतेदेखि शुरु
काठमाडौं । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ । मंसिर २८ गते संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेलक्षेत्रसग हाम्रो संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे । त्यस्तै, आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिस्ठा कमाएको एभरेष्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि २० टिमलाई ४ समूहमा बिभाजन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले ५५ हजार र उपबिजेता टिमले २५ हजार नगद प्राप्त गर्ने छन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौता अनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र ब्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ ।