सबैभन्दा बढी घुस्याहा कार्यालय मातपोत, सरकारी कार्यालयमा घुस बढ्नको कारण राजनीतिक
काठमाडौं १२, पुस । सरकारी कार्यालय मध्ये मालपोतमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको एक अध्ययनले देखाएको छ ।भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाइ गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको छ । ट्रान्परेन्सीले विभिन्न ९ जिल्लाका शिक्षा र स्थानीय विकास केन्द्रीत १२ वटा सरकारी कार्यालयको सर्वेक्षण गरेको थियो । मालपोत, यातायात व्यवस्था, नगरपालिका, जिल्ला विकास समिति, गाविस कार्यालयमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । सार्वजनिक कार्यालयमा हुने भ्रष्टाचारलाई बढावा दिने मुख्य तत्वको रुपमा राजनीतिक दल रहेको सर्वेक्षणले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण २०७३’को प्रतिवेदनमा यो अवस्था देखाइएको हो। सर्वसाधारण सेवाग्राहीमा देखिएका सचेतताका कारण भ्रष्टाचारमा कमी आएको बताइएको छ। अध्ययनले नेपाल सरकारबाट सञ्चालित सार्वजनिक सेवा प्रवाहबारे ट्रान्सपरेन्सी इन्टरनेसनलले विभिन्न नौ जिल्लास्थित १२ वटा सरकारी कार्यालयमा अध्ययन गरेको थियो। बागलुङ, बाँके, भक्तपुर, दाङ, दार्चुला, दोलखा, रौतहट, रूपन्देही र सिराहा जिल्लाका दुई हजार दुई सय स्थानीय बासिन्दासँग गरिएको अध्ययनबाट प्राप्त तथ्याङ्कलाई प्रतिवदेनमार्फत सार्वजनिक गरिएको हो। नागरिक दैनिकबाट ।
बिहे गर्छु भन्दा जिब्रो टोक्छ समाज, मुस्लिम समुदायमा पुरुषलाई चारवटीसम्म ल्याउन छुट, महिलालाई कडाई
काठमाडौं १०, पुस ।‘दोस्रो विवाहका बारे मैले नसोचेको, नचाहेको होइन। तर म मेरा आत्मियसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही कोही त जिब्रो नै टोक्छन्,’ चितवनकी जाहेदा खातुन (नाम परिवर्तन) ले पीडा पोखिन्। जाहेदा २८ कि भइन्। १८ वर्षमा विवाह गरेकी उनले २० कि नहुँदै सम्बन्धविच्छेद गरिन्। विवाह गरेको छोटो समयमै सासु र नन्दहरूको कुरा सुनेर ङीमान्ले दिनहुँ कुटपिट गर्न थालेपछि जाहेदाले सम्बन्धविच्छेद गरेकी हुन्। मुस्लिम समुदायकी उनी अहिले आठ वर्षकी छोरी लिएर माइतीको शरणमा छन्। सानै उमेरमा विहे भएकाले उनको शिक्षा विचमै रोकियो। शैक्षिक योग्यता र हातमा सिप नभएकै कारण उनलाई आर्थिक रूपमा आत्मनिर्भर हुन मुस्किल छ। ‘सम्बन्धविच्छेद भएपछि महिलालाई समाजले अबला र कमजोर सोच्दो रहेछ,’ उनी भन्छिन् । दोस्रो विवाहबारे पनि समाजले विभेद गरेको उनको अनुभव छ । भन्छिन्, ‘पुरुषको दोस्रो विवाहजस्तै महिलाको दोस्रो विवाहबारे हाम्रो समाज सहज छैन । अझ, मुस्लिम समुदायमा त पुरुषलाई चारवटीसम्म श्रीमती भित्र्याउने छुट छ । तर महिला भने श्रीमानसँग छुट्टिएर बस्दैमा उसको चरित्रमाथि प्रश्न उठाइन्छ ।’ अन्य विषयमा फराकिलो सोच राख्ने आफ्नै उमेरका साथीभाइको पनि दोस्रो विवाहबारे सकारात्मक धारणा नभएको उनको अनुभव छ । भन्छिन्, ‘महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्।’ इस्लामिक कानुनका विज्ञ डा.समिम अहमदले इस्लामिक कानुनमा महिलालाई दोस्रो विवाह गर्ने पूर्ण अधिकार रहेको बताए । ‘श्रीमान् गुमाएकी या सम्बन्धविच्छेद गरेकी महिलालाई पुनर्विवाह गर्न इस्लामले रोकेको छैन, बरु प्रेरित नै गरेको छ ।’ इस्लामिक चेतनाको कमीका कारण मुस्लिम समुदायमा यसलाई अस्वाभाविक मान्ने गरिएको उनको अनुभव छ । काठमाडौंकी समिदा थापा (नाम परिवर्तन) एकल महिला हुन् । १६ वर्षअघि उनी श्रीमान्सँग कानुनी रूपमै छुट्टिइन् । १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी समिदाको वैवाहिक जीवन दुई वर्षमै समाप्त भयो । विवाहपश्चात् घरै छोडेर श्रीमान् महिनौहराउने र घरमा सासूले नोकरको जस्तो व्यवहार गर्न थालेपछि समिदाले सम्बन्धविच्छेद गरेकी हुन् । त्यसपछि एकल जीवन बिताइरहेकी छन् । उनका १५ वर्षका छोरा पनि छन् । सम्बन्धविच्छेदपछि समिदाको वैवाहिक जीवन मात्रै सकिएन उनले पारिवारिक माया, सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत गुमाउनुपर्यो । पारिवारिक हेलाको पात्र बन्न पुगेकी समिदाले १६ वर्षको अन्तरालमा धेरै पटक सोचिन्– दोस्रो विवाह गर्नुपर्छ । भन्छिन्, ‘कलिलो उमेर, अशिक्षा र चेतनाको कमीले गर्दा मलाई महिला अधिकारबारे थाहा थिएन, मैले दोस्रो विवाहबारे कसैलाई भन्न सकिनँ, निर्णय गर्न सकिनँ । अहिले थाहा पाउँदै छु, पुनर्विवाह महिलाको न्यूनतम अधिकार हो,’ उनले सुनाइन् । एकातिर काखको छोरा हुर्काउने जिम्मेवारी, अर्कातिर एकल महिलाप्रति समाजको फरक दृष्टिकोण, जसले गर्दा समिदाले जीवनमा धेरै ठक्कर खाइन् । भन्छिन्, ‘सचेत भएको भए पहिले नै पुनर्विवाह गर्थेँ ।’ एक्लै बाँच्न नदिने र दोस्रो विवाहको विषयलाई पनि महिलाको चरित्रसँग जोड्ने समाजदेखि दिक्क भएको गुनासो उनले गरिन् ।
गायक प्रितम लामाको रोसी खोला भिडियो सार्वजनिक
काठमाडौं, ९ पुस । गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा संगीत बुद्ध स्याङ्बाले दिएका छन् । गीतको संगीत संयोजन समेत स्याङ्बाले नै गरेका छन् । सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने भिडियो एडिटिङ प्रदीप दाहाले गरेका छन् । भिडियोमा सुबासका अतिरिक्त रोहनीलाई देख्न सकिन्छ । रोशी खोला र वरपरका रमणीय दृश्यहरु माझ खिचिएको भिडियो र मौलिक प्रकृतिको संगीतले दर्शकहरुले नेपाली मौलिक स्वाद पाउने छन् । रोसी खोला लामो समय संगीत साधनामा बिताएका गायक लामाको पछिल्लो तामाङ सेलो गीत हामे ।