गायक भुवन प्यासीको ‘तिमी आऊ न बुद्ध’ गीत सार्वजनिक
चितवन । गायक भुवन प्यासीको स्वरमा ‘तिमी आऊ न बुद्ध’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । समय अनुकूलका गीत बजारमा ल्याउँदै दर्शक र श्रोता दुवैको मन जितेका उनले यो पटक देशभक्ति गीत लिएर आएका हुन् । आफ्नै अफिसियल युटुबमार्फत उनले सुशीलराज रेग्मीको शब्द तथा अर्जुन पोखरेलको एरेन्ज र राजेन्द्र बजगाईको संगीतमा गीत बजारमा ल्याएका हुन् । धुम्सीको गुम्बा परिसरमा जीवन शाहीको निर्देशन तथा आफ्नो अभियानसँग उनलाई अवि खनाल र समृद्धि पौडेलले साथ दिएका छन् । नवीन निरौलाले सम्पादन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतमा गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने सन्देश फैलाइएको छ। यसअघि फरक शैलीको गीत ‘हे बरै’ को भिडियो सार्वजनिक भएको थियो । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र याप मिसाउँदै ‘हे बरै’ को गीत बजारमा लिएर आएका थिए । केही समय अघि ‘माइली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का ट्राफिक जाम’ जस्ता सफल गीतहरू बजारमा लिएर आइसकेका छन्।
दाङबाट १ सय ७५ जनाले लिए अङ्गीकृत नागरिकता
तुलसीपुर । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङ जिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए । संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । रासस
कामना सेवा विकास बैंकले जित्याे कर्पोरेट सुपर सिजन-६
काठमाडौं । कामना सेवा विकास बैंकले कर्पोरेट सुपर सिजन–६ जितेको छ । क्रिकेट प्रतियोगिताको फाइनलमा बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो । एसएस इभेन्टसद्वारा टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेतले खेलाडीहरुलाई हौसला दिएका थिए ।