टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्माण गरिएको विद्यालय हस्तान्तरण
काठमाडौँ । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लास्थित कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा विशेष समारोहका माझ पुनर्निर्माण गरिएको उक्त विद्यालयको उद्घाटन गरे । ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को एक हिस्सास्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको गरिएको छ । भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको सो विद्यालयको पुनर्निर्माण गरिएको छ । सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरूमध्ये श्री कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो । हस्तातन्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर. मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, अग्निप्रसाद सापकोटा तथा अरुण नेपालको उपस्थिति थियो । त्यसैगरी टाटा ट्रस्ट्सका प्रमुख वित्त अधिकारी आशिष देश पाण्डे, क्षेत्रीय प्रमुख अमृता पतवर्धनका साथै संघीय सांसद् र स्थानीय सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो ।
पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स एचडी च्यानलको सह-प्रायोजन
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह-प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताउनु भयो । सम्झौताअनुसार डिस मिडियाले अवार्डकालागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफबक्स र दुई बर्षसम्मनिशुल्क सुविधा उपलब्ध गराउने छ । ‘ डिस मिडियासँग सम्झौतामा यसपटक रकम गतवर्ष भन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यसपटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । एक्शन स्पोर्ट्स एचडी च्यानलमा यो कार्यक्रम प्रत्यक्ष देखाइने छ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।
‘सिलौटोमा लसुन’ लिएर आउँदैछन् गायक शिव हमाल
वि.स २०३९ सालमा स्याङ्जा जिल्ला मलाङकोटमा जन्मिएर शिव हमाल, सानै देखि गीत संगीतको माहोलमा हुर्किएका हुन् । पछिल्लो समय नेपाली लोकगीत संगीतको क्षेत्रमा चर्चित हमाल नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी गीत सिर्जना गर्न तल्लीन छन् । उनै गायक हमालसँग गीतसंगीतको बारेमा विकासन्युजका लागि सुनिता पुडासैनीले गरेको कुराकानी: तपाईँको बाल्यकाल कस्तो रह्यो र गीत संगीतको क्षेत्रमा कसरी लाग्नु भयो ? साधारण परिवारमा जन्मेको म । मेरो बुबाआमा खेतिकिसानी गर्नु हुन्थ्यो यसरी नै मध्य वर्गीय जीन्दगी वितिरहेको थियो । अनि मेरो गाउँबेशी, डाँडाकाडा, उकाली ओराली, चौतारी, घाँसदाउरा, मेलापात गर्दाको समयदेखि त्यो सांगीतिक माहोल जहाँ मेरा रहेका पाइला पाइलामा संगीत गुन्जियो । घर परिवारका सदस्यको हौसलाले यस क्षेत्रमा प्रवेश गरे । २०५७ सालमा एसएलसी सकेपछि मेरो मामा राजेन्द्र लम्साल रेडियो नेपालको बरिष्ठ गायक भएकै कारण पनि यस क्षेत्रमा प्रेरित भएँ । जब विस २०६० सालमा काठमाडौं आए, त्यसपछिको समय बिना संघर्ष केहि हुँदै भनि म यस क्षेत्रमा अनौपचारिक रुपमा लागे । विशेष गरी काठमाडौं बसाईको सुरुवातमा दोहोरी साँझमा प्रस्तुती दिएको थिएँ । तपाईँले हालसम्म कति वटा गीतसंगीत सिर्जना गर्नु भयो र कुन चाँही साच्चै राम्रो गर्नुभयो ? १२ सय भन्दा बढी गीत तथा संगीतको रचना गरेको छु । पछिल्लो समय ‘लालु मै’ ले नयाँ परिचय बनाएपनि मेरो पछाडी २०६४ सालमा ‘मन परेको फुल खसेको’, २०६५ सालमा ‘देउरालीको भट्टी पसल’, २०६६ सालमा ‘पछ्यौरी लेउ बईना’, २०६७ सालमा ‘रक्षा गर हरी’, २०६८ साल देखि ‘पारेऊ मलाई रुन मायालु’, ‘सानु कहाँ छौं’, ‘हाँस्न सिकायौं’, ‘कस्लाई सोध्ने होला’ आदि गीतहरुले मलाई