एलओडीद्वारा सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग

काठमाडौं । काठमाडौंको लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ । कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न एलओडीले उक्त सहयोग गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानीमन्त्री विणा मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो । त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा नं २६ का सफाई कर्मचारीका लागि एक सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । यी प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल समावेश छ । ‘कोरोनाविरुद्ध सरकारको लडाइँमा थोरै सहयोग गर्न पाउँदा हामी हर्षित छौं । हामीलाई आशा छ हाम्रो यो सहयोगले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुरक्षामा मद्दत गर्नेछ,’ क्बल एलओडीका सञ्चालकमध्येका रविन श्रेष्ठले भने ।

क्वारेन्टाइनमा बस्नेलाई वडाध्यक्षले नै धकेलेर खेदेपछि…

गोरखा । जिल्लाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई वडाध्यक्षले गाऊँपालिकाको समय नपुग्दै धकेलेर खेदिएको छ । स्थानीय एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाईले ७ जनालाई घर पठाइदिएका हुन् । आफूहरु घर जान्नौं यहिँ बस्छौं भन्दा भन्दै ठेलमठेल गरेर धकेलेर बाहिर निकाले, सुरक्षाको कारण पनि यहाँ बस्न हुँदैन भनेर हामी घर आएर यहाँ पनि अलग्गै बसेका छौं, खेदिएका एक सदस्यले भने । शहिद स्मृतिको क्वारेन्टाइनमा अध्यक्षका कारण सुरक्षा नहुने रहेछ, आज हामी चेकजाँचका लागि नामजुङ जान लागेको उनले थप जानकारी दिए । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन विश्वले लकडाउन, होम क्वारेन्टाइन, सामाजिक दुरी लगायतका विभिन्न उपायहरु अपनाईरहेको छ । विशेष गरेर विदेश तथा देश भित्रकै कुनै एक ठाउँबाट अर्को ठाउँमा आएका नागरिकहरुलाई कम्तिमा पनि १४ देखि २१ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ । यसलाई कोरोना रोग सर्नबाट जोगिन उत्तम उपायका रुपमा लिइन्छ । जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित बुंकोटमा रहेको शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा बसेका नागरिकलाई अवधि नपुग्दै तीन दिनको दिन क्वारेन्टाइनमा बस्नेहरुलाई कम्तिमा पनि १४ दिन राख्नुपर्नेमा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले ३ दिन नपुग्दै शनिबार क्वारेन्टाइनमा बस्ने ७ जनालाई जबरजस्ती धकेलेर घर पठाएका हुन । शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा ३ दिन अघि चितवन र काठमाडाैंबाट आएका १ बच्चा सहित ५ जना नागरिकहरुलाई राखिएको थियो । उनीहरु सबैलाई क्वारेन्टाइनमा बस्ने अवधि नपुग्दै आजै शहिद लखन गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शरण श्रेष्ठले घर पठाईदिएको उक्त क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य एवं शहिद स्मृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको भनाई छ । अध्यक्ष श्रेष्ठका भाइखलक उत्तरकुमार श्रेष्ठले आफू गाडीमा हिडेको बारेमा सामाजिक सञ्जालमा लेखेपछि त्यसको साटो फेर्न क्वारेन्टाइनका मानिसहरु छोडिदिएको उनले आफ्नो पार्टी नेपाली काँग्रेस निकटका व्यक्तिहरुसँग बताएका छन् । क्वारेन्टाइनमा राखेका नागरिकहरुलाई धपाउने कार्यक्रममा सोही गाउँपालिका वडा नं. ८ का अध्यक्ष काशीनाथ अंगाई समेत संलग्न छन् । आफूले क्वारेन्टाइनमा बसेकालाई लखेट्दा नजिकै रहेकी गाउँपालिका अध्यक्षले केही नभनेको भन्दै वडा अध्यक्ष श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गर्दै आएका छन् । वडा अध्यक्ष श्रेष्ठले धेरै ठाउँ हिँडिरहेकोले उनलाई समेत क्वारेन्टाइनमा राख्न स्थानीयहरुले माग गरेका छन् । पालिका बाहिरबाट आएका नागरिकहरुलाई १४ अनिवार्य क्वारेन्टाईनमा राखेर मात्र घरमा जान शहिद लखन गाउँपालिकाले निर्णय गरेको थियो र सोहि अनुरुप पछिल्लो समय गाउँ आएका जो कोहिलाई पनि गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनहरुमा राख्ने व्यवस्था थियो । यसबारेमा गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विदेशबाट आएकाहरुको हकमा आफूले निर्णय लिने र देश भित्रबाट पालिका प्रवेश गरेकाहरुकाको हकमा सम्पन्धि पालिकाको नियम अनुसार हुने बताए । रोग लाग्न नदिन गाउँपालिकाले बनाएको नियम सबैले पालना गर्नुपर्ने उनको भनाई छ ।

विवाहका लागि पास नपाएर तनावमा हुनुहुन्छ ? अब पास बिनै गर्न पाइन्छ

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधानका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ । जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुबै तर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार हालसम्म सवारी साधनको इ-पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ । अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थामा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ । रासस