बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने

बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् । परम्परा रोक्न गाउँले नै पुगे प्रशासन अहिले आएर स्थानीयस्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द वा परिमार्जन गर्न माग गरेका छन् । स्थानीयले यो परम्परा बन्द गर्न माग गर्दै मंगलबार विभिन्न सरोकार भएकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई ज्ञापनपत्र बुझाइएको हो । यो परम्पराले समाजमा गरिब र दलित समुदायमाथि आर्थिक भार परेको, लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले यसलाई रोक्न माग गरेका हुन् । छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खसी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्टले बताए । “छोरी भए दुःख्मनाउ गर्ने तर छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जनभन्दा बढी खसी काटिन्छन्”– उनले भने, “यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।” अचम्मको कुरा के भने, दलित परिवारमा पनि पहिलो सन्तान भए हरेक वर्ष तिहारको औँसीमा खसी काट्नुपर्छ । तर, त्यो खसी दलित समुदायलाई होइन, गैरदलितले मात्रै बाँडेर खाने चलन छ । यसले जातीय विभेद पनि बढाएको ज्ञापनपत्रमा उल्लेख छ । “यो परम्पराले समाजमा द्वन्द्व हुने र जातीय विभेदलाई बढावा दिएको छ”– स्थानीय भीम भट्टले भने । प्रशासनलाई ज्ञापनपत्र मेलौली नगरपालिका वडा नं ९ असुर गाउँका ७१ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले यो रुढीवादी परम्परा रोक्न आवश्यक पहल गरिदिन प्रशासनलाई अनुरोध गरेका छन् । त्यहाँका युवाले प्रमुख जिल्ला अधिकारीलाई यस्तो प्रथाले समाजमा विकृति फैलाएको भन्दै बन्द गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । अहिलेको २१औँ शताब्दीमा पनि लैङ्गिक विभेद, छुवाछुतले सामाजिक द्वन्द्व बढ्दै जाने तथा नेपालको संविधानमा महिला तथा बालबालिका अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति तथा घोषणाकाविरुद्घ रहेकाले यसको अन्त्य गर्नुपर्ने स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय, बैतडीमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तै, छोरा र छोरीमा विभेद हुनेगरी पहिलो छोरा जन्मने घरले मात्र खसी काटी खुवाउने हुनाले यो परम्पराले लैङ्गिक विभेद बढेको कुरा बेलाबेलामा उठ्दै आएको र सो सार्वजनिकस्थलमा दलितलाई छुवाछुतको दृष्टिले हेरिने यस्ता कूरीतिले दलित र गैरदलितबीच द्वन्द्व सिर्जना हुनेसमेत ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस्ता प्रथाले समाजमा विकृति फैलाउने हुँदा यस्ता संस्कारलाई हटाउनुपर्ने बताए । “सामाजिक विभेदलाई बढावा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुसी लाग्यो”– प्रजिअ जोशीले भने, “यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ ।” समाजमा रहेका यस्ता कुसंस्कारले विकृति ल्याउने भन्दै सरोकार भएका सबैले चिन्तासमेत व्यक्त गरेका छन् । रासस

सात वटा स्थानीय तहमा बैंक नहुँदा समस्या, आर्थिक कारोबार गर्न कठिनाइ

इलाम । इलामका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका छैनन् । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ । “कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,” फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले भने । बैंककै काम लिएर स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उनले बताए । चालू आवको बजेट वक्तव्यमार्फत सरकारले बृद्धभत्ता, शिक्षक भत्तालगायत स्थानीय तहमा जाने सबै प्रकारका रकम पठाए पनि बैंक नहुँदा भुक्तानी पाउन सकेका छैनन् । सदरमुकाममा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराइज, एक्सल, माछापुच्छ्रे, एनआइसी एसिया बैंकलगायतका निजी तथा सरकारी बैंकले सेवा दिइरहेका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । रासस

मिर्गौला रोगीलाई १० लाख रुपैयाँ सहयोग

चितवन । दुवै मिर्गौला बिग्रिएर सहयोगको प्रतिक्षामा रहेका चितवनको खैरहनीका हरेराम महतोको उपचारका लागि देश विदेशबाट १० लाख रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त भएको छ । चितवनकोे सिर्जनशील थारु समाजले शुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब १० लाख रुपैयाँ सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए । वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका चितवनको खैरहनी नगरपालिका–१ बहेराका हरेराम महतोको दुवै मिर्गौला काम नलाग्ने भएपछि उनी घर फर्किएका थिए । ३५ वर्षीय हरेराम महतोको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि आएको सम्पूर्ण रकम १० लाख ४० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र अझै सहयोग आउने क्रम जारी रहेको अभियन्ता कारी महतोले बताए । उनको उपचारका लागि पोर्चुगलबाट दुई लाख रुपैयाँ, दक्षिण कोरियाबाट ८० हजार रुपैयाँ, अष्ट्रेलियाबाट दुई पटक गरी ७५ हजार रुपैयाँ, अमेरिकाबाट एक लाख ३५ हजार रुपैयाँ, क्यानडाबाट ४० हजार रुपैयाँतथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट उक्त रकम सहयोग भएको हो । पाँच महिना अघि बिरामी भएका उनलाई आफ्नै श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ । उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिए पनि हेमोग्लोविन कमी भएकाले हुन नसकेको चिकित्सकको भनाइ उद्धृत गर्दै हरेराम महतोले जानकारी दिए । उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिए । रासस