चलचित्र जात्राले बुधबारसम्ममा एक करोड ५ लाख कमायो

काठमाडौं । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् ।  मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताएका छन् । समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म विहिबारदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।

मेरी स्टोप्स् नेपालद्वारा मेरी स्टोप्स् इन्टरनेशनलसंगको साझेदारीको ४०औं वार्षिकोत्सव मनाइँदै

काठमाण्डौ, २ मंसिर । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले मेरी स्टोप्स् इन्टरनेशनलसँगको साझेदारीको ४०औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । उक्त उत्सवहरु संस्थाको सबै सेवा प्रदायक च्यानलहरुमा हुनेछ र अन्तिम दिन मंसिर ३ गते काठमाडौं स्थित मुख्य कार्यालयमा गर्ने उक्त संस्थाले जनाएको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल, १९७६ मा स्थापित विश्वभरका यौन तथा प्रजनन स्वास्थ्य संस्थाहरुको ग्लोबल पार्टनरशिप मेरी स्टोप्स् इन्टरनेशनलसँग सम्बद्ध छ । उक्त संस्थाको अनुसार स्थापनाको ४० वर्षमा मेरी स्टोप्स् इन्टरनेशनल लण्डनको एउटा सानो एकल परिवार नियोजन क्लिनिकबाट बढेर एउटा ग्लोबल पार्टनरशिपमा परिणत भएको छ र ३७ वटा भन्दा बढी देशहरुमा करोडौं महिलाहरुलाई गर्भनिरोेधक तथा सुरक्षित गर्भपतनको सेवाहरु दिन सक्षम भएको छ । गत वर्ष, विश्वभर २ करोड १० लाख महिलाहरुले मेरी स्टोप्स् इन्टरनेशनलद्वारा उपलब्ध गर्भनिरोधक सेवाहरु प्रयोग गर्दै आएका छन् । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल १९९४ मा स्थापित भएको थियो । विगत ६ वर्षमा करिब ७७१,९७३ अनेच्क्षित गर्भहरु तथा करीब ५२६,४५९ असुरक्षित गर्भपतनहरु हुनबाट जोगाएको उक्त संस्थाको दावी छ । मेरी स्टोप्स् नेपालका कन्ट्री डाइरेक्टर शोफी होडरका भन्छन्–‘‘मेरी स्टोप्स् इन्टरनेशनलको “सन्तान करले होइन, रहरले” भन्ने लक्ष्य प्राप्तिमा काम गर्दै आएको छ र आफ्नो भूमिकाप्रति गर्व गर्दछौं । हाम्रो पार्टनरशिप विश्वभरीका महिला तथा परिवारहरुले सन्तान पाउने कि नपाउने छान्ने अधिकार पूरा गर्न स्थापित भएको हो र हामी यस अधिकारलाई नेपालीहरु माझ यथार्थ बनाउन प्रतिबद्ध छौं ।”

विजयी खेलाडीलाई प्रतिव्यक्ति ३ लाख नगद दिने खेलकुद मन्त्रीको घोषणा

काठमाडौं , १ मंसिर । एएफसि सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन् । ‘हाम्रो खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेको छ,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ । नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ ।’ नगद सहितको सम्मानको लागि मन्त्री श्रीपालीले तयारी गर्न सम्बन्धित निकायलार्इ निर्देशन दिएका छन् । मलेसियाको कुचिङमा सम्पन्न एएफसि सोलिडारिटी कपमा मकाउलाई १ शुन्यले हराउँदै नेपाली टोली विजेता बनेको थियो । यो विजयले नेपाली फूटबलमा ३७ वर्षदेखिको ईतिहास तोडेको बताइएको छ ।