चिनाएका हुन् । गीत संगीतको क्षेत्रमा आफूलाई कहाँ पाउनु हुन्छ ? विस २०६१ सालदेखि यस क्षेत्रमा निरन्तर रुपमा आफ्ना सिर्जना प्रस्तुत आएको छु, अहिले अलि गहिराईमा डुब्दैछु । त्यो समय जहाँ मेरा धेरै सिर्जनामा केहिले मात्र बजार जमाए भने हाल सबै सिर्जनाहरु जसले प्रफुल्लित बनाएपनि अझै यस क्षेत्रमा जति गर्नु पर्ने हो त्यति गर्न सकिन कि जस्तो आभाष हुने गर्छ । त्यसैले अझै म मेरो सन्तुष्टि हुन सकिरहेको छैन । पछिल्लो समय यूट्युब बजारलाई कसरी व्याख्या गर्नु हुन्छ, कस्तो छ आम्दानी ? सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यूट्युब च्यानलहरुको बिस्तारको क्रम बढ्दो छ । सर्जक कलाकारदेखि सर्वसाधारण मानिसहरुको यूट्युब प्रतिको झुकाव दिन प्रतिदिन बढ्दै गएको छ । राम्रो सिर्जना जसले समाजलाई पारदर्शी रुपमा प्रस्तुत गर्छ र हरेक शब्द शब्दमा समाज, संस्कृति, सभ्यता, प्रकृति, सौन्दर्यलाई प्रष्ट रुपमा समायोजन गरि प्रस्तुत गर्छ भने त्यो सिर्जनाले यूट्यूबमा मात्र नभई सबै माझ लोकप्रिय हुन्छ । त्यसकारण यो प्रष्ट हुनु पर्छ कि समाजको चरित्रलाई दुरुस्तै उतारेर निर्माण गरिएका गीत संगीतले उत्कृष्ट बन्न सफल हुन्छ । खास कस्तो यूट्यूब च्यानल हो, कस्ले कहिले खोल्यो भन्ने कुरामापनि निर्भर रहन्छ । त्यसैले राम्रो सिर्जना उत्पादनपछि सामान्य कलाकार गाडी चढेर हिड्न सक्ने अवस्थामा पुग्न सक्छ । कलाकार तथा सर्जकहरुलाई साधारण जिन्दगी बाच्नका लागि यूट्यूबबाट गाह्रो हुँदैन । तीज नजिक आउँदै गर्दा कतिको व्यस्त हुनु हुन्छ ? व्यस्त छु, हरेक दिन कुनै पर्व विशेष नभई जुनसुकै समयमा काममा तल्लिन रहने गर्छु । अब केहि दिनमा नै नयाँ गीत ‘सिलौटोमा लसुन’ आउँदै छ । त्यस पछिको समय भनेको तीजका रचना गर्न एवम् रेकर्डिङ्का लागि समय छुट्याएको छु । कामको भार बढ्दो छ, तर यो त्यो भन्ने नै छैन । कस्तो अवस्थामा गीत, संगीतको सिर्जना गर्न सहज हुन्छ ? गन्तव्यको हरेक मोडमा गीत तथा संगीत भित्र हराउँन सक्छु । कुनै यात्रा गर्दै गर्दा किन नहोस्, बिहानीको घामको किरणदेखि त्यो जुनेली एवम् अन्धकार रातमा जुनसुकै बेला समय र परिस्थिति अनुसार गीत तथा संगीतको रचना गर्न सकिन्छ । त्यस्तो कुनै समयावधि हुँदैन्, कुन बेलामा कस्तो सृर्जना गरिन्छ कहिले कँही आफुलाई थाहा हुँदैन । तपाई, प्रस्तोता समाजको अध्यक्ष भईरहँदा के छ यहाँ भित्रका गतिविधि, के उद्देश्यले स्थापना भयो ? अब कलाकारहरु स्टेजमा गीत गाएर मात्र बाँच्दैनन् । मेला महोत्सव लामो समयसम्म टिक्दैन, त्यसकारण कलाकार लामो समयसम्म बाँच्नका लागि उसको आयस्रोत भनेको रोयल टी हो । सर्जक, स्रष्टा भनेको एउटा उत्पादक हो जसले गीत उपभोग गरे वापत सरकारी निकायले प्रदान गर्ने रकम रोयल टी हो । हरेक स्थान जस्तै मेला महोत्सव, सार्वजनिक यातायात, विभिन्न संघसंस्थाले प्रयोग गरे वापत आय बुझाउनु पर्ने नीति रहेको छ । जसमा हालसम्म यातायातबाट ३ करोड उठेको छ । गायन, वाद्यवाधन, अभिनय, नृत्य आदिको प्रस्तुतिमा सक्रिय भई आफ्नो सिर्जना रोयल्टी प्राप्त गर्ने व्यक्ति तथा संस्थासँग प्रतिलिपि अधिकार सम्बद्ध अधिकार लिई त्यस्ता अधिकारहरु प्रयोग गर्न दिने र प्रस्तोताहरुको अधिकार संरक्षण र सम्वद्र्धन गर्न यसको उद्देश्य रहेको छ । यस क्षेत्रमा आउँदै गरेका व्यक्तिहरु लागि के भन्नु हुन्छ ? संघर्ष गरी संगीत क्षेत्रमा आफुलाई स्थापित गर्छु है भन्ने सोचका साथ आउने सबै व्यक्तिका लागि यस क्षेत्रमापनि केहि छ भन्छु , किन कि राम्रो सिर्जनाको कमी हुँदै जाँदाको यस समयमा धेरै यहाँ धेरै अवसर सिर्जना भएका छन् । जसको कारण क्षेत्रमा लाग्नु हुने सबैलाई सकारात्मक सोच र कर्मप्रति उत्तरदायी भई काम गर्दा नेपाली संगीतको बजार वृहत रहन्छ भन्ने कुरा स्पष्ट रहेको छ ।