शीतल निवासलाई विहेको चटारो, राष्ट्रपति र पूर्वराष्ट्रपति सोमबार नाता जोड्दै

काठमाडौं २, माघ । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलार्इ जुराइएको छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमा इन्गेजमेन्ट टिकाटालो भएको थियो । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ । ‘विवाहको तयारी लगभग सकिएको छ,’ राष्ट्रपतिका जनसम्पर्क सचिव जीवछ साहले शनिबार कान्तिपुरलाई भने । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा वैवाहिक कार्यक्रम राखिएको छ । कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । विवाह समारोह झकिझकाउ बनाउने काम भइसकेको छ । तर, स्रोतले दिएको जानकारीअनुसार वैवाहिक कार्यक्रमलाई भने संक्षिप्त र सामान्य नै बनाइएको छ । राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिएको स्रोतले जानकारी दिए । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख छ । राष्ट्रपतिका तर्फबाट पनि धेरै निम्तालु छैनन् । दुलाहा पक्षलाई पनि ५१ जनाभन्दा बढी जन्ती नल्याउन आग्रह गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई कार्यक्रममा बोलाइएको छ । निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको छ । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् । इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । विवाहकै पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारीले शनिबार बिहान नक्सालस्थित बालमन्दिरमा आश्रय लिएका बालबच्चालाई भोजन गराएकी थिइन् । उनीहरूलाई शीतल निवासमै बोलाइएको थियो । छोरी निशाकुसुम पनि साथै थिइन् । कान्तिपुर दैनिकबाट ।

माघे सक्रान्तिको अवसरमा चन्द्रागिरिमा कन्सर्ट, कन्सर्ट अपरान्ह १२ बजेदेखि शुरु

काठमाडौं, २९ पुस ।  नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा माघे सक्रान्तिको अवसरमा कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टुन क्रुज आदिको बेजोड प्रस्तुति रहने छ । माघ १ गते शनिबार अपरान्ह १२ बजे बाट शुरु हुने उक्त कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्ने आयोजकले जनाएका छन् । श्री स्वस्थानी ब्रतकथामा सतिदेवीको निधार पतन भएर उत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्सले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि विभिन्न निःशुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

भूमीविहिनसमेत भएका भूकम्पपीडितले गरे गुनासो, सरकार कहिले बन्छन् हाम्रो घर ?

सिन्धुपाल्चोक २७, पुस । कोक्रोमा दुई वर्षको छोरा बोकेर आएकी सेलाङ–६ की तेन्जीडोल्मा तामाङ सदरमुकाम चौतारामा भेटिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, कार्डमा लेखिएको थियो, ‘धेरै पर्यौ सरकारको भर, कहिले बन्छ हाम्रो घर ?’ गत वर्षको १२ र २९ वैशाखको भूकम्पले सिंगै बस्ती तहसनहस पारेपछि तामाङसहित सेलाङवासी छिमेकी गाविस बासखर्क–१ मा बस्दै आएका छन्। सरकारी जग्गामा बस्दै आएका उनीहरूको घर बनाउने ठाउँ नै छैन। ‘गाउँमा जानसक्ने अवस्था नै छैन, घर–जग्गा सबै पहिराले पु¥यो, जमिन सबै चिरा परेको छ, अब त्यहाँ घर निर्माण त के जानै सकिँदैन,’ डोल्माले राजधानीसँग भनिन्। घर निर्माणका लागि उनले पहिलो किस्ता अनुदान हाता पारिन्, त्यो पनि अरूकै जग्गाको मञ्जुरी लिएर। ‘सरकारले दिएको अनुदान पनि सकिन लाग्यो, घर बनाउने जमिन नै छैन, कहाँ बनाउनु घर रु’ उनले भनिन्। सेलाङ गाविस–८ कि लाकमाइ लोप्चन पनि तीन महिनाको दुधे छोरी पिठ्यूँमा बोकेर सदरमुकाम आएकी छन्। उनको पीडा पनि डोल्माको जस्तै छ। घर बनाउने जमिन नभएपछि उनी पनि सरकारले केही गरिदिन्छ कि भनेर सदरमुकाम आएकी हुन्। उनीहरूलाई भूमि अघिकार मञ्चले सदरमुकामसम्म आउन हौसला दिएको हो। जिल्ला भूमि अधिकार मञ्चले सदरमुकाम चौतारामा आयोजना गरेको जनमार्च कार्यक्रममा जिल्लाका सयांै पीडितहरू भेला भएर आफूहरूलाई पुनर्निर्माणमा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग माग गरे। कपाल सेतै फुलेका, एउटा झोला बोकेर खाली खुट्टा जनमार्च कार्यक्रममा सहभागी भएका सेलाङ खानीगाउँका आङदोर्जे दोङको समस्या पनि अरूको जस्तै छ। ‘गाउँमा भीरको छेउमै चार आना जग्गा थियो, भूकम्पपछि आएको पहिराले सबै जग्गा पु¥यो,’ दोङले राजधानीसँग भने, ‘लामो समयदेखि विस्थापित भएर वनको जमिनमा बस्दै आएका छौं।’ अरूको लालपुर्जामा मञ्जुरी नामा लिएर पहिलो किस्ताको अनुदान पाए पनि घर बनाउने जमिन नै नभएपछि समस्यामा परेको दोङले बताए। सिम्पलाकाभ्रे गाविस–२ ठाँडेका कलावती पुलामी मगर पनि उस्तै समस्यामा छिन। भूकम्प आएदेखि मन स्थिर छैन उनको। माथिबाट पहिरो, तलबाट खोलाले बगाउला भन्ने पीरले नै उनी निकै चिन्तित छिन्। गाउँनजिकै रहेको सामुदायिक वनको खाली जग्गामा अस्थायी रूपमा बसोबास गरिरहे पनि वनले त्यहाँ नबस्न भनेपछि उनलाई भविष्यको चिन्ताले सताउन थालेको छ। ‘आफू त अब बूढो भइसक्यो, आज हो कि भोलि थाहा छैन रु तर, सन्तानको बिच्चली हुने भयो,’ पीडा मिश्रित स्वरमा पुलामीले भने, ‘सरकारले जग्गा नहुनेहरूलाई घर निर्माणका लागि जग्गा दिन्छ रे भन्ने सुनेर यहाँ आएको हो, खै के हुन्छ थाहा छैन।’ हेलम्बु गाविस–१ बाट आएका ५४ वर्षीय सोमर तामाङका पाँचजनाको परिवारले लामो समयदेखि अरूकै जग्गा कमाएर जसोतसो गुजारा चलाउँदै आएका छन्। साहुकै जग्गाको लालपुर्जा राखेर अनुदान सम्झौता गरे पनि घर निर्माणका लागि जमिन नभएपछि ५० हजार बैंकमा राखेको उनले सुनाए। गुठी जग्गाबाट पीडित भएकाहरू, भूकम्प र बाढीले जग्गा जमिन सबै पुरेपछि सुकुम्बासी भएका, सडक मापदण्डका कारण विस्थापित भएका  भूमिपीडित सदरमुकाममा जम्मा भएर जनमार्चमार्फत आफूहरूलाई घर बनाउने जमिन उपलब्ध गराइदिन सरकारसँग माग गरेका हुन्। सदरमुकाम आएकाहरू फरकफरक प्रकृतिका पीडितहरू छन्। कोही गुठीपीडित, कोही सुकुम्बासी तर सबैको माग समान थियो– ‘सरकारले घर निर्माणका लागि जमिन दिनुपर्ने।’ राजधानी दै्रनिकबाट ।